यो वर्ष सन् २०१८ मा एप्पलले तीनवटा नयाँ आइफोन रिलिज गर्ने दाबी गरिएको छ ।
केजिआई सेक्योरिटिजका विश्लेषक मिंग ची कुओले यस्तो दाबी गरेका हुन् । एप्पल सम्बन्धी निकै प्रभावकारी विश्लेषण तथा भविष्यवाणी गर्नमा चिनिएका कुओले तयार पारेको नयाँ रिसर्च नोटमा यस्तो दाबी गरेका हुन् ।
म्याक र्युमर्स वेबसाइटले कुओको रिसर्च नोट प्राप्त गरेको छ । कुओको रिलिज नोट अनुसार एप्पलले यस वर्ष सार्वजनिक गर्ने तिन नयाँ आइफोन यस्ता हुनेछन्:
६.१ इन्चको एलसिडी डिस्प्ले सहितको आइफोन । यसमा फूल स्क्रिन डिस्प्ले हुनुका साथै ट्रु डेप्थ सेन्सर हुनेछ । यसमा आइफोन एक्समा भएको जस्तै थ्री डी सेन्सिङ टेक्नोलोजी र एनिमोजी सपोर्ट सिस्टम पनि रहनेछ । यो आइफोन आयतकार हुने बताइएको छ । यस आइफोनका मूख्य एसेम्ब्लर्समा ताइबानी कम्पनीहरु पेगाट्रन, फक्सकोन र विस्ट्रोन हुने बताइएको छ ।
जापान डिस्प्ले यस आइफोनको एलसिडी डिस्प्लेको मूख्य उत्पादक हुनेछ । यस आइफोनले कम्पनीले फूल एक्टिभ एलसिडी टेक्नोलोजी सपोर्ट गर्ने बताइएको छ, जुन अत्याधुनिक एलसिडी टेक्नोलोजी हो । एलसिडी डिस्प्लेमा २१६० गुणा १०८० पिक्सेलको रिजोलुसन हुनेछ ।
ओएलइडी डिस्प्लेको साटो फूल एलसिडी डिस्प्लेको प्रयोगका कारण आइफोनको मूल्य तुलनात्मक रुपमा कम हुने दाबी गरिएको छ । साथै स्टेनलेस स्टिलको साटो आल्मुनियमको फ्रेम हुनेछ र क्यामरा पनि सिंगल लेन्स हुनेछ ।
आइफोन एक्सको नयाँ संस्करण र आइफोन एक्स प्लस
एप्पलले थप दुई नयाँ आइफोन पनि ल्याउनेछ । त्यसमा नयाँ पुस्ताको आइफोन एक्स र आइफोन एक्स प्लस रहनेछन् ।
दुबै आइफोनमा ४ जिबीको र्याम हुनेछ । आइफोन एक्स प्लस उच्च ब्याट्री क्षमता अर्थात् ३३०० देखि ३४०० मिलि एम्पियर आवरको हुनेछ । यी आइफोनमा दुई ब्याट्री सेल हुनेछन् ।
केही समयअघि मात्र कुओले एक रिपोर्ट मार्फत यस वर्ष नै एप्पलले आइफोन एक्सको उत्पादन बन्द गर्ने दाबी गरिसकेका छन् । त्यसको साटोमा एप्पलले आइफोन एक्सका दुई नयाँ संस्करणका साथै ६.१ इन्चको अर्को आइफोन गरी एकैवर्ष तिनवटा आइफोनका साथ बजार तताउने विश्लेषण गरिएको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4