९ माघ, काठमाडौं । एमालेबाट राष्ट्रियसभामा नवप्रवेशी गायिका कोमल वलीले टिकट पाउँदा युवा नेता तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेको नाम भने स्थायी कमिटीमा पेश नै भएन । प्रतिनिधिसभामा पाल्पा २ बाट प्रत्यक्ष टिकटका दाबेदार गैरेको नाम ०७० र ०७४ दुवै चुनावमा अन्तिम समयमा काटिएको थियो ।
यसपटक राष्ट्रियसभामा ५ नम्बर प्रदेशबाट अखिलका पूर्वअध्यक्षद्वय खिमलाल भट्टराई र ठाकुर गैरेलाई ल्याउने अनुमान गरिएको थियो । वाम गठबन्धनको भागवण्डामा एमालेले एक सिटमात्र खुला सदस्यमा पाएकोले सो ठाउँमा खिमलाललाई ल्याइएको छ ।
खिमलाल ठाकुरभन्दा अघिका अखिल अध्यक्ष हुन् भने ठाकुर दुईपटक केन्द्रीय सदस्य निर्वाचित भइसकेका युवा नेता हुन् । खिमलाल पनि एमालेको केन्द्रीय सदस्य हुन् ।
खुला सदस्यको एउटा मात्र कोटा एमालेलाई परेकाले खिमलाल ल्याउँदा ठाकुरलाई समेट्न नसकिएको एमालेका एक पदाधिकारीले बताए ।
एमालेभित्र ठाकुर गैरे कार्यकर्ताबीच लोकप्रिय भए पनि शीर्ष नेताहरुको रुचिमा नपरेका नेताका रुपमा चिनिन्छन् । उनी बुटवलको आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी ओली कुनै पनि प्यानलमा नपरेपछि प्यानल बाहिरबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
राष्ट्रिय स्वाधीनताको आन्दोलनको अगुवाई गरेका गैरेलाई पाल्पाबाट यसपटक टिकट दिनुपर्ने आवाज माधव नेपाल समूहमा उठेको थियो । तर, माधव नेपाल स्वयंको जोडबलमा सोमप्रसाद पाण्डेलाई पाँचौ पटक टिकट दिइएपछि उनी उम्मेदवार बन्न पाएनन् ।
पाण्डे माधव नेपालका सम्धी हुन् ।
कोमल ओलीले टिकट पाउँदा गैरे आउट भएको भन्दै एमालेका कार्यकर्ताले आलोचना गरेका छन् । तर, कोमल ओली महिला क्लस्टरबाट राष्ट्रियसभामा उम्मेदवार बनेकी हुन् ।
खिमलाल र ठाकुरमध्ये एक छान्दा नेतृत्वले खिमलाल छानेको हो । प्रदेश संयोजक तथा उपमहासचिव बिष्णु पौडेलले खिमलाल र ठाकुर छान्दा खिमलाललाई रोजेको प्रदेश कमिटीका एक सदस्यले बताए । ‘खिमलाल ठाकुरभन्दा सिनियर भएकाले एउटैमात्र कोटामा खिमलालले टिकट पाएका हुन्, दुईजना हुने अवस्थामा गैरे पर्ने थिए’ उनले भनेका छन् ।
एमालेका एक स्थायी कमिटी सदस्यले भने गैरेको नाम प्रदेशबाटै सिफारिसमा नआएको बताए । प्रदेश कमिटीबाट सिफारिस नगरिनुमै षडयन्त्र रहेको भन्दै सोमबार स्थायी कमिटीमा उपमहासचिव भुसाल लगायतका नेताले गैरेको पक्षमा बोलेका थिए ।
तर, राति ११ बजेसम्म छलफल हुँदा पनि उनको पक्षमा शीर्ष नेता सहमत नभएको बताइएको छ । एक पदाधिकारीले भने, ‘हामीले धेरै लड्यौं, उनी एकमात्र केन्द्रीय सदस्यलाई सिफारिसमै छुटाइयो, जति लडे पनि सकिएन । धेरै नेताहरु सकारात्मक देखिएनन् ।’
स्रोतका अनुसार माधव नेपालले समेत गैरेको पक्षमा अडान लिएनन् ।
ठाकुर गैरे एमालेभित्र पटकपटक अवसरबाट बन्चित हुनुको कारण उनको विद्रोही स्वभाव भएकोउनका समर्थकहरु बताउँछन् । घनश्याम भुसाल र योगेश भट्टराई निकट गैरे माधव नेपालकै पनि ‘गुटलिस्ट’मा पर्न नसकेका कारण स्रोतले जनाएको छ ।
युवा नेता गैरेले भने राष्ट्रियसभामा टिकट नपाएकोमा कुनै टिप्पणी नरहेको प्रतिक्रिया दिए । ‘पार्टी स्थायी कमिटीको निर्णयबारे मेरो केही भन्नु छैन’ उनले भने ।
सामाजिक सन्जालमा भने एमाले कार्यकर्ताले जनताको बहुदलीय जनवाद (जबज) कार्यन्वयनमा ठाकुर गैरेभन्दा कोमल वलीको आवश्यकता नेतृत्वले देखेको भन्दै व्यंग्य गरेका छन् ।
याे पनि पढ्नुहाेस्
कोमल वलीलार्इ राष्ट्रियसभामा पठाउने एमाले निर्णय, छानिए १३ उम्मेदवार
प्रतिक्रिया 4