Comments Add Comment

प्रदेश प्रमुख गोविन्द सुब्बा : मेयरमा पराजित, पूर्वकम्युनिष्ट

कांग्रेसमा लागेर छोटो बाटोबाट माथि उक्लने सपना साकार

३ माघ, धरान । प्रदेश नम्बर १ को प्रदेश प्रमुखमा नियुक्ति पाएका डा. गोविन्द तुम्बाहाङ (सुब्बा) नेपाली कांग्रेसका कार्यकर्ता हुन् । तर बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियुका कार्यकर्ता थिए । बहुदल आइसकेपछि मात्रै सुब्बा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

डा. सुब्बा हाल नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का प्राध्यापक हुन् । धनकुटाको बञ्चरेमा जन्मेर धरानलाई कर्मथलो बनाएका उनी अंग्रेजी भाषाका प्राध्यापक हुन् । उनले स्थानीय भाषामा पीएचडी गरेका छन् । साथै उनले कानूनमा समेत स्नातक गरेका छन् ।

गोविन्द सुब्बाले आफ्नो थर तुम्बाहाङ लेख्छन् । धरानमा उनलाई गोविन्द सुब्बाका साथै गोविन्द तुम्बाहाङ भनेर पनि चिनिन्छ ।

धरान निवासी एमालेका एक नेताले दिएको जानकारी अनुसार ०३८ सालतिर धनकुटा बहुमुखी क्याम्पसमा अध्ययन गर्दा गोविन्द अखिलका कार्यकर्ता थिए । जिल्ला कमिटीमा नपुगे पनि उनले स्ववियुमा काम गरेका थिए ।

पछि डिग्री पढ्न काठमाडौं गएपछि पनि उनी कम्युनिष्ट समर्थककै रुपमा रहे । अंग्रेजीमा डिग्री सकेर उनी घरानमा महेन्द्र क्याम्पसमा जागिर खान र्फकंदा ०४६ सालको जनआन्दोलन सम्मुखमा थियो ।

धरानका तत्कालीन प्रधानपञ्च  (हाल एमाले नेता) कृष्णकुमार राईसँग उठबस गर्ने क्रममा सुब्बा त्यसबेला पञ्चहरुसँग नजिक हुन थालेको आरोपसमेत केही एमाले नेताहरुको छ । तर उनले ०४६ सालको आन्दोलनमा वाम नेता ध्यानबहादुर राईहरुसँगै मिलेर आन्दोलनलाई साथ दिएका थिए । त्यसबेला ध्यानबहादुर राईलगायतको पहलमा जनजाति उत्थान मञ्च गठन गरेर पञ्चायतिरुद्ध गतिविधि गरेको स्रोत बताउँछ ।

धरानका एक पुराना वाम नेताले अनलाइनखबरसँग भने- ‘०४६ सालको आन्दोलनताका गोविन्द सुब्बा कम्युनिष्ट छाडेर पञ्चहरुतिर लाग्लान् कि जस्तो हामीलाई भान परिरहेको थियो, त्यहीबेला पञ्चायत ढल्यो र बहुदल आयो ।’

बहुदल आएपछि सुब्बा कांग्रेसमा प्रवेश गरे । कांग्रेसमा आफूजस्ता पढेलेखेका राई लिम्बुहरु कम रहेको र त्यहाँ जाँदा राजनीतिमा चाँडो माथि पुग्न सकिने भन्दै उनी कांग्रेसतिर लागेको उनका पुराना सहकर्मीहरु बताउँछन् ।

नभन्दै ०४९ सालको स्थानीय चुनावमा गोविन्द सुब्बाले धरानको मेयरमा कांग्रेसबाट टिकट प्राप्त गरे, र उनले पञ्चायतकालमा आफ्नै संगठनका केन्द्रीय नेता रहेका ध्यानबहादुर राईसँग चुनावी प्रतिस्पर्धा गरे ।

आफ्ना पूर्वनेता ध्यानबहादुरसँगको चुनावी भिडन्तमा सुब्बाले २२५ भोटको झिनो मतान्तरले पराजित हुनुपर्‍यो । धरानको इतिहासमा यसरी लोकपि्रय मत ल्याउने सुब्बा नै पहिलो कांग्रेस नेता हुन् । एमालेको प्रभाव रहेका बेलामा पनि उनले धरानको मेयरमा सम्मानजनक र लोकप्रिय मत प्राप्त गरेका थिए ।

महेन्द्र बहुमुखी क्याम्पसमा पठाउँदा पढाउँदै पहिलो स्थानीय चुनावमा उनी कलेजबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका थिए । सो चुनावमा हारेपछि उनी प्राध्यापन पेशामै फर्किए र स्थायी प्राध्यापक बने ।

नेपाली कांग्रेसमा आवद्ध सुब्बा अंग्रेजीका साथै लिम्बु भाषा र साहित्यका ज्ञाता मानिन्छन् । हाल सुनसरीबाट सांसद पदमा निर्वाचित अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले देउवासमक्ष सुब्बालाई प्रदेश प्रमुख बनाउन लबिङ गरेको कांग्रेसनिकट स्रोत बताउँछ ।

छोटो बाटोबाट राजनीतिमा माथि पुग्न सकिन्छ भन्ने ठानेर कम्युनिष्ट छाडेर कांग्रेस बनेका सुब्बाले प्रदेश नम्बर १ को प्रमुख बन्ने अवसर त पाएका छन् । तर, कम्युनिष्ट छाडेर कांग्रेस बनेपछि प्राप्त भएको उनको यो सफलतालाई वर्तमान कम्युनिष्टहरुको सरकारले खारेज गर्छ या स्वीकार्छ, त्यो चाहिँ आसन्न भविष्यले बताउला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment