Comments Add Comment

तराईमा शीतलहरः के गर्दैछन् स्थानीय सरकार ?

अझै पनि केन्द्र सरकार र दाताकै भर

१ माघ, सप्तरी । हरेक वर्ष जब जाडो आउँछ, तब शीतलहर र त्यसले ज्यान गएका खबरहरु आउँछन् । त्यसपछि सहयोगी हातहरु पनि अगाडि आउँछन् ।

यस वर्ष पनि शीतलहरले ज्यान गएको खबरहरु आइरहेको छ । सहयोगी हातहरु पनि मधेस झरेका छन् । तर, दीर्घकालीन समाधान अझै देखिएको छैन ।

विगतमा केन्द्र सरकारको मुख ताक्नुपर्ने बाध्यता थियो । यो पटक भने सिंहदरबार गाउँगाउँमा आएको भनिएको छ । के गर्दैछन् त स्थानीय सरकारहरु ?

सप्तरीबाट एसके शान, वीरगञ्जबाट सुरेश विडारी र रौतहटबाट गौतम श्रेष्ठको रिपोर्टः

शीतलहरले मृत्युको मुखमै पुर्‍याएपछि तराई मधेसका स्थानीयबासीले स्थानीय सरकारसँग हारगुहार गरिरहेका छन् । स्थानीय सरकारहरुले काम गरिरहेको बताउँछन् । तर, उनीहरुको काम प्रभावकारी हुन सकेको छैन र केन्द्रकै भर पर्नु परेको छ ।

‘यस पटक त धेरै कुरा थाहा नै पाउन सकिएको छैन’ सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र भन्छन्, ‘आगामी बर्षदेखि हामी योजना बनाएरै अघि बढ्छौं ।’

हनुमाननगर-कंकालनी नगरपालिकाको नगरसभाले विपद व्यवस्थापनका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको छ । नगर प्रमुख शैलेश साह भन्छन्, ‘शीतलहरबाट बच्न पूर्वयोजना केही नै बनाइएन, नगर सभामार्फत् ४० लाख रुपैयाँ छुट्टयाएका छौं । आगामी दिनदेखि हामी तयारी अवस्थामा रहन्छौं ।’

तिलाठी-कोइलाडी गाउापालिकाका अध्यक्ष सतिश सिंह यस पटक योजना बनाउँदा बनाउादै शीतलहर शुरु भएकाले अब प्राकृतिक प्रकोपका लागि राम्रो बजेट छुट्टयाएर आगामी बर्षदेखि कसैको ज्यान जान नदिने बताउाछन् ।

बलान बिहुल गाउापालिकाले पनि शीतलहर प्रभावितका लागि कुनै योजना बनाएको छैन । अध्यक्ष दयानन्द गोइत आगामी बर्षदेखि शीतलहरबिरूद्ध लड्ने बताउँछन् ।

सप्तरीका अधिकांश स्थानीय तह नयाँ भए पनि राजविराज नगरपालिका मुलुककै पुरानो नगरपालिका हो । यहाँ त योजना यसअघि नै बन्नुपर्ने होइन ? भन्ने प्रश्नमा नगर प्रमुख शम्भु यादव भन्छन्, ‘योजना भए पनि विपद् कोष यसअघि नै रित्तिइसकेका कारण योजना अनुसारको काम हुन सकेन ।’

उनका अनुसार नगरपालिका र वडा सञ्चालन खर्च कटौती गरेर भए पनि दाउरा वितरण भइरहेको छ ।

केन्द्र सरकार र सहयोगीकै भर

शीतलहरबिरूद्ध योजना बनाउन नसकेका सप्तरीका स्थानीय तह प्रमुखहरु केन्द्र सरकार र सहयोगी निकायकै भर परेका छन् । शीतलहर प्रभावितलाई दाउरा वितरण गरेको बताउने उनीहरुले कम्बल भने केन्द्र सरकारले पठाइदिएको बताउँछन् ।

कञ्चनरुप र हनुमाननगर-कंकालनी नगरपालिकाले ६/६ सय कम्बल खरिद गरेर वितरण गरेको छ । बलान-बिहुल गाउँपालिकाले बिभिन्न सहयोगी निकायले वितरण गरिरहेको र अपुग भएको ठाउँमा गाउँपालिकाले खरिद गर्ने बताए ।

स्थानीय सरकार प्रमुखहरु व्यवस्थित योजना बनिनसकेकाले खर्च गर्न नसकिएको स्वीकार गर्छन् । बलान-बिहुल गाउँपालिका अध्यक्ष गोइत अब पेश्की रकमबाट भए पनि विपन्न परिवारलाई कम्बल वितरण गर्ने योजना रहेको बताउँछन् ।

‘गरीबी र रोग थाम्नु नै हो मर्ने अवस्था’

शीतलहरका कारण गरीबहरु बढी प्रभावित भएका छन् । कञ्चनरुप नगर प्रमुख मिश्र दलित बस्तीमा रक्सी सेवन गर्ने प्रचलन रहेका कारण पनि मृत्यु भइरहेको बताउँछन् । रोग थामेर बसेकाहरुको पनि चिसोमा मृत्यु भइरहेको उनको भनाइ छ ।

तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सिंह चेतनाको अभावका कारण पनि शीतलहरको समयमा धेरै मानिसको मृत्यु भएको बताउँछन् । ‘न्यानो कपडा लगाउनुपर्छ, तातो खानेकुरा खानुपर्छ भन्ने चेतनाको पनि अभाव देखिन्छ’ उनले भने ।

पर्सामा दाउरासमेत पुगेन

पर्सामा राम्रोसाग घाम नलागेको दुई साता बितेको छ । बिहादेखि कुहिरो र शीतसागै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानीयको दैनिकी प्रभावित भएको छ । बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । सरकारी कार्यालयहरुमा चिसोले सेवाग्राहीहरुको संख्या घटेको छ ।

मानिसहरु सार्वजनिक स्थलमा आगो बालेर तापिरहेका हुन्छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, रिक्सा र ठेला चालकहरु चिसोका कारण बढी प्रभावित छन् ।

अति विपन्न, सीमान्तकृत समुदायका मानिससागै बालबालिका, वृद्ध वृद्धा र गर्भवती महिलाहरु पनि चिसोबाट बढी प्रभावित छन् । चिसोकै कारण कठ्यांग्रिएर ४ जनाको मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

३ पुसमा बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले सर्वसाधारणलाई चिसोबाट जोगाउन आवश्यक काम गर्न नगर र गाउँपालिकालाई निर्देशन दिएको थियो । जिल्लाका १४ वटै स्थानीय तहले दाउरा वितरण गरी सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएका छन् भने कतिपयले भने कम्बल बाँडेका छन् ।

‘वीरगञ्ज महागनरपालिकामा ७० प्रतिशत ग्रामीण क्षेत्र छ । अति विपन्न समुदाय पनि धेरै छन्’ वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सराबगी भन्छन्, ‘उनीहरुलाई चिसोबाट बचाउन २४ सय जति कम्बल वितरण गरिसकेको छ । जिल्ला वन कार्यालयसाग दाउरा किनेर पनि वितरण गर्‍यौं ।’

महानगरपालिकाले आफैंले खरिद गरेर र विभिन्न संघ संस्थाको सहयोगमा कम्बल वितरण गरेको हो । थप ५ सय कम्बल वितरण गर्ने लक्ष्य राखिएको मेयर सराबगीले जानकारी दिए ।

महानगरले जिल्ला वन कार्यालयबाट २ टन र निजी क्षेत्रबाट ५ ट्याक्टर दाउरा किनेर सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । निजी क्षेत्रबाट लिएको आापको दाउरा काँचो परेपछि त्यसको विरोधसमेत भएको थियो ।

पोखरिया नगरपालिकाले चिसोबाट अति प्रभावितलाई वितरण गर्न ५ लाख रुपैयाँको कम्बल खरिद गरेको छ । ‘नगरका १० वटै वडामा वितरण गर्ने लक्ष्य राखेका छौं’ नगर उपप्रमुख सलमा खातुनलेे भनिन्, ‘७ वटा वडाका अति विपन्न, अपाङ्ग, एकल तथा गर्भवती महिलालाई प्राथमिकताका साथ कम्बल वितरण गरेका छौं । बाँकी वडामा पनि वितरण गर्छौ ।’ पहिला तथ्याङ्क लिएर अति आवश्यक परेकालाई मात्रै कम्बल वितरण गरिएको उनले बताइन् ।

नगरपालिकाले जिल्ला वन कार्यालयबाट ३० क्वीन्टल दाउरा ल्याएर नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने समेत व्यवस्था मिलाएको छ ।

बहुदरमाइ नगरपालिकाले आइतबारदेखि कम्बल वितरण गर्न शुरु गरेको छ । वडा नं १, ९, ७ र ८ मा ७ सय वटा कम्बल वितरण गरिएको नगर प्रमुख नितेन्द्र साहले जानकारी दिए ।

‘सकेसम्म नगरबासीलाई राहत होस् भन्ने पक्षमा हामी छौं’ उनले भने ‘नगरमा १२ सय जति कम्बल वितरण गर्ने लक्ष्य लिएका छौं । ४० क्वीन्टल दाउरा खरिद गरेर सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था समेत मिलायौं ।’

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले ७० क्वीन्टल दाउरा वितरण गरी सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको बताए । ‘भोलिदेखि कम्बल पनि वितरण गर्ने तयारीमा छौं’ उनले भने । नगरका अति विपन्न, असहाय, एकल महिलाका लागि १५ सय थान कम्बल वितरण गर्ने पनि यादवले जानकारी दिए ।

चाहिने जति  दाउरा नपाएको गुनासो

स्थानीय तहले वितरण गरेको दाउराले नपुगेपछि स्थानीय वासिन्दा आफैंले दाउरा जुटाएर आगो ताप्ने गरेका छन् । टोलका केही घर मिलेर दाउरा खरिद गरी आगो ताप्ने गरेको पनि पाइएको छ ।

स्थानीय सरकारले आवश्यकता अनुसार दाउरा उपलब्ध गराउन न सकेको स्वीकार गरेका छन् । जिल्ला वन कार्यालयले माग अनुसार दाउरा दिन नसकेको उनीहरुको भनाइ छ । ‘एक दिन दाउरा दिन्छ, वितरण गरेपछि सकिन्छ । चिसो कायमै छ, अझै दाउरा चाहिएको छ । तर मिलरहेको छैन’ वीरगञ्ज महानगरपालिकाका प्रमुख सराबगीले भने, ‘प्राइभेट सेक्टरबाट किन्दा काँचो पर्ने रहेछ ।’

पाेखरिया नगरपालिका उपप्रमुख सलमा खातुनले वन कार्यालयले मागे जति दाउरा नदिएको गुनासो गरिन् । ‘हामीले प्रत्येक वडाका लागि १/१ चट्टा दाउरा माग गरेका थियौं, वन कार्यालयले उपलब्ध गराउनै सकेन, आएको जति बाँडिसकेका छौं । फेरि माग गरेका छौं ।’

जिल्ला वन कार्यालयले भने साढे १० चट्टा अर्थात १० टन दाउरा स्थानीय तह र विभिन्न संघ संस्थामार्फत वितरण गरिसकेको छ । कार्यालयसाग मौज्दात सकिएकोले साझेदारी वनसँग समन्वय गरेर दाउरा संकलनको काम गरिरहेको छ ।

राहत वितरणमा मनोमानी हुने गरेको आरोप

सर्वसाधारणले भने विपदका बेला राहत वितरणमा मनोमानी भएको बताएका छन् । राजनीतिक दलका नेता र जनप्रतिनिधिले आफ्ना नजिककालाई कम्बल वितरण गरेको उनीहरुको गुनासो छ । पर्सा क्षेत्र नं ३ का एमाले नेता अनुप तिवारीले स्थानीय तहबाट कमसल खालका कम्बल वितरण भइरहेको बताए ।

‘जसलाई आवश्यक छ, त्यस्तालाई पुगेको छैन, जसकोमा पुगेको छ, त्यो एकदमै कमशल खालको छ, त्यसले जाडो थेग्न सक्दैन’ उनले भने, ‘चिसोमा खासगरी निमोनिया र दमको संक्रमण बढेको छ, स्थानीय तह सञ्चालन भएपछि कुनै पनि स्वास्थ्य चौकीमा औषधि छैन, निशुल्क औषधि पाइँदैन ।’

रौतहटमा विपन्न परिवार पहिचान गर्नै गाह्रो

रौतहटको दक्षिणी क्षेत्र पूर्ण रुपले शीतलहरको प्रभावमा छ । उत्तरी क्षेत्र चन्द्रनिगाहपुर र आसपासका क्षेत्रमा घाम लागे पनि सदरमुकाम गौर र आसपासका क्षेत्र तीन सातादेखि तुषारो र कुहिरोले ढाकिएको छ । शीतलहर र न्यून तापक्रमले गर्दा रौतहटमा कठ्यांगि्रएर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

‘प्रहरीमा रिपाेर्ट भए अनुसार १९ जनाको चिसोले मृत्यु भएको छ, जसमध्ये ३ जनाको शव परीक्षणले पनि कठयांग्रिएर मृत्यु भएको पुष्टी गरेको छ’ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले भने ‘चिकित्सकले गरेको शव परीक्षणको रिपाेर्ट अनिवार्य गरिएको छ ।’

झण्डै दुई दशक जनप्रतिनिधिविहीन रहेको स्थानीय तहमा नयाँ जनप्रतिनिधि आए पनि शीतलहर पीडितको राहतका लागि सन्तोषजनक काम गर्न नसकेको गुनासो बढेको छ ।

के भन्छन् स्थानीय सरकार ?

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रकुमार पटेलले गरीब तथा विपन्न परिवारलाई शीतलहरबाट जोगाउन वडा अध्यक्षको नेतृत्वमा समिति बनाएर काम अघि बढाएको बताए ।

‘वडा अध्यक्षको नेतृत्वमा समिति बनाएर प्रत्येक वडाका गरीब तथा विपन्न परिवारको पहिचान गरी राहत बाँडिएको छ’ नगर प्रमुख पटेलले भने, ‘जिल्ला दैवी प्रकोप उद्धार समिति र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा राहत वितरण जारी छ ।’

जिल्ला दैवी प्रकोप उद्धार समितिको पहलमा २ ट्याक्टर दाउरा विभिन्न चोकहरुमा बाँडिएकाे छ । एक सय थान कम्बल र १ सय ५५ थान ज्याकेट र प्लान नेपालको सहयोगमा दुई सय परिवारलाई कम्बल वितरण भएको नगरप्रमुख पटेलले बताए ।

नगरपालिकामा झण्डै २२ सय गरीब परिवार रहेको र सबैलाई राहत वितरण गर्न नसकेको उनले स्वीकार गरे ।

परोहा नगरपालिकाका नगर प्रमुख शेष वकिलले विपन्न परिवार संख्याको तुलनामा राहत सामग्री थोरै भएकोले वितरणमा समस्या भएको बताएका छन् । जिल्ला वन कार्यालयबाट प्राप्त दाउरा नगरक्षेत्रमा वितरण गरे पनि न्यानो कपडा र कम्बलको अभाव रहेको उनले बताए । ‘प्रत्येक वडा मा दुई-तीन सय जना गरीब विपन्न छन् । चिसोको बेला सबैलाई गाह्रो छ’ उनले भने ‘राहत वितरणका बेला हुनेखाने परिवारले पनि माग्न आउँदा गरीबले नपाउने र विवाद हुने गरेको छ ।’

नगरपालिकाका गरीब परिवारको पहिचान गरेर नामावली नबनाएसम्म काम गर्न गाह्रो हुने उनले बताएका छन् । परोहा नगरपालिकामा चिसोले मर्नेको संख्या ५ पुगेको छ ।

गढीमाई नगरपालिकामा चिसोका कारण गढीमाई नगरपालिकामा ४ जनाको मृत्यु भएको छ । तर विपन्न परिवारलाई बाँड्ने राहतमा सम्पन्नहरुले पनि लोभ गर्दा समस्या भएको नगर प्रमुख श्यामप्रसाद यादवले बताए ।

‘विपन्न परिवारलाई बाँड्ने भन्दा सम्पन्नहरु पनि राहत माग्न आउँछन्’ उनले भने, ‘स्थानीयलाई कुरा बुझाउनै समस्या छ । हुने खानेहरुले राहत लिन्न भन्नुपर्ने ठाउँमा उनीहरुनै हामीलाई पनि चाहियो भन्न आउँछन् । गरीबले भने पाएकै छैनन् ।’

चिसोका कारण मृत्यु भएका चार जनामध्ये एकको परिवारलाई किरिया खर्चवापत १५ हजार रुपैयाँ सहयोग गरिएको नगरप्रमुख यादवले बताए । चिसोबाट जोगाउन दुई ट्याक्टर दाउरा बाँडेको र विभिन्न दातृ संस्थासाग न्यानो कपडा वितरणका लागि समन्वय गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment