काठमाडौं । ‘रेशम फिलीली’ फिल्ममा समावेश ‘पारी त्यो डाँडामा…’ बोलको गीतले बेजोड चर्चा पायो । तर, यो गीतका रचनाकार मानसराज भने ओझेलमै रहे ।
उनै मानसराज यतिबेला गीत-संगीतप्रेमी दर्शक-स्रोताका लागि चासोको विषय बनेका छन् । किनकी उनको नयाँ गीत ‘भाइरल भयो’ अहिले बजारमा साँच्चै भाइरल भएको छ ।
मानसराजकै शब्द, संगीत र स्वर रहेको भिडियोलाई युट्युवमा एक करोडभन्दा बढी पटक हेरिएको छ । आफ्नो गीतलाई दर्शकले यति धेरै मन पराइदिएकोमा उनको खुशीको सीमा छैन ।
मानसराज प्रारम्भमा गीतकार थिए । कुनै वेलाका चर्चित गायक मोहन भुषालसँग नजिक रहेका उनको गीतमा १० वर्ष अगाडी मोहन भुषालले स्वर भरेका थिए । अन्य गायक गायिकाले पनि थुप्रै गीत गाएका छन् । तर, सबैभन्दा धेरै चर्चा पायो चलचित्र ‘रेशम फिलीलीको पारी त्यो डाँडामा…बोलको गीतले ।
स्कुल पढ्दैताका गीत, कविता लेख्ने गरेका मानसराज पछिल्लो समय कविता कम गीत धेरै लेख्छन् । गीत लेख्न थाल्दाताका उनै गायक भुषाललाई देखाउथें । त्यही क्रममा भुषालले ‘माया माया…’ बोलको गीतमा स्वर दिए ।
हेमन्त राना, सनुप पौडेल लगायतले पनि उनको गीतमा स्वर दिएका छन् । अब उनी शब्दमा मात्रै केन्द्रित छैनन् । गाउने र संगीत भर्ने काममा समेत सक्रिय हुन थालेका छन् । भन्छन् ‘अब म संगीतका सबै विधामा सक्रिय हुन्छु ।’
यसो भन्दैमा उनी जस्तोसुकै गीत भने नगाउने बताउँछन् । उनलाई थाहा छ, अहिले बजारमा प्रतिस्पर्धा छ र दर्शकहरु सचेत छन् । दर्शकको भावना अनुसार अघि बढ्ने योजना छ उनको ।
प्रतिक्रिया 4