
७ माघ, वीरगञ्ज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जलाई प्रदेश नं २ को राजधानी नभई देशकै आर्थिक राजधानी बनाउनुपर्ने बताएका छन् ।
प्रादेशिक राजधानी संघर्ष समितिको विरोध छलेर वीरगञ्ज महानगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्न पुगेका नेता यादवले भने ‘राष्ट्रिय राजधानी काठमाडौं हो, तर औद्योगिक नगरी एवं आर्थिक राजधानी वीरगञ्जलाई बनाउनुपर्छ भन्ने सोच्नुपर्छ ।’
ब्राजिल र अष्ट्रेलियाले मुलुकको राजधानी नै सारेको उदाहरण दिँदै उनले वीरगञ्जलाई प्रदेश राजधानी नभई मुलुककै आर्थिक राजधानी बनाउन पहल गर्नुपर्ने धारणा राखे । ‘ब्राजिल र अष्टे्रलियाले पहिला एक ठाउँलाई राजधानी मानेका थिए, तर पछि त्यो ठाउँबाट अन्तै राजधानी बनाउनुपर्ने अवस्था आयो । देशकै राजधानी पनि सार्नुपरेको हामीले देखेका छौं । त्यसैले वीरगञ्जलाई आर्थिक राजधानी बनाउने तर्फ सबै लाग्नुपर्छ’ उनले भने ।
विज्ञ टोलीले पनि १० प्रदेशको अवधारणालाई उपयुक्त मानेको बताउँदै यादवले अहिलेको ७ प्रदेशको अवधारणा अवैज्ञानिक र अव्यवहारिक रहेको जिकिर गरे ।
उनले मुलुकमा समावेशी लोकतन्त्रको आरम्भ भइसकेको बताउँदै अरु मुलुकमा बर्षौको संघर्षबाट प्राप्त हुने उपलब्धी नेपालमा छोटो अवधीमै हासिल गरिसकेको दावी गरे ।
‘अरु देशमा सयकडौं बर्ष लाग्छ, तर हामीले छोटो समयमै संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भएका छौं’ उनले भने ‘छुटेका अधिकारहरुलाई राजनैतिक र संवैधानिक रुपमा स्थापित गर्ने दायित्व बाँकी छ । अधिकार प्राप्तीसँगै अब विकास र रोजगारी तर्फ पनि अघि बढ्नुपर्छ ।’
नगर सभामा नगर प्रमुख विजयकुमार सरावगीले ४ अर्ब २२ करोड २५ लाख ८९ हजार ८ सय ३९ रुपैयाँको आय व्यय विवरण र नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4