+
+
Shares

चिम्पाञ्जीसहितका दुर्लभ पशुपंक्षी तस्करीका लागि नेपाली मार्गको प्रयोग

नेपाल हुँदै भारत, चीन र बंगलादेश पुर्‍याइन्छन् पशुपंक्षी

गौरव पोखरेल गौरव पोखरेल
२०७४ मंसिर ७ गते २०:१७
नाइजेरियन चिम्पाञ्जी ।

७ मंसिर, काठमाडौं । वन्यजन्तुको चोरी तथा तस्करीमा संलग्न गिरोहले चिम्पाञ्जीलगायत दुर्लभ पशुपंक्षीको ओसारपसारका लागि नेपाललाई ‘ट्रान्जिट पोइन्ट’ बनाइने गरेको खुलेको छ ।

भन्सार एजेन्ट र क्वारेन्टाइनका कर्मचारीसँगको सेटिङमा नेपाली मार्गको प्रयोग गरी दुर्लभ पशुपंक्षी तथा वन्यजन्तु भारत, चीन, बंगलादेशलगायत मुलुक पुर्‍याइने गरेको खुलेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तस्करीमा संलग्न गिरोहलाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान थालेसँगै यो विषय सार्वजनिक भएको हो ।

तस्करहरुले नाइजेरियाबाट हवाई मार्गमार्फत् टर्कीको इस्तानबुल हुँदै नेपालसम्म ल्याउने गर्छन् । यहाँबाट सडक मार्गमार्फत् भारत, चीन, बंगलादेश पुर्‍याउने गरेको अनुसन्धानले देखाएको छ ।

पाकिस्तानीदेखि नेपालीसम्म संलग्न

नेपाली मार्गबाट दुर्लभ वन्यजन्तुको अवैध खरिद बिक्री र ओसारपसारमा संलग्न भएको आरोपमा एक पाकिस्तानी नागरिकसहित आठ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाकिस्तानको कराँचीका ५५ वर्षीय जावेद अस्लाम खान, भारत बिहारका ५४ वर्षीय मोहम्मद फइम, उत्तरप्रदेशका ३५ वर्षीय चाँदबाबु मोहम्मद शरिफ शहीद, बिहारको पटना घर भई काठमाडौं स्वयम्भु बस्दै आएका ३४ वर्षीय मोहम्मद उस्मान, भक्तपुर सल्लाघारी बस्ने ४० वर्षीय सञ्जीव भारी र बारा घर भई बुढानीलकण्ठ बस्दै आएका भन्सार एजेन्ट ४२ वर्षीय राजकुमार तिवारी छन् ।

वन्यजन्तु र पशुपंक्षीको ओसारपसारमा सहयोग गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीसमेत अनुसन्धानमा तानिएका छन् ।

झापाको भद्रपुर–८ घर भई विमानस्थल भन्सारमा कार्यरत नायब सुब्बा ३१ वर्षीय चुडामणि दाहालमाथि अनुसन्धान भइरहेको छ ।

हालसम्मको अनुसन्धानमा उनले चिम्पाञ्जी आएका बाकसको सतही जाँच गरी भन्सार एजेन्ट राजकुमारसँगको मिलेमतोमा सामान पास गर्ने गरेका थिए ।

गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पशु क्वारेन्टाइन कार्यालयका एक कर्मचारीसमेत अनुसन्धानका क्रममा पक्राउ परेका छन् ।

अछाम घर भई कालिमाटी बस्दै आएका पशु स्वास्थ्य प्राविधिक ४२ वर्षीय धिरेन्द्रबहादुर शाह पक्राउ परेका हुन् ।

उनले पशुपंक्षीको क्वारेन्टाइन जाँच नगरी जाँच गरेको पत्र भन्सार एजेन्टलाई उपलब्ध गराउने गरेको खुलेको सीआईबीले जनाएको छ ।

दुई चिम्पाञ्जीसहित १२२ पशुपंक्षीको उद्धार

विभिन्न देशमा बिक्रीका लागि नेपाल ल्याइएका एक सय २२ पशुपंक्षीको सीआईबीले उद्धार गरेको छ ।

त्यसमा दुई चिम्पाञ्जी, दुर्लभ प्रजातिको बाँदर आठ, गोल्डेन फेजन चरा सात, रिङ्नेट फेजन चरा दुई, दुर्लभ प्रजातिको परेवा ३८ र दुर्लभ प्रजातिको सुगा ६५ छन् ।

सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीका अनुसार नाइजेरियाबाट ल्याइएको चिपाञ्जी कम्तिमा १२ देखि १३ हजार डलरमा बिक्री हुँदै आएको खुलेको छ ।

यसरी हुन्छ ओसारपसार

अन्तर्राष्ट्रिय रुपमा पशुंपक्षीको ओसारपसार र बिक्रीमा संलग्न संगठित गिरोह पक्राउ गरेको यो पहिलो घटना भएको डीआईजी कार्कीले बताए ।

उनले भने, ‘यसमा अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।’

भन्सार र क्वारेन्टाइन कर्मचारीको सहयोगमा हालसम्म अवैध व्यापार चलिरहेको खुलेको छ ।

‘निजी सवारी साधन प्रयोग गरी विभिन्न नाका हुँदै अन्य मुलुक पुर्‍याइने गरेको खुलेको छ,’ डीआईजी कार्कीले भने, ‘धेरैलाई लोपोन्मुख पशुपंक्षीबारे जानकारी नहुने भएकाले गिरोहले सडक मार्गबाट ओसारपसार गरिरहेका थिए ।’

नाइजेरियाबाट ल्याइने पशुपंक्षी सबैभन्दा बढी भारतमा बिक्री गर्ने गरिएको छ ।

नेपाल सहज रुट !

नेपाली अधिकारीहरुलाई सजिलै प्रलोभनमा पारी गिरोहले दुर्लभ पशुपंक्षीको तस्करीका लागि नेपाललाई सहज रुट बनाएको छ ।

नेपाल बाघ, रेड पान्डाजस्ता दुर्लभ वन्यजन्तुको स्रोत भएकाले पनि उनीहरुले नेपाललाई रुट बनाएको हुनसक्ने प्रहरीको शंका छ ।

केही वर्षदेखि यस्तो अवैध धन्दाबारे चर्चा हुँदै आएको थियो । कहिलेदेखि तस्करी शुरु भएको थियो भन्ने यकिन छैन ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?