१५ माघ, काठमाडौं । संघीय संरचना अनुसार अब बन्ने प्रादेशिक मन्त्रालयहरुमा स्वास्थ्यका कर्मचारीलाई सचिव पदमा नराखेको भन्दै स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीहरुका पेशागत संगठनले विरोध गरेका छन् ।
उनीहरुले प्रदेश संरचनाअन्तर्गत अब बन्ने स्वास्थ्यका मन्त्रालयहरुमा स्वास्थ्यकै कर्मचारीलाई सचिव हुन पाउने व्यवस्था गर्न स्वास्थ्य सचिव डा. पुष्पा चौधरीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ्ग संघ, नेपाल जनस्वास्थ्य संघ, स्वास्थ्य प्रबद्र्धन तथा शिक्षा संघ, नेपाल, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद संघ, नेपाल फार्मेसी संघ, नेपाल मेडिकल ल्याबोरेटरी संघले संयुक्त रुपमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई भेटेर उक्त ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउने क्रममा स्वास्थ्यकर्मीहरुको पेशागत संगठनले गत बुधवार मन्त्रीपरिषदको बैठकले सातवटा प्रदेशका स्वास्थ्य शिक्षा तथा सामाजिक विकास मन्त्रालयहरुमा स्वास्थ्यका कर्मचारीहरु सचिव नहुने गरी गरेको निर्णयले स्वास्थ्यका कर्मचारीहरुको मनोबल खस्किएको र उनीहरुको मनोबल गिरेको भन्दै उक्त निर्णय सच्याउन समेत माग गरेका छन् ।
स्वास्थ्यकर्मीहरुका आठ कर्मचारी संगठनहरुले स्वास्थ्य क्षेत्रमा करिब ४०० सहसचिव तथा ३८ हजारभन्दा बढी स्वास्थ्यका कर्मचारी रहेको जिकिर गर्दै उक्त निर्णयले मनोबल गिर्ने भन्दै त्यसतर्फ स्वास्थ्य सचिवको ध्यानाकर्षण गराए ।
यसअघि सरकारले स्वास्थ्यका मन्त्रालयहरुमा चारजना स्वास्थ्यतर्फका तथा तीन जना शिक्षातर्फका सचिव राख्न प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया 4