Comments Add Comment

अपाङ्ग बालिकालाई बलात्कार गरेर ७२ वर्षे बृद्ध हाफपाइन्टमै भागे

बालिकाका पिताले रंगेहात भेटे पनि समाउन सकेनन्

सा‌ंकेतिक फोटो

१८ माघ, काठमाडौं । सुन्दा पनि अनौठो लाग्दो घटना ! धादिङको गजुरीमा बोल्न नसक्ने १४ वर्षीया अपाङ्ग बालिकालाई ‘वनले आइज’ भन्ने उमेरका एकजना ७२ वर्षीय वृद्धले बलात्कार गरेका छन् । बालिकाको घरैमा पसेर बलात्कार गरेपछि उनी हाफपाइन्ट लगाएर फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय, गजुरीका प्रमुख इन्स्पेक्टर सञ्जय तिमिल्सिनाले बलात्कारी वृद्धको खोजी भइरहेको बताए ।

‘प्रतिवादी फरार छन्, हामीले अनुसन्धानपछि मुद्दा चलाइसकेका छौं’, तिमिल्सिनाले अनलाइनखबरसँग भने, ‘उनी जान सक्ने हरेक ठाउँहरुमा खोजी गरिसकेका छौं । उनी हाफपाइन्ट र सर्टमात्रै लाएर मोबाइलसमेत नलिई बेपत्ता भएकाले भेट्न गाह्रो भइरहेको छ ।’

आफ्ना परिवारजनसँग पनि ती वृद्ध सम्पर्कमा नरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

बालिकाका पिताले रंगेहात भेटे पनि समाउन सकेनन्

गजुरीस्थित एक गरिब परिवारमा जन्मिएकी कान्छी सन्तान हुन्, १४ वर्षीय रीता (नाम परिवर्तन) । उनी बौद्धिक अपाङ्ग हुन्, नीलो रङको अपाङ्गता परिचयपत्रसमेत उनका साथमा छ ।

घटना गत २२ असोजको हो । रीता आफ्नै घरमा एक्लै थिइन् ।

उनको घरसँगै नजिकै छ, ती वृद्धको घर, जो उमेरले ७२ वर्ष पुगेका छन् । तर, उनले त्यस दिन कोही नभएको मौका छोपी रीतामाथि जबरजस्तीकरणी गरे । बौद्धिक अपाङ्ग रीता उनका अगाडि निरीह थिइन् । किनकी, प्रतिकार गर्न उनको बोली आउँदैनथ्यो ।

त्यसै क्रममा पीडित बालिकका बुबा त्यहाँ आइपुगे । तर, सोझा ती बुबाले के गर्ने कसो गर्ने कुनै मेसो पाएनन् । छरछिमेकलाई बोलाउने भन्दै उनी ती वृद्धलाई घरमा थुनेर बाहिर निस्किए ।

तर, विडम्वना, पीडितका बुबा बाहिर निस्किएका बेला उनी घरको कमजोर छिस्किनी खोलेर बाहिर निस्किन सफल भए ।

‘मैले थुनेर आएको छु भनेर ढुक्क भएर छरछिमेकलाई बोलाउन गएँ’, पीडित बालिकका बुबाले अनलाइनखबरसँग भने, ‘तर, कमजोर छिस्किनी तोडेर ऊ त भागिसकेछ ।’

घटनालगत्तै उनले इलाका प्रहरी कार्यालय, गजुरीमा किटानी जाहेरी दिए । प्रहरीले जबरजस्तीकरणी अन्तरगत मुद्दासमेत चलायो । तर, अहिलेसम्म पीडक फेला पर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment