‘खोजी नगर्दा नेपालमा भित्रभित्रै कुष्ठरोगी बढे’
काठमाडौं । कुनै बेला नेपाली समाजमा कुष्ठरोगीलाई हेय दृष्टिले हेरिन्थ्यो । उनीहरुलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गरिन्थ्यो । त्यही कारण कुष्ठरोग लागेपनि धेरैले त्यो रोग भित्रभित्रै लुकाउने गरेका थिए ।
अहिले कुष्ठरोग सम्बन्धिको पुरातन धारणा फेरिएको छ । तर, रोगीको अवस्था भने फेरिएको रहेनछ ।
हालै सार्वजनिक एक तथ्यांकले कुष्ठरोगी बढ्दो क्रममा रहेको देखाएको छ । नेपालमा हाल कुष्ठरोगबाट प्रभावित हुनेका संख्या दुई हजार ६१९ रहेकोमा नयाँ रोगी थपिनेको संख्या तीन हजार २१५ रहेको छ । त्यसैगरी, कुष्ठ रोगका कारण अपांगता हुनको संख्या करिब ३३ हजार अनुमान गरिएको छ ।
नेपालमा कुष्ठ रोगबाट संक्रमित हुनेमा तराईका १७ जिल्ला रहेकोमा ती जिल्लाहरुमा प्रति हजार एक प्रतिशत भन्दा बढी संक्रमित रहने गरेको जनाएको छ ।
त्यसैगरी, गत आर्थिक वर्ष करिब छ सयको हाराहारीमा कुष्ठरोगबाट प्रभावित भारतीयहरुले नेपालमा आएर उपचार गरेको समेत महाशाखाको तथ्यांकमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनले कुष्ठ रोगलाई शुन्यमा झार्न कुष्ठरोग निवारणको अवधारणा अघि सारेको थियो ।
उक्त अवधारणा अनुसार संगठनले सन् २०२० सम्ममा विश्वबाटै कुष्ठ रोग एक प्रतिशत भन्दा कममा झार्ने लक्ष्य लिएको थियो । नेपालले पनि उक्त लक्ष्य अनुसार सन् २०१० मा नै नेपालबाट कुष्ठ रोग निवारण भएको घोषणा गरेको थियो ।
नेपालमा कुष्ठरोग रोगमात्र नभएर समस्या पनि भएकोले यसलाई चाहेर पनि निमूल पार्न नसकेको स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक डा. मोहम्मद दाउदले बताए ।
उनले भने ‘कुष्ठरोग निवारण गर्नकै लागि नेपालमा वर्षेपिच्छे कार्यक्रम हुने गरेको छ । तर कुष्ठरोगलाई लिएर मानिसको सोचाइमा परिवर्तन नहुदाँ सरकारी पहलले मात्र चाहेर पनि त्यस्ता व्यक्तिलाई स्वस्थ राख्ने अवस्थामा हामी रहेनौ’ ।
उनले एकमात्र बहुऔषधी सेवनले पनि ९९.९ प्रतिशत किटाणु निस्कृय भई रोग अरुलाई नसर्ने हुदाँ देशभरका करिब चार हजार स्वास्थ्य सेवामा निशुल्क पाइने कुष्ठ रोगको औषधी सेवन गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग, एड्स तथा यौन रोग महाशाखाका निर्देशक तथा कुष्ठरोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. वासुदेव पोण्डेले नेपालमा कुष्ठरोगीहरुको संख्या पहिचान भइरहेका कारण अबको दुई तीन वर्ष नेपालमा कुष्ठरोगबाट प्रभावित हुनेको संख्या क्रमश बढ्ने जानकारी दिए ।
उक्त घोषणासँगै कुष्ठरोगको क्षेत्रमा काम गर्ने दातृ निकाय तथा अर्थ मन्त्रालयले कुष्ठ रोगको क्षेत्रमा दिएको बजेट कम गर्न थाल्यो ।
परिणामस्वरुप, नेपालमा कुष्ठरोगबाट प्रभावित हुनेहरुको खोजी त हुन्थ्यो । तर उक्त खोजी दीर्घकालीन नहुदाँ प्रभावितहरु गाउँगाउमा लुकेेर बस्न बाध्य हुन्थे ।
‘यही सोचेर हामीले नेपालमा कुष्ठरोग सम्बन्धि कार्यक्रमलाई पुन निरन्तरा दियौ’, स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक तथा कुष्ठरोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक चूडामणि भण्डारीले भने,’ त्यही कार्यक्रमलाई निरन्तरता दिने क्रममा नेपालमा कुष्ठरोगीहरुको संख्या बढ्दै गएको पाइएको छ’ ।
विश्व स्वास्थ्य संगठनको सोही अवधारणा अनुसार कुष्ठरोगीहरुमा गरिने भेदभाव हटाउनेे कानून नराख्न समेत सम्बन्धित राष्ट्रहरुलाई अनुरोध गरेको छ । तर नेपालको मूलूकी ऐनको विवाह सम्बन्धि महलमै कुष्ठरोग लागेकाहरुसित विवाह नगर्न नगराउन भनिएको छ ।
‘विश्व स्वास्थ्य संगठनको अवधारणा अनुसार उक्त वाक्य आफैमा विभेदाकारी भएकोले हामीले कुष्ठरोगीको पहिचान गर्ने मात्र नभई उक्त वाक्य हटाउन समेत पहल गरिरहेका छौ’ । निकट भविष्यमै उक्त वाक्यलाई समेत हटाएर उक्त कुष्टरोगबाट प्रभावितहरुलाई गरिएको विभेद समेत अन्त्य गरिने उनल बताए ।
के हो कुष्ठ रोग ? कसरी हुन्छ ?
आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्रे नामक शुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने सरुवा रोग नै कुष्ठरोग हो । यो रोग लागेमा यसले छाला तथा स्नायूलाई असर पार्ने गर्छ । यो रोग लागेमा छाला रातो हुने तथा छालामा हल्का फुस्रो दाग देखिने गर्छ । त्यसैगरी अनुहारको छाला बाक्दलो हुने, गिर्खाहरु देखा पर्ने, स्नायूमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नपाउने हुन्छ । साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनाले मांशपेशीहरु कमजोर हुने गर्छ ।
यो रोग लागेमा कुष्ठरोगलाई चिन्ह र लक्षणको आधारमा दुई प्रकारले विभाजन गरी उपचार गर्न सकिन्छ । कम किटाणु भएमा पौसी व्यासिलेरीलमई छ महिनासम्म र बढी किटाणु भएमा मल्टिव्यासिलरिलाई १२ महिनासम्म नियमित औषधी खुवाएर पनि औषधी गर्न सकिन्छ । नेपालमा हाल बहु औषधीद्धारा उपचार पूरा गर्नेको संख्या झण्डै एक लाख ८० हजारको हाराहारीमा रहेको छ ।
प्रतिक्रिया 4