९ माघ, गुल्मी । प्रतिनिधिसभा गुल्मीबाट उम्मेदवार बनेका एमालेका २ सचिवमध्ये प्रदीप ज्ञवाली भन्दा गोकर्ण विष्टले बढी खर्च गरेको पाइएको छ ।
उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरण अनुसार ज्ञवालीले भन्दा विष्टले झण्डै छ लाख रुपैयाँ बढी खर्च गरेका हुन् ।
क्षेत्र नम्बर २ बाट निर्वाचित विष्टले २२ लाख ७४ हजार र १ बाट निर्वाचित ज्ञवालीले १८ लाख १ सय ७० खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।
प्रदेशसभातर्फ विजयी उम्मेदवारमध्ये क्षेत्र नम्बर १ को क बाट निर्वाचित सुदर्शन बरालले बढी खर्च गरेको विवरण बुझाएका छन् । उनले १४ लाख ९२ हजार २ सय ६६, क्षेत्र नम्बर १ कै ख बाट निर्वाचित कमलराज श्रेष्ठले ८ लाख ९२ हजार २ सय ८० खर्च गरेको विवरण बुझाएका छन् ।
क्षेत्र नम्बर २ को क बाट निर्वाचित खड्ग केसीले १४ लाख ४० हजार र ख बाट निर्वाचित दिनेश पन्थीले १४ लाख १६ हजार ३ सय ७६ खर्च गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गुल्मी १ मा कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार चन्द्र भण्डारीले २४ लाख २५ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार चन्द्र केसीले २४ लाख १७ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् ।
प्रदेशसभामा कांग्रेस उम्मेदवारमध्ये क्षेत्र नम्बर २ ख का छन्दबहादुर पहाराईले १५ लाख रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । क्षेत्र नम्बर १ को क का उम्मेदवार पृथबहादुर फौजदारले १४ लाख ८३ हजार १ सय र ख का धनेन्द्र
कार्कीले १४ लाख ७६ हजार ८ सय, क्षेत्र नम्बर २ को क का उम्मेदवार शालिकराम पन्थीले १४ लाख ७५ हजार खर्च भएको विवरण बुझाएका छन् ।
जिल्लामा १० जना स्वतन्त्र उम्मेदवारले भने खर्च विवरण अझै नबुझाएको जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।