१३ माघ, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले विपद् तथा संकटका समयमा पीडितका लागि राहत सामग्रीका साथमा नगद सहयोग समेत गर्ने नीति अगाडि बढाएको छ ।
विपद् पश्चात् पीडितका लागि नगद सहयोग प्रभावकारी हुनसक्ने भएकाले यसमा सोसाइटीले आफूलाई आर्थिक एवं प्राविधिक सहायता प्रदान गरिरहेका तथा अन्य अन्तर्राष्ट्रिय मानवीय निकायमा कार्यरत संस्थालाई नगद सहयोग बढाउन छलफल समेत अगाडि बढाएको छ ।
विपद् पश्चात् तथा कतिपय अवस्थामा पूर्वतयारीको लागि सहायता एजेन्सीहरुले प्रायः सामग्रीगत सहयोग गरिआएकोमा नगद वितरणको माध्यमबाट मितव्ययी तथा सरल सहयोग गर्न सकिने बताइएको छ ।
यसैबीच, नगद प्रवाह कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक ढाँचा र कार्यविधि तयार गर्ने उद्देश्यका साथ सोसाइटीद्वारा आयोजित तीन दिने छलफल कार्यक्रम आज सम्पन्न भएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बजारको अवस्था, जोखिमको अवस्था र संस्थाको क्षमतालाई ध्यान दिई सामग्रीगत सहयोगको क्षमता सँगसँगै नगद सहयोगको क्षमता पनि अभिवृद्धि गर्न सोसाइटीले नीतिगत निर्णय गरेको जानकारी दिए ।
कार्यक्रममा सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकालले विसं २०७२ को भूकम्पपछि आकस्मिक राहत, आवास निर्माण र मौसमी सहयोगस्वरुप नगद प्रवाह भएको जानकारी दिनुभयो । विपद् व्यवस्थापन विभागका प्रमुख धर्मराज पाण्डेले राहत सामग्रीका साथमा नगद प्रवाह प्रभावकारी रहने जानकारी दिए ।
सोसाइटीका उपाध्यक्ष अजीतकुमार शर्माले नगद सहयोगको विस्तारको लागि विस्तृत कार्यान्वयन योजनाको मस्यौदा तयार भएको चर्चा गर्दै यसका लागि साझेदारहरुको सहभागिता बढाउँदै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र ब्रिटिश रेडक्रसले स्थानीयस्तरमा नगद सहायता वितरण गर्न सोसाइटीका स्वयंसेवकको सीप तथा क्षमता अभिवृद्धि गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने जनाएका छन् ।
प्रतिक्रिया 4