Comments Add Comment

बदलिँदै बारपाकको गीतः मौलिकता गुमाउँदैछ इपिसेन्टरले

के मौलिकतालाई भूकम्प प्रतिरोधिस्वरुप दिन सकिँदैनथ्यो ?

उर्ली आयो दरौंदी खोला, बगाइ लग्यो बालुवा बजार

मान्द्रेमाथि बारपाकी माया, झझल्कोमा आइरहन्छ हजार

फुरुफुरु हिउँ पर्‍यो सेताम्मै धार्चेको लेकैमा

आऊ है माया घुमौंला सँगसँगै भेडीखर्क गुराँसे भेगैमा

बालुवा बजारबाट दरौंदी खोला तरेर उकालो लागेसँगै शुरु हुने बारपाक साँच्चै नै प्राकृतिक सौन्दर्यबाट अब्बल छ । माथिको गीतले त्यही सौन्दर्यको प्रतिनिधित्व गर्छ ।

ढुंगाले छाएका एकनासे घरहरु, ढुंगै तासेर मिलाइएका भुईं । त्यसमाथि बौद्ध हिमाल र बारपाकीको शिष्ट व्यवहार । आँखाबाट ओझेलमा परे पनि यी कुराले बारपाकको पुरानो झल्को कहिल्यै मेटिँदैन ।

घले र गुरुङको बाहुल्य रहेको बारपाकका हरेक घरसँग लाहुरेका कथा गाँसिएका छन् । भिक्टोरिया क्रस विजेता गजे घलेको इतिहास पनि बारपाकसँगै जोडिएको छ ।

रोधीघर, मारुनी र घाँटु नाच बारपाकी पहिचानका आयामहरु हुन् । कुनै एक ठाउँमा जम्मा भएर रातभर नाचगान र माया साटासाट गर्ने माध्यम मानिन्छ, रोधी । युवा-युवतीको जमघट र नाचगानले रोधीलाई विशेष बनाउँछ ।

‘रोधी बस्ने भनेर केटाहरु केटीको घरमा पुग्थे, नाचगान गर्थे अनि माया गाँस्थे,’ स्थानीय कान्छी गुरुङले विगत सम्भिmइन्, ‘साँझपख दाउराको सिठ्ठा बाल्दै सोल्टीहरु रोधी बस्न आएपछि उनीहरुलाई हेर्न उत्सुक हुँदै केटीहरु पनि रोधीमा सहभागी हुन्थे ।’

रोधीघरले स्थानीयवासीबीच सामिप्यता बढाउन पनि सहयोग पुर्‍याउँदै आएको थियो । सँगै होमस्टे र त्यसभित्र पाउने आतिथ्यले बारपाकमा एक पटक पाइला टेक्ने पाहुनालाई मन्त्रमुग्ध पाथ्र्यो ।

संस्कृति मात्र होइन, प्राकृतिक हिसाबबाट पनि धनी छ, बारपाक । जाडो यामलगत्तै गुराँसले ढकमक्क बनेको वन र त्यसअघि हिउँले ढाकिएर हिउँचुलीझैं बनेको बस्ती । हिउँका स-साना थुम्काजस्ता बनेका घर ।

यी दृष्यले कसको मन नलोभिएला र !

हिमपातको समयमा सेताम्य बन्ने बारपाकमा झुरुम-झुरुम हिउँ टेक्दै हिँड्नुको मजै बेग्लै ।

हिमालको फेदमा भेडीगोठ, खर्कमा चरिरहेका चौंरी, वरिपरि निगालो घारी । बारपाक र आसपासको क्षेत्रमा पुग्दा साँच्चै स्वर्गमा पुगेको अनुभूति हुन्छ । झाँक्री र लामाको छुट्टै महत्व छ, गाउँघरमा अझै ।

मनास्लु पदमार्ग पछ्याउने विदेशी पर्यटक यात्रा क्रममा यस ‘हिल स्टेसन’को सौन्दर्यमा लठ्ठन्िछन् ।

यहाँका सांस्कृतिक झाँकीजस्तै देश/विदेशमा समेत लोकपि्रय बनेका छन्, यहाँका मौलिक परिकार । हुन त, कोदोको ढिँडो, सिस्नुको तरकारी, गुन्द्रुकको अचार र साँधेको भटमास नेपालकै मौलिक परिकार हुन् ।

लोकल कुखुराको सितनसँग घाँटीदेखि पेटसम्म चिरेझैं स्वाद दिने लोकल रक्सीले पारखीमाझ ख्याती कमाएको छ । जिब्रोमै झुण्डिने लेकाली आलुको स्वाद वर्णन गर्नै पर्दैन । बारपाकीको मायालु आतिथ्यलाई पाहुनाले जीवनभर भुल्दैनन् ।

इपिसेन्टर बन्नुको पीडा

स्वर्गजस्तो यही गाउँ १२ वैशाख ०७२ मा गएको विनासकारी भूकम्पको केन्द्रविन्दु बन्यो । स्थानीय सिन्द्राको पहरो फुटाउँदै निस्किएको भूकम्पको तरंग देशभर फैलियो ।

ढुंगाले छाएका बारपाकका एकनासे घरहरु गल्र्यामगुर्लुम ढले । सौन्दर्यका पहाडहरु चिराचिरा भए । करिब १४ सय घरधुरीको बस्ती खण्डहरमा परिणत भयो ।

त्यस प्रलयमा परी बारपाकका मात्र ७२ जनाले अकालमै ज्यान गुमाएको पीडा भुल्न चाहेर पनि सक्दैनन्, स्थानीय बासिन्दा ।

कोही घरमै पुरिए, कोही पहिरोमा । एकसाथ बस्ती सखाप हुँदाको कोलाहलपूर्ण क्षण भुल्ने कोशिसमा छन्, बारपाकी ।

भूकम्पले बस्ती मात्र ढालेन, मौलिक संस्कृतिलाई पनि जोडदार धक्का दियो । देशभर प्रख्यात बन्दै गरेको होमस्टेले पनि निरन्तरता पाउन सकेन । पछिल्ला वर्षमा होमस्टेलाई स्थानीय बासिन्दाले आफ्नो मौलिक संस्कृति जगेर्ना गर्ने माध्यम बनाएका थिए ।

आधुनिकताको बाटोतर्फ

माथि वर्णन गरिएको परम्परागत हिल स्टेसन अब आधुनिकताको दौडमा छ । परम्परागत रीतिरिवाज र संस्कृति हराउने जोखिम बढेको छ । रोधीघर नै इतिहास बन्दैछ ।

त्यो रोधीघर, जहाँ युवा-युवती प्रेमको बीउ रोप्थे र आफूलाई सृष्टीको अनिवार्य शर्तमा ढाल्थे । त्यो रोधीघर, जसले नेपाली संस्कृतिको प्रतिनिधित्व गथ्र्यो ।

भूकम्पयता स्थानीय धर्म र संस्कृति थिचोमिचोमा परेको छ । राहत बाँड्ने नाममा भित्रिएका इसाई प्रचारकहरुले धर्मान्तरणको धन्दा चलाएका छन् । हिन्दू र बौद्ध धर्मको संगम बारपाक विस्तारै ‘गोस्पेल गड’को अनुयायी बन्दैछ ।

खानाका स्थानीय परिकारलाई शहरी शैलीका खानपानले विस्थापित गर्दैछन् । ढिँडो, गुन्द्रुक र सिस्नो स्वाद विराना बन्दैछन्, तिनीहरुको ठाउँ मःम र चाउमिनले लिँदैछन् ।

पिरो-पिरो कुखुराको मासुको झोलमा अब स्थानीय जातले नभई ब्रोइलरले कब्जा जमाउँदैछ ।

‘स्थानीय परिकार यति छिटै हराउलान् भन्ने लागेकै थिएन,’ स्थानीय जितबहादुर घले चिन्ता व्यक्त गर्छन् । घरेलु होटेलहरु आधुनिक रेस्टुराँमा परिणत हुन थालेका छन् ।

ढुंगाले छाएका घरहरु दुर्लभ बनेका छन् । पुनर्निर्माणका नाममा ‘आरसीसी संस्कृति’ मौलाएको छ । के बारपाकको मौलिकतालाई भूकम्प प्रतिरोधी स्वरुपमा ढाल्न सकिँदैनथ्यो ? जवाफ कोहीसँग छैन ।

‘पहिले ढुंगाको छानो र माटोले लिपेको घरमा पिँढी हुन्थ्यो । भान्सा कोठाको अँगेना अगाडि कुलपूजा गर्ने ठाउँ हुन्थ्यो,’ घले भन्छन्, ‘तर, अहिले धमाधम आरसीसी बिल्डिङ ठडिन थालेका छन्, पुराना शैलीका घर बनाउन कोही तयार देखिँदैन ।’

बारपाक गाउँ विस्तारै शहर बन्दैछ । आगो बालेर जाडो भगाउने परम्परालाई बिजुलीबाट बल्ने हिटरले विस्थापित गर्दैछ ।

‘भूकम्पले बस्ती मात्र तहसनहस बनाएन, हाम्रो संस्कृति र मौलिकतासमेत ढालेको अनुभूति भएको छ,’ घले भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment