Comments Add Comment

मनाङलाई हराउँदै आर्मी खप्तड गोल्डकपको फाइनलमा

२९ पुस, कैलाली । साविकको विजेता मनाङ् मस्र्याङ्दी क्लबलाई हराएर त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनल खेलमा आर्मीले मनाङलाई ३-१ गोल अन्तरले स्तब्ध पार्‍यो ।

क्षेत्रीय रङ्गशालामा भएको खेलमा अग्रता भने मनाङले नै लिएको थियो । नवौं मिनेटमा हेमन गुरुङले अग्रता दिलाए पनि मनाङ मस्र्याङ्दीले धेरै बेरसम्म जोगाउन सकेन ।

२३ औं मिनेटमा आर्मीका जितमा कप्तान भरत खवासले बराबरी गोल फर्काए भने ४५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

खेलको ८८ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । नवयुग श्रेष्ठ म्यान अफ द म्याच बने ।

मनाङले सुरुवाती अग्रता लिए पनि खेलाडीहरुको परिश्रमका कारण उपाधि होडमा पुग्न सफल भएको आर्मीका प्रशिक्षक नविन न्यौपानेले बताए ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले आयोजकको कमी कमजोरीका कारण आर्मीसँग पराजित हुनु परेको बताए । मनाङले २४ घन्टाभित्र दुई खेल खेल्नु परेको थियो ।

आर्मीले उपाधिका लागि आइतवार हुने सेमिफाइनल खेलको विजेताको सामना गर्नु पर्नेछ । फाइनल प्रवेशका लागि आइतबार एपीएफ र आयोजक सुदूरपश्चिम-११ बीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment