Comments Add Comment

ठोरी गाउँपालिकाको केन्द्र सार्ने निर्णयपछि सुवर्णपुरबासी आन्दोलित

१८ माघ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाको बैठकले सेवा केन्द्र सार्ने निर्णय गरेपछि त्यसको चर्को विरोध शुरु भएको छ ।

ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको विरोधमा सुवर्णपुरबासी आन्दोलित भएका हुन् । गत माघ १५ गते बसेको गाउँ भेलाले ठोरी गाउँपालिका–५ मा रहेको सेवा केन्द्र वडा नं ४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका हुन् ।

सुवर्णपुरवासीले वीरगञ्ज–ठोरी सडकखण्डमा तीन दिनदेखि गाडी गुड्न दिएका छैनन् । मोटरसाइकल समेत चल्न नदिएको संघर्ष समितिका अध्यक्ष सुन लामाले जानकारी दिए ।

‘वडा नं ५ का उपाध्यक्ष ८ जना र वडा नं ३ को २ जना गरी १० जना प्रतिनीधिहरुको असहमति हुँदा–हुँदै पनि गाउँपालिका प्रमुखले एकलौटी हिसाबले केन्द्र सार्ने निर्णय गरेका छन् । सरकारले नै तोकेको ठाउँलाई गाउँपालिका प्रमुखले एकलौटी ढंगले परिवर्तन गर्न खोजेका छन्’, उनले भने ‘आज दिनभरिमा निर्णय फिर्ता नलिए साँझ बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’

आन्दोलनकारीहरुले गाउँपालिका कार्यालयको मूल गेटमा बुधबार बिहानदेखि अनिश्चतकालीन तालाबन्दी गरिदिएका छन् । बैठकमा गाउँपालिका उपाध्यक्ष शान्ति माया थिङ, वडा अध्यक्ष रामबहादुर पाख्रिन तथा अन्य केही सदस्यहले निर्णयप्रति असहमति समेत जनाएका थिए ।

सेवा केन्द्र यथास्थान राख्नुपर्ने, सबै वडामा समान ढङ्गले बजेट विनियोजन गर्नुपर्ने, अस्पताल सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्नेलगायत माग संघर्ष समितिले राखेको छ ।

बन्दकर्ताले वीरगञ्ज–ठोरी सडकखण्डमा सवारी साधन गुड्न नदिएकोले जिल्ला सदरमुकाम वीरगञ्ज आवतजावत गर्न ठोरी र निर्मलबस्तीका सर्वसाधरणलाई सास्ती भोग्नुपरेको छ ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले बुधबार ट्याङ्कर र इँटालोड गरेको ४ वाटा ट्याक्टरमा ढुंगा प्रहार गर्दा सामान्य क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment