Comments Add Comment

बन्द गर्ने चेतावनीपछि सबै ग्यास उद्योगले दिए गुणस्तर मापदण्डको आवेदन

चार उद्योगको अनुगमन सुरु

फाइल तस्वीर

२० माघ, काठमाडौं । गुणस्तर मापदण्ड पूरा नगर्ने ग्यास उद्योग बन्द गर्ने सरकारको चेतावनीपछि उद्योगीहरूले नेपाल गुणस्तर चिह्न प्रमाणपत्र (एनएस) का लागि आवेदन दिएका छन् ।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार, विभागमा अावेदन दिनेमा एनएस नलिएका सबै ग्यास उद्योग छन् ।

बोटलिङ प्लान्टहरूले गुणस्तर मापदण्ड पालना नगर्दा जोखिम र दुर्घटनाका घटना हुन थालेपछि एक महिनाअघि विभागले मापदण्ड पालना गर्न सबै ग्यास उद्योगहरूलाई आग्रह गरेको थियो ।

एनएस नलिएकालाई सञ्चालन अनुमति नदिन नेपाल आयल निगमलाई विभागले पत्राचारसमेत गरेको थियो ।

एनएस चिह्न नलिने बोटलिङ प्लान्ट बन्दसम्म गर्ने चेतावनी दिएपछि उद्योगीहरूले त्यसका लागि आवेदन दिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक पुडासैनीका अनुसार, हालसम्म चारवटा ग्यास उद्योगले मात्रै गुणस्तर मापदण्ड पूरा गरेका छन् । त्यस्तो मापदण्ड पूरा गर्ने नेपाल ग्यास उद्योग, साइबाबा ग्यास उद्योग, मनोज ग्यास उद्योग र श्रीकृष्ण ग्यास उद्योग छन् । बाँकी उद्योगले भने अझैसम्म पनि गुणस्तर चिह्न लिएका छैनन् ।

विभागकी प्रवक्ता रोमी मानन्धरले गुणस्तर चिह्न नलिएका बाँकी ५३ वटै ग्यास उद्योगले एनएस चिह्नका लागि कागजात विभागमा पेश गरेको जानकारी दिइन् । हाल नेपालमा ५५ वटा ग्यास उद्योग छन् ।

‘अहिले हामी प्राप्त कागजातको अध्ययन गरिरहेका छौं, आवश्यक देखिएका थप कागजातका लागि पनि उद्योगहरूलाई आग्रह गरिरहेका छौं,’ उनले भनिन् ।

कागजात नपुगेका उद्योगलाई छिटो पेश गर्न पत्राचारसमेत गरेको उनले बताइन् ।

प्रवक्ता मानन्धरका अनुसार, विभिन्न चार ग्यास उद्योग एनएसका लागि योग्य देखिएका छन् । ती उद्योगले पेश गरेका कागजातका आधारमा ‘फिल्ड भिजिट’ र आवश्यक अनुगमनपछि मात्र एनएस प्रदान गर्ने विभागले जनाएको छ । विभागले ग्यास भर्ने सिलिन्डर र उद्योगको पूर्वाधार मापदण्ड हेरेर गुणस्तर प्रमाणपत्र दिन्छ ।

बाँकी उद्योगको भने कागजात अध्ययनकै क्रममा रहेको विभागको भनाइ छ ।

विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिह्न लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो । तर एक वर्ष बितिसक्दा पनि आग्रह पालना नगरेपछि विभाग कडा रुपमा प्रस्तुत भएको हो ।

गुणस्तर मापदण्ड पालना नगर्ने उद्योगमाथि ६ महिना कैद वा तीन हजार रुपैयाँ जरिवाना तिराउन सकिने कानूनी व्यवस्था छ ।

याे पनि पढ्नुहाेस्

गुणस्तर मापदण्ड पालना नगर्ने ग्यास उद्योग बन्द गर्ने सरकारको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment