News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली यू-२० महिला फुटबल टोलीले बंगलादेशको साफ यू-२० महिला च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको छ।
- प्रतियोगिता जुलाई ११ देखि २१ सम्म बंगलादेशमा हुनेछ र चार टोली सहभागी छन्।
- नेपाली टोलीले लामो तयारी गरेको र टिम राम्रो बनाएको प्रशिक्षक गुरुङले बताए।
१६ असार, काठमाडौं । बंगलादेशमा जुलाई दोस्रो सातादेखि सुरु हुने साफ यू-२० महिला च्याम्पियनसिपको लागि नेपाली यू-२० राष्ट्रिय महिला टोली अहिले अन्तिम तयारीमा छ ।
जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र मात्र सहभागी छन् । त्यसमा साविक विजेता बंगलादेशसहित नेपाल, भुटान र श्रीलंका छन् ।
नेपाली टोलीले यस पटक उमेर समूहमा देखिएको उपाधि खडेरी तोड्दै च्याम्पियन बन्ने लक्ष्य राखेको छ । याम प्रसाद गुरुङको प्रशिक्षकमा हाल नेपाली यू-२० महिला खेलाडीहरू त्यसैका लागि तयारी गरिरहेका छन् ।
यस पटक चार टोली मात्र सहभागी भएकोले डबल राउण्ड रोविनका आधारमा च्याम्पियनसिपका खेलहरू खेलाइनेछ । डबल राउण्ड रोविनमा हुने च्याम्पियनसिपमा हरेक टोलीले अर्को टोलीसँग दुई-दुई खेल खेल्नेछन् र अन्तिममा धेरै अंक जोड्ने टिम नै च्याम्पियन हुनेछ ।
यस प्रतियोगितालाई अगष्ट २ देखि १० सम्म भुटानमा हुने एएफसी यू-२० महिला एसियन कप छनोटको तयारीको रुपमा समेत हेरिएको छ । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल बलियो टोली उत्तर कोरियासहित समूह एमा छ । यस समूहमा आयोजक भुटान, मंगोलिया र साउदी अरेबिया पनि छन् ।
नेपाली महिला फुटबल उमेर समूहको साफको प्रतियोगितामा अहिलेसम्म यू-१५ मा एक पटक उपाधि जितेपनि यू-१९/२० समूहमा उपाधि जित्न सकेको छैन ।
यस पटक भने टिम र तयारी दुवै राम्रो भएकोले नेपालको लक्ष्य उपाधि नै रहेको मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले बताएका छन् । ‘यस पटक च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरिरहेका छौ । भारत सहभागी छैन । बंगलादेश नै मुख्य प्रतिद्वन्दी हो’ प्रशिक्षक गुरुङले भने ।
लामो समयको तयारी
यस पटक नेपालले लामो समयको तयारी गरेकोले पनि टिम राम्रो बनेको प्रशिक्षक गुरुङको भनाई छ । यू-२० महिला राष्ट्रिय टिमका लागि सुर्खेत, झापा र काठमाडौंमा गरेर तीन स्थानमा प्रारम्भिक खेलाडी छनोट गरिएको थियो ।
त्यसबाट ६० जना खेलाडी छनोट गर्दै २३ सदस्यीय अन्तिम टोली घोषणा भइसकेको छ । ‘हामीले प्रदेश स्तर देखि खेलाडी छनोट गर्दै अहिले अन्तिम टोली घोषणा गरिसकेका छौँ । यस पटक ३ जनाँ यसअघि कुनै उमेर समूहमा नखेलेका खेलाडीहरू समावेश गरेर टिम बनाएका छौं’ प्रशिक्षक गुरुङले भने ।
यसअघि छोटो समयको तयारी हुने गरेपनि यस पटक लामो समय पाएको गुरुङले बताए । ‘यस पटक हामीले ४५ दिन तयारी गर्ने समय पायौं । त्यही अनुसार टिम बनाएका छौं, उनले भने, ‘कुन टिमसँग कसरी खेल्ने भनेर योजना बनाएका छौं । बंगलादेश च्याम्पियन टिम हो । भुटानले पनि पछिल्लो समय धेरै प्रगति गरिरहेको छ । हामी पनि छैनौं ।’
बेस्ट टिम
यसपटक विगतमा भन्दा राम्रो टिम बनेको प्रशिक्षक गुरुङको विश्वास छ । पछिल्लो पटक सन् २०२३ मा साफ यू-२० महिला च्याम्पियनसिप खेल्दा राष्ट्रिय टिमकै तीन जना प्रीति राई, दीपा शाही र अमिसा कार्की टिममा थिए । यस्तै पछिल्लो पटक सन् २०२४ मा साफ यू-१९ महिला च्याम्पियनसिप हादा भने राष्ट्रिय टिमका कोही खेलाडी थिएनन् ।
यस्तै यस पटक पनि सिनियर टिमका कुनै पनि खेलाडी साफ यू-२० च्याम्पियनसिप खेल्ने टिममा छैनन् । तर पछिल्लो पटक साफ यू-१९ खेलेकै अधिकांक खेलाडी रहेकोले टिम राम्रो बनेको गुरुङको दावी छ ।
‘यसअघि साफ यू-२० च्याम्पियनसिप खेल्दा ३ जना राष्ट्रिय टिमका खेलाडी थियो । अहिले कोही पनि नेसनल प्लेअर छैन । तर भविष्यमा यिनीहरूले नै दिदीहरूलाई फलो गर्छ’ गुरुङले भने ।
पछिल्लो पटक बंगलादेशमै भएको साफ यू-१९ महिला च्याम्पियनसिप खेलेकै अधिकांश खेलाडी यस पटक यू-२० टिममा पनि छन् । ‘साफ यू-१९ खेलेको अधिकांश खेलाडीहरू अहिले पनि छन् । नयाँ ३ जना छन् । अरु यू-१५ र यू-१७ समूहमा खेलेकाहरू छन्’ गुरुङले भने ।
पछिल्लो पटक नेपालमा महिला फुटबलमा धेरै खेलहरू हुँदा खेलाडीहरूले खेल्न पाएको र फिटनेस पनि राम्रो रहेको प्रशिक्षक गुरुङको बुझाई छ । ‘मोफसल गोल्डकपहरू खेलेकोले खेलाडीहरू उत्साहित छ । फिटनेस राम्रो छ । इन्डुरेन्स र ट्याक्टिकलमा सिकाइराछ । टिम यस पटक राम्रो छ’ गुरुङले भने, ‘अहिलेको टिममा क्षमता छ च्याम्पियन बन्ने । व्यक्तिगत भन्दा पनि टिमको रुपमा राम्रो छ’ उनले भने ।
अघिल्लो पटक साफ यू-१९ मा खेलेका टिममा रहेका बर्षा ओली, सुजाता तामाङ, सुक्रिया मिया, सिम्रन राई, समिक्षा मगर, लिला जोशी, सेनु परियार, बिर्सना चौधरी, माया मास्के, झुमा विश्वकर्मा, पूर्णिमा राई, सुशिला केसी, सरिता कुमारी नाथ, सीता रोकाय, गंगा रोकाया, करुण बुढाथोकी लगायत खेलाडी यस पटक पनि टिममा छन् ।
यस्तै उमेर समूहमा खेलिसकेकी कुसुम खतिवडा पनि यस पटक टिममा छिन् भने घरेलु फुटबलमा राम्रो खेलिरहेकी मिना देउवा पनि टिममा छिन् ।
साफ यू-२० च्याम्पियनसिपमा नेपालको खेल
भुटान भर्सेस नेपाल : जुलाई ११
नेपाल भर्सेस बंगलादेश : जुलाई १३
श्रीलंका भर्सेस नेपाल : जुलाई १५
नेपाल भर्सेस श्रीलंका : जुलाई १७
नेपाल भर्सेस भुटान : जुलाई १९
बंगलादेश भर्सेस नेपाल : जुलाई २१
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4