Comments Add Comment

दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले सफाइ पाए

२ माघ, काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ ।

डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् ।

एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् र उनको पद गएको छ ।

सर्वोच्चको आदेशसँगै कांंग्रेस नेता समेत रहेका डन गणेश लामासहित चार जनाले सफाइ पाएका छन् ।

के हो मुद्दा ?

दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्ग्ेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको छ ।

सहन्यायाधिवक्ता संजीवराज रेग्मीले अनलाइनखबरसँग भने, ‘हामीले चार जनाको कैद सजाय माग गरेका थियौं तर, सर्वोच्चले तत्कालीन पुनरावेदनकै फैसला सदर गर्‍यो ।’

उनका अनुसार सर्वोच्चमा मनाङ्ग्ेको तर्फबाट कुनै दाबी नै प्रस्तुत भएको थिएन । र, पुनरावेदनको समय सकिसकेकाले अब उनी जेल जानुको विकल्प छैन ।

जिल्ला अदालतले सुनाएको सजाय दिपक मनाङ्ग्ले भुक्तान गरेको बताइएको छ । त्यसो भएमा उनले बाँकी समय कैद भुक्तान गर्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment