+
+
Shares

६८ अर्ब पुँजी वृद्धि हुँदा बैंकहरुको नाफा दुई अर्बले बढ्यो

विजयराज खनाल विजयराज खनाल
२०७४ माघ १५ गते १७:३४

 

१५ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ५० प्रतिशतले बढ्दा नाफाको वृद्धिदर भने १० प्रतिशतमा सीमित भएको छ ।

सञ्चालनमा रहेका २८ मध्ये २७ वाणिज्य बैंकको चालु आवको दोस्रो त्रैमासिक (पुससम्म)मा कुल नाफा नौ दशमलव ९१ प्रतिशतले बढेर २२ अर्ब २९ करोड रुपैयाँ पुगेको हो । गत वर्षको पुससम्ममा यस्तो नाफा २० अर्ब २८ करोड रुपैयाँ थियो । प्राइम कमर्सियल बैंकले भने वित्तीय विवरण प्रकाशित गरेको छैन ।

‘चुक्ता पुँजीको वृद्धिदरअनुसार नाफाको वृद्धि निकै कमजोर देखिन्छ । अहिले बैंकहरुमा कर्जायोग्य पुँजी अभावको समस्या अझै हटेको छैन । यसले समग्र वर्षको नाफा पनि प्रभावित हुने उच्च सम्भावना छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले भने ।

बैंक तथा वित्तीय संस्थाहरुमा समीक्षा अवधिमा मात्रै ६८ अर्बले पुँजी थपिएको छ । यसमा कृषि विकास बैंकको साधारण सेयरको मात्र हिसाब लिइएको छ । नाफा भने दुई अर्ब रुपैयाँले मात्र बढेको हो ।

बैंकको प्रतिफल घट्दै

समग्रमा बैंकहरुको सेयरमा प्रतिफल ४२ प्रतिशतले घटेको देखिन्छ । औसतमा मात्रै एक दशमलव ५५ले यो दर घटेको हो । संस्थागत आधारमा हेर्ने हो भने आठ वटा संस्थाको मात्रै प्रतिफल घटेको छ ।

बैंकमा लगानी गर्ने सेयरधनीको पुँजीको तुलनामा नाफादरको अवस्था आरओईले देखाउँछ । यो सूचकलाई बैंकहरुको मुनाफादर हेर्न प्रयोग गरिन्छ ।

सात वटाको नाफा वृद्धिदर ऋणात्मक, नौंको अर्बमाथि

दोस्रो त्रैमासिकमै २७ मध्ये सात बैंकको नाफाको वृद्धिदर ऋणात्मक भएको छ । प्रभु, एनआईसी एसिया, माछापुच्छ्रे, नेपाल बंगलादेश र नेपाल बैंकको नाफाको वृद्धिदर १० देखि ४३ प्रतिशतसम्म ऋणात्मक देखिएको हो ।

नौं बैंकले नाफा अर्बभन्दा माथि पु¥याउन सफलता पाएका छन् । नबिल, नेपाल इन्भेस्टमेन्ट, राष्ट्रिय वाणिज्य, नेपाल, एभरेस्ट, हिमालयन, कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबी बैंकको नाफा अर्बभन्दा माथि छ ।

कृषि विकास बैंकले भने खराब कर्जाका लागि छुट्याएको करिब ९१ अर्ब रुपैयाँ फिर्ता ल्याएपछि नाफामा उच्च वृद्धि देखिएको हो । नौ वटा वाणिज्य बैंकको सञ्चालन मुनाफाको वृद्धिदर पनि घटेको छ ।

तीन महिनामा चार खर्ब ४० अर्बले बढाए कर्जा

बैंकहरुले कर्जायोग्य पुँजी अभाव रहेको बताउँदै आए पनि तीन महिनामा चार खर्ब ४० अर्बले कर्जा लगानी बढाएका छन् । गत असोजसम्ममा १४ खर्ब आठ अर्ब कर्जा लगानी गरेका बैंकहरुले पुससम्ममा १८ खर्ब ४९ अर्ब रुपैयाँ पु¥याएका छन् ।

‘अब भने बैंकहरुलाई कर्जा लगानी विस्तार गर्न समस्या हुने देखिन्छ,’ सानिमा बैंकका सीईओ दाहालको स्पष्टोक्ति छ ।

गत तीन महिनामा बैंकको निक्षेप भने तीन खर्ब ९९ अर्बले बढेर २१ खर्ब ४३ अर्ब पुगेको थियो । गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा भने निक्षेप १५ र कर्जा २० प्रतिशतले बढेको देखिन्छ । बैंकहरुको गत आवमा १८ खर्ब निक्षेप संकलन र १५ अर्ब कर्जा लगानी थियो ।

हाल १० वटा बैंकको निक्षेपको तुलनामा कर्जा अनुपात (सीडी) रेसियो ८९ देखि ९८ सम्म छ । तर, प्राथमिक पुँजीसहितको अनुपात (सीसीडी) नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशतकै सीमाभित्र देखिएको छ । आगामी दिनमा निक्षेप नबढाई कर्जा लगानी गर्न सक्ने अवस्था भने कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?