Comments Add Comment

जापानमा घन्किन्छ नौमती बाजा

१६ माघ, पोखरा । भादगाउँले टोपी र दौरा सुरुवालमा ठाँटिएर निस्कन्छन्, एक हुल युवा । कलम समाउने हातले समाउँछ कर्नाल । होटलमा परिकार पस्कने हातले समाउँछ नरसिंगा । कम्युटरमा औंला चलाउने हातले पिट्छ झ्याली । पसलमा सामान बेच्ने हातले ठोक्छ ट्याम्को । कफिसपमा कुनै अन्तर्राष्ट्रिय ब्रान्डको कफी ग्राहकसम्म पुर्‍याउने हातले उचाल्छ ढोलक । घर, अफिस चक्किलो बनाउने हातले उठाउँछ दमाहा अनि घन्कन्छ टोकियोमा नौमती बाजा ।

त्यही नौमती बाजाको रन्कोले जोड्छ, टोकियो हुँदै नागोया, उसिगो लगायतका जापानी सहरका नेपालीलाई । बेलाबेला उनीहरु जम्मा हुन्छन् र घन्काउँछन् नौमती बाजा र नाच्छन्, नचाउँछन् सबैलाई ।

अध्ययन तथा कामका लागि सपनाको सहर जापान पुगेका नेपालीलाई त्यही सहर बिरानो लागेपछि नेपाली नौमती बाजाको मोहनीले एकै ठाउँ भेला गराउने काममात्रै गरेको छैन, परिवारै भेटेको आत्मीयतासमेत दिलाएको छ ।

विभिन्न समयमा जापान पुगेका नेपाली युवाले अहिले नौमती बाजालाई त्यहाँका नेपालीसम्म मात्रै होइन जापानीकोसमेत मन जितेको घुम्टे नौमती बाजा समूहका अध्यक्ष चन्द्रबहादुर खत्री बताउँछन् ।

पढाइ, व्यापार व्यवसाय र जागिरबाट थोरै समय निकालेर नेपालीलाई भेट हुने र नौमती बाजामा रम्ने साझा थलोको रुपमा जापानमा विकास भएको खत्री बताउँछन् ।

बागलुङको गलकोट घुम्टे नौमती बाजा बनेपछि जापानभरिका नेपालीमाझ ख्याती कमाएको छ ।

नेपालमा विहाह लगायत विशेष बेलामात्र बजाइने पञ्चेबाजा तथा नौमती बाजा जापानमा भने जुनसुकै बेला घन्कन्छ ।

नेपालमा जाति विशेष रुपमा बाजाका रुपमा प्रयोग गरिने परम्पराभन्दा माथि उठेर यहाँ व्राहृमणदेखि पुन, मगर, खत्री, क्षेत्री, परियार, विक, नेपाली सबैजातिको साझा बाजा बनेको खत्रीको भनाइ छ । ‘जापानका नेपालीलाई कसरी जोड्न सकिन्छ भनेर युवाबीच सल्लाह गरिरहन्थ्यौं । त्यही क्रममा नेपाली नौमती बाजालाई जापानसम्म ल्याउने र समय मिलाएर एकै ठाउँ भेला हुने गरी नौमति बाजा समूह नै गठन गर्‍यौं,’ घुम्टे नौमती बाजा समूहका अध्यक्ष खत्रीले भने, ‘नौमतीले नेपालीपनलाई जोड्ने काममात्रै गरेको छैन, नेपाली लोक संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्ने कामसमेत भएको छ ।’

विवाह, व्रतबन्ध लगायत शुभ कार्यदेखि विभिन्न सांस्कृतिक कार्यक्रममा नौमती समूहलाई निम्तो आउँछ । ‘विवाह, शुभकार्यदेखि विभिन्न सांस्कृतिक कार्यक्रमा नौमती बाजा बजाउन निम्तो आउँछ,’ नौमती बाजा समूहका सदस्य तथा गायक सूर्य खड्का भन्छन्, ‘नेपाली लोक संस्कृति र जापानमा नौमतीमा छमछमी नाँच्न पाउँदा यहाँका नेपालीले आत्मीयता महसूस गर्छन् ।’

नौमती बजार समूहले जापानको सरकारी स्तरबाटै गरेको सांस्कृतिक कार्यक्रममासमेत प्रस्तुती राखेर जापानीलाई छमछमी नचाएका थिए । ‘हामी आफैं बजाउँछौं, हामी आफैं गाउँछौं,’ खत्रीले भने, ‘नेपाली नौमती बाजा घन्केको देख्दा जापानीसमेत दंग पर्छन् ।’

नेपाली चाडपर्वदेखि विभिन्न समयमा यो समूहले जापानमा थुप्रै पटक सांस्कृतिक कार्यक्रम गरेको छ । घुम्टे नौमती बाजा समूह भनेपछि जापाना छुट्टै पहिचान बनाउन सफल भएको खत्रीको भनाइ छ । नौमतीको ख्यातीसँगै जापानमा यसका नेपालबाट बाजाको मागसमेत बढिरहेको छ ।

२०७२ सालको भूकम्पका बेला होस् या अन्य विपतका बेला नौमती बाजा घन्काएरै पैसा उठाएर उनीहरुले सहयोग जुटाउने गरेका छन् ।

नेपालबाट बाजा, जापानमा सिकाइ

नौमती बाजा घन्काउन दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा उनीहरुले नेपालबाटै जापानसम्म पुर्‍याएका हुन् । सहनाई, सनही, ठूलो दमाहा, सानो दमाहा, झ्याम्टा र मुजुरा लगायत नौमतीका लागि चाहने सबै बाजा उनीहरुकै समूहसँग छ ।

जापानमा घुम्टे नौमती बाजा समूहसँगै अन्य केही समूह पनि छन् तर ती सबैले नेपालबाटै बाजा बजाउन जानेर गएका होइनन् । बाजा समूह नौमती सिक्न टोकियो आसपासका युवाको स्कुल नै बन्यो । नौपती बाजालाई जापानमा घन्काउनकै लागि ती युवाले उतै बजाउन सिकेका हुन् ।

नौमती जापानमा घन्काउन ३ वर्षअघि जापानमा खुलेको समूहले युवालाई तालिमै दियो । यो बाजालाई अझ फराकिलो बनाउन गायक सूर्य खड्का, रामकृष्ण बम मल्ल, ऋषि पौडेल, दिल थापा, लाम खत्री, विपिन खत्री, सन्त्ाा खत्री, ढिलु खत्री लगायतका युवाले मिहिनेत गरेको अध्यक्ष खत्री बताउँछन् ।

संस्कृति जोगाउँदै, नेपालीलाई जोड्दै

नेपालबाट देखेको सपनाको सहरजस्तो सजिलो हुँदैन जापान पुग्दा । सानातिका कुरामा बिचार नपुर्‍याउँदा पढ्न गएका विद्यार्थी दुख पाउँछन् । काम गर्न गएका र व्यापार व्यवसाय गरेका नेपालीलाई थुप्रै समस्या आइपर्छ ।

त्यस्ता समस्यालाई समाधान गर्न र दुख पर्दा साथ र सहयोग तथा सहकार्य गर्ने काम लामो समयदेखि जापान बस्दै आएका नेपालीले गर्दै आएको नेपाल भलिबल संघ जापानको सल्लाहकारसमेत रहेका खत्रीले बताए । ‘नेपालीलाई पर्ने समस्यामा सहजीकरण गर्ने काम पनि हामीले गर्दै आएका छौं,’ खबरले भने, ‘नेपाली लोकसंस्कृतिमार्फत नेपालीलाई जोड्न, नेपालीपन बचाइराख्ने र देशमा केही आपत परेका बेला सहयोग गर्ने काम गर्न पाउँदा खुसी लाग्छ ।’

लोक संगीत, नेपाली बाजा, कला, साहित्य र संस्कृतिलाई विदेशसम्म विस्तार गर्ने र नयाँपुस्तासम्म हस्तान्तरण गर्ने काम जापानका नेपाली युवाले गरेको खत्रीको भनाइ छ ।

थुप्रै युवाले जापानबाट गीति एल्बम निकाल्ने काम गरेका छन् । खत्री आफैंले २ वटा एल्बम बजारमा ल्याइसकेका छन् । नौमती समूहकै पञ्चेबाजामा चन्दको लय तथा शब्द र सूर्य खड्का, कालिका रोकाको आवाजमा हे कान्छी नाचौं एकछिन, पितम्बर चापागाइँको शब्दमा चन्द्रको लय र इश्वरसिंह र देवी घर्ती आवाजमा एल्बम बजारमा आएको छ ।

२ दशकदेखि जापान बस्दै आएका खत्रीले नेपालीपन जोगाउन लागि पर्दै आएका छन् । जापानी पर्वहरुमा पनि नेपाली कला र संस्कृतिको प्रस्तुति राख्न उनले पहल गरिरहेका छन् । ‘विदेश आएपछि अझ बढी देशको महत्व थाहा हुँदो रहेछ ।

विदेशमा रहँदा नेपालीपनलाई जोगाउने र जोड्न काम तथा नेपालीलाई पर्दा सहयोग गर्न पाउँदा खुसी लाग्छ’ खत्रीले भने, ‘नेपाली कला, साहित्य संगीतको विविधता र महत्वलाई विदेशबाट हझ महसूस गर्न पाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment