+
+

नेपालको हिरासतमा पाकिस्तानका ‘हाइप्रोफाइल’ चिम्पान्जी तस्कर

विश्वव्यापी चिम्पान्जी तस्करीको नेपाल कनेक्सन

डेलिमेलबाट अनुवादित डेलिमेलबाट अनुवादित
२०७४ पुष ३० गते १७:२०

३० पुस, काठमाडौं । इस्तानाबुलबाट आएको कन्टेनर अफ्रिकी बाँदरहरु, सुनौलो रंगका र पातलो घाँटी भएका तित्रा, सयौं सुँगाहरु र केही दर्जन परेवा लगातयतका विशेष’ प्राणीहरुले भरिएको थियो ।

अनुसन्धानकर्ताका अनुसार ६ लाख १० हजार रुपैयाँ जति घुस खुवाएपछि कार्गोले चाँडै भन्सार र क्वारेन्टाइन परीक्षण पार गर्‍यो र काठमाडौंमा रहेका एक जोडी स्थानीय डिलरहरुले संकलन गरे ।

तर, उनीहरुले थाहा पाएनन् कि वन्यजन्तु तस्करी गर्ने एउटा ठूलो अन्तर्राष्ट्रिय गिरोहको अनुसन्धान गरिरहेका नेपाली प्रहरीको विशेष टोलीको निरगानीमा परिसकेका थिए ।

कन्टेनरभित्र दुई नवजात चिम्पान्जीहरु लुकाएर राखिएको थियो, जो एउटा अफ्रिकन जंगलमा हत्या गरिएका उनीहरुका परिवारबाट खोसेर ल्याइएका थिए । आतंकित अवस्थामा रहेका जनावरलाई उनीहरुको भूमिबाट हजारौं माइल यात्रा गराइएको थियो र भित्रै उकुसमुकुस भएर मर्न सक्ने खतरामा थिए । अन्य चरा र बाँदरहरुको बीचमा लुकाइएका उनीहरुलाई झट्टै देख्न गाह्रो थियो ।

अन्धकार कन्टेनरभित्र भोक र प्यासबाट व्याकुल मुस्किलले एक वर्षका चिम्पाजीहरु एशिया र मध्यपूर्वमा करिब ७० लाखमा विक्री हुन्छन् । तर, जंगलबाट सोझै जफत गरिएकाहरु अझै मूल्यवान हुन्छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली, जो गोप्य सूचनाका आधारमा कार्यरत थियो, ले विशेष प्राणीहरु राखिएको त्यो कन्टेनरलाई नजिकै रहेको डिलरहरुको अड्डासम्म पुर्‍याइयो । त्यहाँ डिलरहरुको साथमा थिए एक भारतीय व्यापारी र उसको सहयोगी ।

त्यसपछि प्रहरी अघि बढ्यो र चार व्यक्तिहरुलाई जंगली जनावर भारत तस्करी गर्न लागेको आरोपमा पक्राउ गर्‍यो । दुर्लभ प्रजातिहरुको तस्करीमा मुछिएका एक भन्सार अधिकृत पनि पक्राउ परे । तर, अपराधिक गिरोहसँग मुछिएका ११ अधिकारीहरुलाई भने छोइएन ।

‘अपरेसन वाइल्ड इगल’को एउटा प्रमुख निशानामा रहेका व्यक्ति होटलतर्फ जाने क्रममा पक्राउ परे । उनी हुन् पाकिस्तानको कराँचीका ५५ वर्षीय जावेद अस्लाम खान ।

उनी एक अन्तर्राष्ट्रिय व्यापारीका रुपमा चिनिन्छन् । साामाजिक सञ्जालमा उनले आफूलाई जनावरप्रेमी भनेर चिनाएका छन् र आफ्नो घरमै सिंह र बाँदरजस्ता जनावर पालेर राखेको उल्लेख गरेका छन् ।

अनुसन्धानकर्ताहरुले आशंका गरेका छन् कि उनी जनावर तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका एक प्रमुख पात्र हुन् ।

साथै गुप्त फोरमहरुमा ‘जावेद चिम्पान्जी’ को नामले चिनिने व्यक्ति पनि कतै यिनै त होइनन् भन्ने पनि आशंका छ । सामाजिक सञ्जालमा बच्चा चिम्पान्जी र अन्य दुर्लभ जनावरहरुसँग खेलिरहेको फोटो राखिरहने खान यो तस्करी धन्दाका प्रमुख खेलाडी हुन सक्ने आशंका छ ।

‘यो मान्छेको नाम बारम्बार आइरहन्छ,’ चिडियाघर र एक्वारियमहरुको विश्वसंस्थाका प्रमुख कार्यकारी तथा चिम्पान्जी संरक्षणको लागि संयुक्त राष्ट्रसंघीय कार्यक्रमका पूर्वप्रमुख डोग क्रेसले भने ।

चिम्पान्जीहरु संसारका चतुर र संरक्षित जनावरभित्र पर्छन् । तिनीहरुको विक्री प्रमाणित ‘ब्रिडिङ सेन्टर’मा बाहेक अन्यत्र प्रतिवन्धित छ । अवैध जंगली जनावरको कारोवारमा तिनीहरु निकै फाइदाजनक हुन्छन् । बच्चा गुरिल्लाहरु २ लाख पाउन्डसम्ममा विक्री हुने गरेको पाइन्छ ।

यिनीहरुको ओसारपसार केही कठिन हुन्छ । सामान्यतया कन्टेनर वा सुटकेशमा राखेर ओसारपसार गरिन्छ । कायरो एयरपोर्टमा हालै एक जनाले ह्याण्डब्यागमै चिम्पान्जीको बच्चा बोकेको फेला परेको थियो ।

यसका खरिदकर्ताहरु अरबियन गल्फ र एसियाका सम्भ्रान्त परिवारहरु हुन्, जसले यी मानिससँग मिल्दाजुल्दा प्राणीहरुलाई बच्चाको लुगा लगाइदिएर पिँजडामा राख्ने र ठूला भएपछि मार्ने वा बेच्ने गर्छन् । केहीलाई धुम्रपान गर्न सिकाइन्छ भने जबरजस्ती मेकअप पनि गरिन्छ । उनीहरुले भनेअनुसार गरेनन् भने पिट्ने गरिन्छ । एनिमल शोहरुमा यिनीहरुलाई बक्सिङ जस्ता स्टन्टहरु गर्न लगाइन्छ वा चिडियाखानमा दयनीय हालतमा राखिन्छ । केही यातनाका कारण बहुलाउँछन्, जसको उद्दारपछि उपचार गर्न समेत सकिँदैन ।

क्वारेन्टाइन परीक्षण छलेर ल्याइने जनावरहरुबाट रोग र परजिवी किटाणु फैलिने ठूलो जोखिम हुन्छ ।

हरेक महिना सयौंको संख्यामा बाँदरहरु तस्करी हुने र पारवहनकै क्रममा केहीको मृत्यु हुने विज्ञहरु बताउँछन् । ‘हामीले भर्खर भर्खरै यसको भयावह अवस्थाको विषयमा बुझ्न थालेका छौं,’ क्रेस भन्छन् ।

यही भएर हालै नेपालमा भएको यो कारवाहीलाई महत्वपूर्ण ‘ब्रेक थ्रु’का रुपमा लिइएको छ किनकि अफ्रिकामा पक्राउ पर्नेहरु प्राय सानातिना शिकारी र व्यापारीहरु मात्रै हुन्छन् । विश्वव्यापी तस्करी सञ्जाल चलाइरहेका हाइ-प्रोफाइल तस्करहरु अहिलेसम्म पक्राउ परेका थिएनन् ।

नेपालका अनुसन्धानकर्ताहरुले तस्करी गरिएका चिम्पान्जीहरुलाई जावेद अस्लाम खानले बंगलादेश, थाइल्यान्ड र थुप्रै अन्य मुलुकहरुमा पुर्‍याउने गरेको लख काटेका छन् । हाल नेपालको हिरासतमा रहेका खान लामो समयदेखि विश्वभरका संरक्षणविदहरुका लागि टाउको दुखाई बन्दै आएका थिए ।

खानले बच्चा चिम्पान्जीहरुलाई बोकेको तस्वीर नियमितरुपमा फेसबुकमा राख्छन्, जब उनी संसारको भ्रमणमा हुन्छन् । सन् २०१६ को मेमा राखेको एउटा पोष्टमा एउटा बच्चालाई पाकिस्तानमा ल्याउन मिल्छ भनेर कसैले सोधेको प्रश्नमा उनले जवाफ लेखेका थिए, किन नमिल्नु ?’

तर, अन्तर्राष्ट्रिय कानूनले चिम्पान्जीलाई उच्चस्तरमा संरक्षण गरेको छ । तिनीहरुको निर्यात कडारुपमा नियन्त्रित छ । वासिङटनमा रहेको ग्लोबल फाइनान्सियल इन्टिग्रीटी नामक थिंक ट्यांकले बनाएको प्रतिवेदनअनुसार वार्षिक करोडौं डलर बराबर चिम्पान्जीको व्यापार हुने गरे तापनि यसलाई समात्ने शिकारीहरुले भने एउटाको करिब ५ हजार मात्रै पाउँछन् ।

‘यो व्यवसाय निकै व्यवस्थित रुपमा भइरहेको छ,’ एक नीति विश्लेषक चानिङ मेले भने, ‘यी जनावरहरुको ढुवानी गर्न संगठन र खुबी चाहिन्छ । धेरै व्यापारीहरुले वैधानिक कम्पनीहरु चलाउँछन्, जसले नक्कली डकुमेन्टहरु बनाएर वैध देखिने गरी ओसारपसार गर्छन् ।’

यो निर्दयी व्यापारको प्रभाव भयंकर छ । संसारभरका जंगलमा ३ लाख चिम्पान्जी रहेको विश्वास गरिन्छ, जहाँ तिनीहरुलाई जनसंख्या वृद्धि, बासस्थान अभाव, द्वन्द्व र शिकारले गर्दा संकटमा पारेको छ ।

चार वटा देशमा तिनीहरु पहिल्यै सखाप भइसकेका छन् । शिकारीहरुले सामान्यतया एउटा सुन्दर बच्चा खोस्नका लागि चिम्पान्जीको सिंगो परिवारलाई मार्छन् र मासुका लागि वधशालामा विक्री गर्छन् ।

वयस्क चिम्पान्जीहरु मानिसभन्दा कैयन गुणा बलिया हुन्छन् र निर्दयी तरिकाले टोक्न सक्छन् । तर, पिँजडामा राखिएका चिम्पान्जीहरुको दाँत निकालिएको हुन्छ र नंग्रा काटिएको हुन्छ ।

उनीहरुलाई धातुको रडले निर्मम तरिकाले पिट्ने गरिन्छ ।

काठमाडौंमा पक्राउ गरिएका दुई चिम्पान्जी साथी बनेका छन् र उनीहरु बिस्तारै ट्रमाबाट बाहिर आउँदै छन् । उनीहरुलाई नेपालको सदर चिडियाघरमा राखिएको छ ।

तिनीहरु नाइजेरियाका हुन् कि अर्को अफ्रिकन मुलुकका भनेर गरिएको डिएनए परिक्षणको रिपोर्टको प्रतीक्षामा विज्ञहरु छन् ताकि उनीहरुलाई सुरक्षितरुपमा सम्वन्धित मुलुकमा फर्काउन सकियोस् ।

‘यिनीहरुको ह्याप्पी इन्डिङ भएको छ र आशा गर्न सकिन्छ कि उनीहरु अर्को ६० वर्ष बाँच्नेछन्,’ क्रेस भन्छन् ।

यो पनि पढ्नुस् 

चिम्पाञ्जीसहितका दुर्लभ पशुपंक्षी तस्करीका लागि नेपाली मार्गको प्रयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?