
१४ माघ, काठमाडौं । पार्टी एकता प्रक्रियामा अन्योल बढिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड तीन दिनदेखि सघन छलफलमा छन् ।
शुक्रबार साँझ बालकोटमा सुवास नेम्वाङ नेतृत्वको संयुक्त कार्यदलको ब्रिफिङ सुनेपछि एक्लाएक्लै बस्ने भनेर बालकोटबाट बाहिरिएका दुई नेताहरु राति अबेरमात्रै निवासमा फर्किएका थिए ।
शनिबार आ-आफ्ना कार्यक्रममा व्यस्त रहेका दुबै नेता आइतबार बिहानदेखि पुनः वान टु वान वार्तामा छन् । यसपटक दुवै नेताले वार्तास्थल निवासभन्दा अन्यत्रै रोजेका छन् । दुई नेताको संकेत आउने बुझेरै बिहान ११ बजे तय भएको मुख्यमन्त्री बाँडफाँड सम्बन्धी कार्यदलको बैठक अपरान्ह ३ बजे सरेको थियो ।
दुई नेताबीचको छलफलको विषय अरु कसैलाई जानकारी हुन छाडेको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताए ।
दुबै पार्टीका नेताहरुले अध्यक्षद्वय पार्टी एकताको सन्दर्भमा सघन छलफलमा जुटेको बताए पनि छलफलको अपडेट थाहा नभएको बताएका छन् ।
माओवादी नेताहरुले पार्टी अध्यक्ष प्रचण्डले नपाए एकता नहुने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला दुई नेताबीच तीन दिनदेखि चलिरहेको छलफल महत्वपूर्ण मानिएको छ । ‘पछिल्ला वार्तामा भएका कुरा अध्यक्षले हामीसँग पनि शेयर गर्नुभएको छैन’ ओली निकट एक एमाले पदाधिकारीले अनलाइनखबरसँग भने ।
सरकार गठनअघि नै पार्टी एकता गर्ने पक्षमा प्रचण्ड र विशेष गरी माओवादी पंक्तिका नेताहरु देखिएका छन् । एमालेको संस्थापन पक्ष पार्टी एकता प्रक्रिया लामो हुने भएकाले एकता र सरकार गठनसँगै अघि बढ्ने प्रतिक्रिया दिइरहेको छ ।
बेला बेलामा यही कारण पार्टी एकताप्रति दुवै पंक्तिबाट संशय उत्पन्न हुने गरेको छ ।
प्रचण्डले मान्लान् त सहअध्यक्ष ?
पार्टी कहाँ के कारणले लम्बियो भन्नेबारेमा दुवैले प्रष्ट जवाफ दिएका छैनन् । माधव नेपालनिकट एक एमाले नेताले भने- मुख्य कुरा एकीकृत पार्टीको अध्यक्ष आफैं रहने ओलीको चाहना र पार्टी एकतापछि अध्यक्ष पाउनुपर्ने प्रचण्डको आकांक्षाका कारण पार्टी एकताको भविष्य ओली र प्रचण्डकै हातमा निर्भर छ ।
उनका अनुसार ओलीले प्रचण्डलाई सहअध्यक्षमा मनाउन सक्छन् । तर, माओवादीभित्रबाट सहअध्यक्षमा ओलीसँग सम्झौता नगर्न प्रचण्डलाई दबाव छ । ओलीले आफू अध्यक्ष र प्रचण्ड सहअध्यक्ष हुने गरी एकता गर्ने र कार्यवाहक अध्यक्ष प्रचण्डलाई दिएर सरकार चलाउने विकल्प दिएका छन् ।
‘एमाले माओवादीबीच चुनावमा ६०/४० को बाँडफाँट भयो । जनताले एमालेलाई ७० र माओवादीलाई ३० प्रतिशतको हैसियत दिए । पार्टी एकता पनि त्यही स्पिरिटमा हुनुपर्छ, ७० प्रतिशत शक्ति भएको पार्टीले अध्यक्ष ३० प्रतिशतलाई दिने कुरा त्यति व्यवहारिक नहोला’ एमालेका एक नेताले भने ।
अनलाइनखबरसँगको अन्तर्वार्तामा एमाले नेता सुरेन्द्र पाण्डेले पनि यही आशय व्यक्त गरेका थिए । तर, पार्टी एकता भाँडिने अवस्थामा प्रचण्डलाई अध्यक्ष दिएर भने पनि वाम गठबन्धन टुट्न दिनुहुँदैन भन्ने मत एमालेमा बलियो छ । तर, त्यसो गर्दा केपी ओली प्रधानमन्त्री र सर्वोच्च नेताका रुपमा रहनुपर्ने कतिपय एमाले नेताहरु बताउँछन् ।
यद्यपि ओलीले सार्वजनिकरुपमा पार्टीको अध्यक्ष पद आफूले नै लिने वा प्रचण्डलाई दिनेबारे अहिलेसम्म केही बोलेका छैनन् ।
ओली र प्रचण्डबीच पछिल्ला गोप्य एवं एकल संवादलाई दुवै पार्टीभित्र निर्णायक वार्ताका रुपमा हेरिएको छ । सरकार गठनपछि पार्टी एकता गर्ने कुराले झनै आशंका र अविश्वास पैदा गर्ने भएकाले कम्तिमा नेतृत्वको मोडलबारे अहिले नै टुंगो लगाउनुपर्ने पक्षमा प्रचण्ड छन् ।
एमाले-माओवादी एकताका सन्दर्भमा ज-जसले जे भने पनि ओलीले प्रचण्डलाई कतिमा मनाउन सक्छन्, त्यसैमा भर पर्छ । अब दुई पार्टीको एकता ओलीले प्रचण्डलाई कन्भिन्स गर्ने वा उदार भएर उनको अपेक्षा पूरा गर्ने दुई विकल्पमा अडिएको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया 4