Comments Add Comment

बन्द माथिल्लो भोटेकोशी दुई वर्षभित्र सञ्चालनमा ल्याउने तयारी

४५ मेगावाटको आयोजना दुई वर्षदेखि बन्द

३ माघ, काठमाडौं । १२ वैशाख ०७२ को भूकम्पका कारण बन्द माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना दुई वर्षभित्र सञ्चालनमा ल्याउने तयारी शुरु भएको छ ।

४५ मेगावाटको उक्त आयोजना भूकम्पका कारण क्षतीग्रस्त भएको थियो । मर्मत गर्दै गर्दा असार ०७३ को बाढीले पुनः क्षती पुर्‍यायो ।

आयोजनाको प्रवर्द्धक कम्पनी भोटेकोशी पावरका अनुसार बाढीले क्षती पुर्‍याउनु अघिसम्म ८० प्रतिशत मर्मत सकिएको थियो । त्यसअघि ०७१ सालमा पनि जुरे पहिरोको कारण प्रसारण लाइन बगेको थियो ।

उक्त आयोजना बन्द रहेका कारण भारतबाट बिजुली आयात बढाउनु परिरहेको छ ।

कम्पनीका अनुसार बाढीले तातोपानीस्थित आयोजनाको बाँधलगायत संरचनामा ठूलो क्षति पुर्‍याएको छ । सबै संरचना मर्मतका लागि प्रक्रिया अगाडि बढेको आयोजनाका प्रबन्धक अजयकुमार सिंह बताउँछन् । त्यसका लागि ठेकेदार कम्पनी छनोट शुरु भएको छ ।

सिंहका अनुसार दुई वर्षभित्र मर्मत सकेर विद्युत् उत्पादन थाल्ने योजना छ ।

बाढीले बालुवा थिग्रयाउने पोखरी अर्थात् ‘डेसेन्डिङ बेसिन’को पर्खाल भत्काइदिएको छ । बाँधमा पनि ठूला ढुंगा थुपि्रएका छन् । र, भूकम्पका कारण विद्युतगृह र पेनस्टक पाइपमा क्षति पुगेको छ ।

बाढीबाट क्षती बेहोर्नु नपरेको भए असोज ०७३ मै विद्युत् उत्पादन थाल्ने लक्ष्य थियो ।

आयोजनाले विद्युत् प्राधिकरणसँग २५ वर्षको खरिद सम्झौता (पीपीए) गरेको छ । २५ वर्षपछि आयोजनाको आधा स्वामित्व प्राधिकरणमा आउनेछ । उक्त आयोजनाबाट पुस ०५७ देखि विद्युत् उत्पादन हुँदै आएको थियो ।

प्राधिकरणले उक्त आयोजनाबाट उत्पादित बिजुली अमेरिकी डलरमा खरिद गर्दै आएको थियो । र, डलर सटही जोखिम पनि प्राधिकरणले नै बेहोर्ने सम्झौता छ ।

यस आयोजनामा शुरुमा अमेरिकी कम्पनी पान्डा इनर्जीको लगानी थियो । अहिले भने ९५ प्रतिशत स्वदेशी स्वामित्व छ ।

पान्डा इनर्जीको स्वामित्व हिमाल इन्टरनेसनल इनर्जीले खरिद गरेको थियो । आयोजनाको स्वामित्व र व्यवस्थापन चैत ०६२ देखि तारा म्यानेजमेन्ट प्रालिले गर्दै आएको छ । शुरुमा ३६ मेगावाटको यस आयोजनालाई सन् २०१२ मा ४५ मेगावाटमा स्तरोन्नती गरिएको थियो ।

यस्तै, आयोजनाले ६ प्रतिशत सेयर सिन्धुपाल्चोकवासीलाई दिएको छ । जुरे पहिरोले क्षती पुर्‍याएको प्रसारण लाइन निर्माणका क्रममा स्थानीय बासिन्दाले आफूहरुलाई पनि सेयर दिनुपर्ने माग अगाडि सारेका थिए । त्यसपछि नै हो, कम्पनीले स्थानीय बासिन्दाका लागि सेयर जारी गरेको पनि । एकपछि अर्को प्राकृतिक विपत्तिको सामना गर्नु परेका कारण आयोजनाले स्थानीय बासिन्दालाई सबै सेयर दिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment