Comments Add Comment

नदीबाट बालुवा झिकेको फोटो खिच्दा पत्रकारमाथि आक्रमण

१ माघ, गोरखा । गोरखाका पत्रकार सुदीप कैनीमाथि सोमबार समाचार संकलनका क्रममा आक्रमण भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित मर्स्याङ्दी नदीको भूते रह घाटमा भइरहेकेा अवैध बालुवा उत्खननको समाचार संकलन गर्न गएका कैनीमाथि दिउँसो आक्रमण भएको हो ।

आक्रमणबाट उनको घाँटी र शरीरको विभिन्न भागमा चोट लागेको छ । ‘म फोटो खिच्दै थिएँ, चार/पाँच जना केटाहरुले को होस् ? किन फोटो खिचेको ? भन्दै हातपात गरे र क्यामेरा पनि फालिदिए,’ कैनीले भने । कान्तिपुर दैनिकका गोरखा संवाददाता उनको क्यामेरा र मोवाइलमा क्षति पुगेको छ ।

कैनीमाथि कुटपिट भएको घटना थाहा पाएसागै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापासहित पत्रकारको टोली दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय आाबुखैरेनी पुगेको थियो । कुटपिट गर्नेको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय आाबुुखैरेनीले जनाएको छ ।

घटनाको नेपाल पत्रकार महासंघ गोरखाले भर्त्सना गरेको छ । घटनापछि प्रेस विज्ञप्ति जारी गर्दै महासंघको गोरखा शाखाले क्षति पुगेको उपकरणको उचित क्षतिपूर्तिसँगै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

‘पछिल्लो समयमा बढ्दो गुण्डागर्दीले पत्रकारहरुको प्रेस स्वतन्त्रतामाथि हमला हुने खतरा बढेकाले प्रशासन र सम्वद्ध पक्ष सबैलाई हामीले सुरक्षाको ग्यारेन्टी गर्न जोडदार माग गर्दछौं,’ महासंघका गोरखा शाखा अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment