१४ माघ, काठमाडौं । शनिबार जब आईपीएलको लिलामी सुरु भयो, सबैको ध्यान वेष्ट इण्डिजका क्रिस गेलमा थियो । टी-२० का अधिकांश रेकर्ड आफ्नो नाममा लेखाइसकेका उनलाई कुन टिमले किन्ला उत्सुकता थियो ।
तर, जसरी क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ, लिलामीमा पनि गेलसँग त्यस्तै भयो ।
अक्सन सञ्चालकले चौथो नम्बरमा नै उनको नाम लिएका थिए तर, कुनै पनि फ्रेन्चाइज टिमले बोली लगाएनन् ।
के यसको कारण बेस प्राइस थियो ? यो हुन सक्दैन । उनको बेस प्राइस २ करोड भारु थियो र स्मरणीय के छ भने बेन स्टोकलाई राजस्थान रोयल्सले साढे १३ करोडमा किन्यो । मनीष पाण्डेय र केएल राहुल पनि ११/११ करोमा विके ।
त्यसो भए आईपीएलको ११ औं संकरण गेलबिना हुने वाला थियो ?
गेल ३९ वर्षका भए र दोस्रो लिलामीमा पनि बोली नलागेका उनका लागि अर्को लिलामी चल्यो र प्रीति जिन्टाको किंग्स इलाभेन पञ्जाबले २ करोडमा किन्यो ।
उसो त रोयल च्यालेन्जर्स बैंग्लोरमा उनको इन्ट्री पनि यस्तै नाटकीय रुपमा भएको थियो ।
२०११ मा गेलको नाम लिलामीमा थियो । तर, कुनै पनि टिमले बोली लगाएनन् । तर, बैंग्लोरका डिर्क न्यान्स घाइते भएपछि उनको स्थानमा गेललाई खेलाइयो ।
त्यहीबाट उनले आक्रामक पारी खेले र २०११, ०१२ र २०१३ मा ६००/६०० बढी रन बनाए ।
२०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक हान्दै सबैभन्दा कम बलमा शतकको रेकर्ड बनाए ।
आईपीएलमा छक्का हान्ने मामिलामा पनि उनी अगाडि छन् । उनले अहिलेसम्म २६५ छक्का हानेका छन् । उनलाई पछ्याइरहेका सुरेश रैनाले १७३ छक्का हानेका छन् ।
यो मात्र होइन, आईपीएलमा सबैभन्दा धेरै १७५ रनको व्यक्तिगत स्कोर पनि गेलकै नाममा छ ।
आईपीएलको १०१ खेलमा गेलले ४१ भन्दा बढीको औसतमा ३६२६ रन बनाएकबा छन् र उनको स्ट्राइक रेट १५१ छ । यद्यपी उनले पछिल्ला अन्तराष्ट्रिय खेलहरुमा आफ्नो टिमका लागि उल्लेख्य योगदान गर्न सकिरहेका छैनन् ।
गेलले आईपीएलको २००८ बाहेकका प्रत्येक सिजनमा क्रिकेट प्रेमीलाई मनोरञ्जन दिँदै आएका छन् ।
प्रतिक्रिया 4