अमेरिकाको न्यूयोर्कका एक मुख्य अभियोजकले सोसल मिडियामा कथित रुपमा नक्कली फलोअर बेच्ने एक कम्पनीमाथि छानविनको प्रक्रिया सुरु भएको बताएका छन् ।
अभियोजक एरिक स्न्याइडरम्यानका अनुसार न्युयोर्कमा छद्म रुप धारण गर्नु तथा धोका दिनु अपराध हो ।
न्युयोर्क टाइम्सका अनुसार देवूमी नामको कम्पनीमाथि लाखौँ वास्तविक मानिसको पहिचान चोरेको आरोप छ ।
यद्यपि, कम्पनीले भने आरोप अस्विकार गरेको छ ।
शनिबार न्युयोर्क टाइम्समा उक्त कम्पनीका बारेमा विस्तृत रिपोर्ट प्रकाशित भएको थियो । रिपोर्टले उक्त कम्पनीले चोरी गरेका ट्वीटर अकाउन्टका जानकारी तथा प्रोफाइल तस्वीरका वास्तविक अकाउन्ट धनीहरुलाई पनि प्रस्तुत गरिएको थियो । त्यस जानकारीबाट कम्पनीले वास्तविक जस्तै देखिने नक्कली प्रयोगकर्ता बोट तयार गर्दथ्यो ।
बोट भनेको त्यो कम्प्युटर प्रोग्राम हो जुन स्वचालित हुन्छ । यसले स्वचालित रुपमा ट्विट, रिट्विट तथा शेयर जस्ता कामहरु निरन्तर सजिलैसँग गरिरहन्छ ।
समाचार अनुसार, जो मानिस सोसल मिडियामा आफ्नो फलोइंग तथा लोकप्रियता बढाउन चाहन्छन् उनीहरुले कम्पनीलाई रकम तिरेर यस्ता बोटको सेवा खरीद गर्दछन् ।
यस्तो सेवा लिनेमा कलाकार, राजनेता तथा उद्योगपतिहरु रहेका बताइएको छ ।
सोसल मिडियामा फलोअरको संख्यालाई व्यक्ति वा कम्पनीको प्रभावसँग तुलना गर्ने चलन छ । साथै यसबाट जनताको रायलाई समेत प्रभावित गर्न सकिन्छ ।
अभियोजक स्नाइडरम्यानका अनुसार यस्ता गतिविधिबाट लोकतन्त्रमा पनि असर पर्दछ ।
आफ्नो वेबसाइटबाट देवूमीले अढाई लाख सम्म फलोअर बेच्ने दाबी गरिएको छ । मूल्य चाहीँ १२ डलरबाट सुरु हुन्छ ।
फलोअर्स मात्र नभै ट्विटर प्रयोगकर्ताले त्यहाँबट आफ्ना पोष्टमा लाइक तथा रिट्विट पनि खरीद गर्न सक्दछन् ।
ट्विटरमा मात्र होइन यसले लिंक्डइन, युट्युब, साउन्डक्लाउड र पिनट्रेस्टमा पनि फलोअर्स र लाइक्स बेच्ने गरेको छ ।
फर्जी फलोअर्स तथा लाइक र कमेन्टको व्यापार गर्ने यो कम्पनी न्युयोर्कमा दर्ता छ । तर न्युयोर्क टाइम्सले भने यसको कार्यालय फ्लोरिडामा रहेको दाबी ग्रेको छ र कर्मचारीहरुले चाहीँ फिलिपिन्सबाट काम गर्ने ग्रेका छन् ।
ट्विटरले चाहीँ यस्ता कम्पनीहरुको विकृतिलाई रोक्ने दिशामा काम गरिरहेको दाबी गरेको छ । ट्विटरमाथि यस्तो समस्यालाई गम्भीर रुपमा नलिने गरेको आरोप लाग्ने गरेको छ ।
ट्विटरमा अटोम्याटिक अकाउन्ट खोल्न सकिन्छ तर त्यसलाई किनबेच गर्न सकिँदैन ।
फलोअर, लाइक तथा रिट्विट खरीद गर्ने जोकोही अकाउन्टलाई बन्द गरिदिने ट्विटरले चेतावनी छ ।
न्युयोर्क टाइम्सका अनुसार देवूमीसँग ३५ लाख बोट छन् र ती बोटलाई उसले बारम्बार बेच्ने गरेको छ ।
त्यसमध्ये करीब ५५ हजार बोट अकाउन्ट यस्ता छन् जसमा वास्तविक मानिसहरुको तस्वीर तथा ठेगानाको प्रयोग गरिएको छ, जसमा नाबालिक पनि सामेल छन् ।
यो कम्पनीको फलोअर फ्याक्ट्रीबाट लाइक खरीद गर्नेमा कतिपय चर्चित सेलिब्रेटी, राजनेता तथा पत्रकार समेत सामेल रहेको दाबी न्युयोर्क टाइम्सले गरेको छ । बीबीसी
प्रतिक्रिया 4