Comments Add Comment

देशभरका ४६ स्थानीय तहको नाम र केन्द्र हेरफेर (सूचीसहित)

जाति, संस्कृति र नदी सभ्यताका आधारमा नाम फेरिए


११ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएको एक वर्ष नपुग्दै विभिन्न ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । सम्बन्धित स्थानीय तहको निर्णय र सिफारिसका आधारमा मन्त्रिपरिषदले स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र हेरफेर गरिएको स्थानीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

२३ वटा स्थानीय तहको नाम परिवर्तन भएको छ भने ३७ स्थानीय तहको केन्द्र परिवर्तन भएको छ । हिमाली जिल्ला मनाङका ५ मध्ये ४ गाउँपालिकाको नाम परिवर्तन भएको छ । धेरैजनसो स्थानीय तहको नाम जातीय, सांस्कृतिक र नदी सभ्यताका आधारमा हेरफेर गरिएको पाइएको छ ।

नाम परिवर्तन भएका गाउँपालिकामा ताप्लेजुङको याङवरक, धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि छन् । त्यस्तै सुनसरीको भोक्राहा, हरिनगर, सोलुखुम्बुको दूधकौशिका, खोटाङको लामिडाँडा, रामेछापको लिखु गाउँपालिको नाम पनि हेरफेर भएको छ ।

धादिङको नेत्रावती, नुवाकोटको मेघाङ, रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको नाम पनि परिवर्तन भएको छ । मनाङको नेस्याङ, नासोङ र नारफू गाउँपालिकाको नाम पनि हेरफेर भएको छ । मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र र दालोमे गाउँपालिकाको नाम पनि फेरिएको छ ।

त्यस्तै गोरखाको सुलिकोट, भीमसेन, रोल्पाको दुईखोली, सल्यानको कुमाख गाउँपालिकाको नाम हेरफेर भएको छ । सल्यानको ढोरचौर, जाजरकोटको त्रिवेणी नलगाड, बाजुराको पाण्डव गुफा र बझाङको काँडा गाउँपालिकाको नाम पनि फेरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सभाले नाम परिवर्तन गर्न सक्छ । तर, नाम र केन्द्र फेर्ने निर्णयको अनुमोदन स्थानीय विकास मन्त्रालयले गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment