Comments Add Comment

काठमाडौँको चक्रपथभित्र एक्लो सामुदायिक वन

१४ माघ, काठमाडौँ । रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वन बनेको छ ।

पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक गरी दुई वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि रानीबारी सामुदायिक वन एक्लो सामुदायिक वन भएको हो । काठमाडौँ जिल्लामा १४४ सामुदायिक वन रहेकामा चक्रपथभित्र भने एक मात्र सामुदायिक वन रहेको छ ।

काठमाडौँ महानगरपालिका–३ लाजिम्पाट र सामाखुसी छेउमा रहेको सो वन ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । परम्परादेखि नै राजाहरुको दिवाली हुने वनका रुपमा रहेको रानीबारी विसं २०५७ पुस १० गते जिल्ला वन कार्यालय काठमाडौँमा दर्ता भई सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुँदै आएको हो ।

काठमाडौँको बढ्दो जनसंख्यासँगै वन क्षेत्र मासिँदै गएको अवस्थामा रानीबारी सामुदायिक वन नमूना वनका रुपमा विकास हुँदै गएको छ । रानीबारीका ३९ घरधुरीले उक्त वनकोसंरक्षण गर्दै आएका छन् ।

रानीबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोषविक्रम शाह राजधानीको मध्यभागमा रहेको वनलाई संरक्षण गरी नमूना वनका रुपमा विकास गर्न विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको बताउँछन् ।  “यो वनमा पन्छी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवन बनाएकाले उनीहरुको वासस्थानका लागि कपुर, जामुन, बर्रोलगायतका बोटबिरुवा रोपेका छौँ”, उनले भने ।

स्वच्छ हावापानी र खुला स्थान भएकाले सो वन प्रातःभ्रमण गर्ने महत्वपूर्ण स्थानका रुपमा समेत विकास हुँदै गएको छ । सो वनमा हिउँदमा दैनिक ८०० देखि एक हजार र जाडामा ३०० देखि ५०० व्यक्ति प्रातःभ्रमणका लागि आउने गरेको अध्यक्ष शाहले बताए ।

वनको बीच भागमा रानीदेवी माताको मन्दिर भएकाले मानिसहरु देवीको दर्शनका लागि समेत जाने गरेका छन् । एकाबिहानै खुल्ने वनमा बिहान ९.३० बजेसम्म निःशुल्क प्रवेश र ९.३० देखि पछाडिकाले रु १० तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

जिल्ला वन कार्यालय काठमाडौँका प्रवक्ता गुरुप्रसाद दाहाल रानीबारी वनमा किरियापुत्री भवन निर्माण गर्नका लागि स्थानीयवासीले जिल्ला वन कार्यालयमा पटक पटक दबाब दिएको बताउँछन् ।

“चक्रपथभित्र सानो क्षेत्रमा रहेको वनमा अनावश्यक भौतिक संरचना बनाउँदा यो वनको अस्तित्व नै समाप्त हुने डरले हामीले किरियापुत्री भवन निर्माणका लागि स्वीकृति नदिएका हौँ”, उनले भने ।

उक्त वनमा उपभोक्ता समिति र नेपाल पक्षी संरक्षण संघको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना गरिएको छ । केन्द्रको स्थापनासँगै स्वदेशी तथा विदेशी चरा अध्ययन गर्न सजिलो भएको छ । रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment