Comments Add Comment

मेलम्चीको पानी ‘चाबी चालक’ कै हातमा !


११ माघ, काठमाडौं । मेलम्ची काठमाडौं आएपछि पनि पानीको सबै नियन्त्रण चाबी चालक (पानी खोल्ने व्यक्ति) कै हातमा रहिरहने भएको छ । काठमाडौंमा खानेपानीको वितरण सञ्जाललाई आधुनिक र वैज्ञानिक स्तरको बनाउन अझै दुई वर्षभन्दा बढी समय लाग्ने भएपछि अझै चाबी चालककै भर पर्नुपर्ने भएको हो ।

अनलाइनखबरसँगको एक अन्तरवार्तामा तत्कालीन खानेपानी सचिव भीम उपाध्यायले काठमाडौंका चाबी चाकलले पैसा लिएर पानी वितरण गर्ने गरेको भेटिएको आरोप लगाएका थिए । त्यतिबेला मेलम्ची आएपछि पानीको वितरण कम्युटराइज्डड प्रविधिमा जाने भनिएको थियाे ।

तर, मेलम्चीको वितरणलाई अन्तर्राष्ट्रिय रुपमा प्रचलित ‘स्काडा’ सिस्टममा लैजान गरी बल्ल तयारी सुरु भएको छ । यसले मेलम्ची अएपछि पनि चाबी चालकको बदमासी कायम रहिरहने आशंका मन्त्रालयका उच्च अधिकारीलाई छ । चाबी चालकहरु भने त्यसलाई स्वीकार गर्दैनन् ।

सरकारले वैशाखसम्म काठमाडौंमा मेलम्चीको पानी झार्ने दावी गरिरहेको छ । ढिला भएपनि दशैंसम्म मेलम्ची काठमाडौं आइपुग्नेमा विश्वस्त छन्, मन्त्रालयका अधिकारीहरु । तर, मेलम्चीको वितरण सञ्जालको आधुनिकीकरण भने तत्कालै हुने अवस्था छैन ।

मेलम्चीको दैनिक १७ करोड लिटर पानी काठमाडौंका लागि निकै अपर्याप्त नै हुने अवस्था छ । त्यसैकारण मानवीय रुपमा नै पानीको नियन्त्रण गर्दा विभिन्न अनियमितता बढ्ने आशंका छ, मन्त्रालयका अधिकारीलाई ।

मेलम्ची आएपछिका दुई वर्ष काठमाडौंको खानेपानीको वितरण सञ्जाल पुरानै ढर्रामा सञ्चालन हुने निश्चित रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) पनि बताउँछ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले खानेपानीको पाइपलाइन बिच्छ्याउने काम सक्नै लाग्दा वितरण प्रणालीलाई आधुनिक बनाउन प्रक्रिया पनि अघि बढाएको छ ।

तर, मेलम्चीको पानी आउने समयसम्म आधुनिक प्रणाली जडान भएर त्यसलाई सञ्चालनमा ल्याउने सम्भावना ‘शून्य’ भएको बताउँछन्, निर्देशनालयका प्रमुख तिरेश खत्री ।

‘हामीले स्काडा प्रणालीको लागि टेण्डर गरिसकेका छौं । चार वटा कम्पनीले स्काडा जडान र सञ्चालनको लागि आवेदन दिएका छन्,’ खत्री भन्छन्,‘टेण्डर मूल्यांकन गर्न बाँकी नै छ ।’

उनकाअनुसार कम्पनी छानेर सम्झौता भएपछि ठेकेदारले ‘स्काडा’ सिस्टम जोडिसक्न २ वर्ष लगाउनेछ । यो काम सक्न करिब ६५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

स्काडा प्रणाली जडानका लागि भारतका दुई तथा चीन र जापानका एक/एक कम्पनीले टेण्डर हालेका छन् । कम्पनी छनोट लगत्तै स्काडा प्रणाली जडान र व्यवस्थापनको काम सुरु हुने खत्री बताउँछन् ।

केयूकेएलका अध्यक्ष धनिराम शर्मा पनि सुरुवातमा मेलम्चीको पानी वितरण पूर्ण रुपमा मानवीय जनशक्तिकै भरमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।

‘मेलम्चीलाई करिब २ वर्षसम्म हामीले मेनुअल्ली नै चलाउनुपर्छ । अटोमेटिक सिस्टम तयार नभएसम्म पुरानै प्रविधिमा पानी वितरण हुन्छ’, शर्माले भन्छन्,‘आधुनिक प्रणाली जोडिएपछि वितरणमा सहजता आउँछ ।’

उपत्यकामा खानेपानी वितरण एवम् व्यवस्थापनको काम केयूकेएलले नै गरिरहेको छ । मेलम्ची आएपछि कस्ता–कस्ता क्षेत्रमा कति जनशक्ति चाहिन्छ भनेर निर्देशनायले अध्ययन पनि गरिरहेको छ ।

उसले पानी वितरण सञ्जालको सञ्चालनका लागि चाहिने संयन्त्र र मर्मत तथा सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा प्रविधिबारे पनि अध्ययन गरिरहेको हो ।

‘मेलम्ची आउनुअघि नै यो अध्ययन सकेर आवश्यक व्यवस्थापन गरिसक्छौं,’ खत्री भन्छन्,‘ पानी आएपछि त्यसको प्रभावकारी वितरण र सेवा प्रवाहका लागि के–के गर्ने भनेर कार्ययोजना पनि बनाउँछौं ।’

सँगै स्काडा प्रणाली जडानअघि आउनसक्ने समस्याबारे पनि केयूकेएलले सोच–विचार गरिरहेको खत्रीको भनाइ छ । मेलम्ची आयोजनामा लगानी गरेको एसिसाली विकास बैंक (एडीबी)ले नै स्काडा प्रणाली जडानका लागि सहयोग गरेको हो ।

स्काडा स्वचालित (अटोमेटिक) पानी वितरण प्रणाली हो । जुन कम्युटरबाट निर्देशित हुन्छ । यसका लागि छुट्टै कन्ट्रोल रुम तयार गर्नुपर्छ । कन्ट्रोल रुमबाट नै मेलम्चीबाट कति पानी आयो, कति प्रशोधन भइरहेको छ, कुन पाइपलाइनमार्फत कति प्रणालीमा वितरण भइरहेको छ र कुन ट्याकंमा कति पानी छ भन्ने लगायतका रेर्कड अटोमेटिक हेर्न सकिन्छ । र, त्यसैका आधारमा वितरणलाई नियन्त्रण गर्न सकिन्छ ।

अहिले जडान गर्न लागिएको स्काडा सिस्टमले विभिन्न स्थानका रिजभ्र्वायर ट्यांकबाट जाने प्राथमिक पाइपसम्मलाई ट्रयाक गर्न सक्छ । सेकेण्डरी पाइपलाइन र वितरण पाइपलाइनलाई भने अहिले नै स्काडा सिस्टममा लान नसकिने प्रमुख खत्रीले बताउँछन् ।

‘ट्यांकीबाट हुने वितरणलाई यसले अटोमेटिक गर्छ । तर, ग्राहककको घरसम्मैको वितरण सञ्जाललाई यसले समेट्दैन,’ उनी भन्छन्,‘तर, स्काडा लागेपछि वितरण प्रणालीको अवस्था एउटै कक्षमा बसेर हेर्न र नियन्त्रण गर्न सकिने भएकाले यो निकै प्रभावकारी हुनेछ ।’

यो प्रणाली नेपालका लागि पहिलो भने हैन । रुपन्देही र नवलपरासीका स्थानीय खानेपानी आयोजनाले यसको प्रयोग गरिसकेका छन् । स्काडा सिस्टमलाई ग्राहककको धारासम्म नै ट्रयाक गर्ने गरी जडान पनि गर्न सकिन्छ ।

तर, केयूकेएललले अहिले मुख्य वितरण लाइनमा मात्रै यसलाई प्रयोग गर्ने र यो सफल भएपछि अर्को चरणमा मिटर रिडिङसम्म पनि कम्प्युटराइज्ड नै हुने गरी जडान गर्ने लक्ष्य लिएको छ । स्वचालित मिटर महंगो पर्ने भएकाले अहिले नै उपभोक्तामाथि आर्थिक भार नथोपर्ने पक्षमा केयूकेएल छ ।

धारासम्मकै वितरण प्रणालीमा स्काडा लगाउने हो भने काठमाडौंमा पानी वितरणका लागि ४ सय कर्मचारी पनि बढी हुने खानेपानी मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।

मेलम्चीका लागि अहिले महाँकालचौर, बाँसबारी, पानीपोखरी, बालाजु, खुमलटार, आरुबारी, कीर्तिपुर, कटुञ्जेमा र भक्तपुरमा रिजभ्र्वायर ट्यांक बनाइँदैछ । अहिले सञ्चालनमा रहेका ट्यांकीसहित नयाँ सबैमा यो आधुनिक प्रणाली जडान हुनेछ । ३१ क्षेत्र र ८३७ एकाइमा विभाजन गरेरेर यो प्रणाली जडानका लागि गृहकार्य भइरहेको छ ।

निर्देशनालयले पानी वितरणका लागि ६७० किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने काम अन्तिम चरणमा पुर्याएको छ । अब यो काम १० प्रतिशत मात्रै बाँकी रहेको उसको दावी छ । ६४० किलोमिटरमा पाइप बिछ्याइसकेको पीआईडीले मेलम्ची आउनुअघि नै काम सक्ने दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment