Comments Add Comment

प्रचण्ड परिवारसँग सम्बन्ध सुधार्दै राष्ट्रपति भण्डारी

'शीतलनिवास डिनर' को राजनीतिक निहीतार्थ

२९ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड एमाले-माओवादी मिलेर बन्ने एकीकृत पार्टीको अध्यक्ष बन्ने चर्चा भइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्ड परिवारसँग अनौपचारिक सम्बन्ध बढाएकी छिन् । यसैक्रममा राष्ट्रपतिले शुक्रबार साँझ शीतलनिवासमा प्रचण्ड परिवारलाई डिनरका लागि निम्त्याइन् ।

राष्ट्रपति भण्डारीको निम्तो मान्न माओवादी अध्यक्ष प्रचण्ड, पत्नी सीता दाहाल र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका साथै कञ्चनपुरकी सांसद वीना मगरसमेत उपस्थित थिए । रेणु प्रचण्डकी छोरी हुन् भने वीना बुहारी हुन् ।

शीतलनिवासको डिनरमा प्रचण्डका नाति र नातिनाका साथै ज्वाइँहरु पनि सहभागी थिए । स्व. प्रकाश दाहालका छोराहरु प्रणव र प्रशिद्ध दाहालका साथै रेणु दाहालका पति अर्जुन पाठक पनि सपरिवार शीतलनिवास पुगे । कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि सपरिवार उपस्थित भए ।

शुक्रबार दिउँसो म्याग्दीको बेनी पुगेका प्रचण्ड त्यहाँबाट फर्केलगत्तै साँझमा शीतलनिवास पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रचण्ड परिवारले राति अबेरसम्म जमघट गरेको स्रोतले बतायो ।

‘यो एउटा विशुद्ध पारिवारिक भेटघाट हो,’ भरतपुरकी मेयर रेणु दाहालले अनलाइनखबरसँग भनिन्-‘उहाँले डिनरका लागि निम्तो दिनुभएको थियो, त्यसैले हामी सपरिवार गएका हौं ।’

सीता दाहाललाई राष्ट्रपतिको सहानुभूति

त्यसो त राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डको सिंगै परिवारलाई डिनरमा बोलाउनुको अर्को भावनात्मक कारण सीता दाहाल पनि हुन् ।
यसअघि पुत्रवियोग परेकी दाहाललाई राष्ट्रपतिले लाजिम्पाटमा पुगेर दुई सहानुभूति दिएकी थिएन् ।  पतिवियोग पर्दा पनि आफू सम्हालिएको प्रशंग सुनाउँदै त्यसबेला राष्ट्रपतिले सीता दाहाललाई सम्हालिन भनेकी थिइन् । त्यहीँदेखि राष्ट्रपति र प्रचण्ड परिवारवीच भावनात्मक सम्बन्ध बढेको स्रोत बताउँछ ।

यसैवीच प्रचण्डपत्नी सीता दाहाल आफ्नो नियमित स्वास्थ्य जाँचका लागि आइतबार दिल्ली जाँदैछिन् । विगत लामो समयदेखि नियमित चेकजाँच गर्ने गरिएको अस्पतालमा फलोअपका लागि उनी जान लागेको पारिवारिक स्रोतले जनायो ।

विद्या-प्रचण्ड राजनीतिक सहकार्य

त्यसो त पछिल्लो समयमा प्रचण्ड र राष्ट्रपतिवीच राजनीतिक क्षेत्रमा पनि ‘लाइन’ मिल्न थालेको चर्चा छ । राष्ट्रियसभा सम्बन्धी अध्यादेशको गाँठो फुकाउने सवालमा प्रचण्डले राष्ट्रपतिलाई सहयोग पुर्‍याएको चर्चा राजनीतिक बजारमा अझै सेलाएको छैन ।

यसका साथै माओवादी र एमालेलाई आफसमा मिलाउने र पार्टी एकता गराउने विषयमा पनि गत दशैंदेखि नै राष्ट्रपति भण्डारीले भित्रीरुपमा भूमिका निभाउँदै आएकी छिन् ।

 

एमाले र कांग्रेसको वीचमा दूरी बढेका बेला प्रचण्डले मध्यस्थ भूमिका खेल्ने गरेका कारण कतिपय संवैधानिक गाँठोहरु फुकाउन राष्ट्रपतिले प्रचण्डसँग छलफल गर्दै आएकी छिन् ।

राजनीतिक निहीतार्थ
प्रचण्ड परिवारसँग राष्ट्रपति विद्यादेवी भण्डारीको निकटता केवल भावनात्मक एवं संवैधानिक गाँठो फुकाउने विषयमा मात्रै सीमित छैन । र, यो सम्बन्ध वाम एकतालाई निश्कर्षमा पुर्‍याउने उद्देश्यसँग मात्रै पनि सीमित छैन ।

सूत्रहरुका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई भावी अर्को कार्यकालको राष्ट्रपतिका रुपमा पनि दोहोर्‍याउन चाहेकी छिन् । र, यसका लागि उनले प्रचण्डको विश्वास जित्न चाहेकी छिन् ।

एमालेबाट राष्ट्रपतिका रुपमा झलनाथ खनालको पनि नाम आउने गरेको छ । कतिपयले सुवास नेम्वाङको पनि नाम लिने गरेका छन् । तर, एमाले निकट सूत्रहरुको दाबीअनुसार राष्ट्रपति भण्डारी प्रचण्डलाई समेत कन्भिन्स गरेर आफ्नो निरन्तरता सुनिश्चित गर्न चाहन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment