Comments Add Comment

प्रदेश २ को दुःख- केहीलाई पहाड चाहियो, केहीलाई राजधानी !

पहिचान पायो तर सामर्थ्य पाएनः तैपनि बन्छ समृद्ध प्रदेश


२१ माघ, जनकपुरधाम । सात प्रदेशको सीमांकन भएलगत्तै उपेन्द्र यादवले तत्कालीन व्यवस्थापिका संसदको रोष्ट्रमबाटै प्रश्न गरेका थिए– २ नम्बर प्रदेश जानकी मन्दिरको भेटीले चलाउने हो ? स्रोत साधनविनाको प्रदेश बनाएर मधेसलाई पछि पार्न खोजिएको उनको संकेत थियो ।

करीव दुई वर्षअघि उपेन्द्रले गरेको प्रश्न अहिले प्रदेशसभामा नवनिर्वाचित सांसदहरुले रामजानकी मन्दिरकै अगाडि उभिएर गरिरहेका छन् । ‘प्रदेश २ ले पहिचान पायो, तर सामर्थ्य पाएन’ संघीय समाजवादी फोरमका सांसद योगेन्द्र यादवले भने ‘तर हामी समृद्ध मधेस प्रदेश बनाउँछौं’ ।

भित्री मधेस र पहाडको खोजी

प्रदेशसभाको पहिलो बैठकमा भाग लिन जनकपुर पुगेका सांसदहरुबीच २ नम्बर प्रदेशको सामर्थ्य, राजधानी र सीमांकनलाई लिएर विभिन्न तर्क वितर्कहरु भइरहेका छन् । एमाले बाहेक अन्य दलका सांसदले यो प्रदेशमा पहाड र भित्री मधेस पनि चाहियो भनेर ‘भोकल्ली’ नबोले पनि अनौपचारिक जमघटमा पहाडको खोजी भइरहेको पाइन्छ ।

प्रमुख विपक्षी दलको नेता बन्ने प्रतिस्पर्धामा रहेका एमाले पोलिटब्यूरो सदस्य सत्रुघन महतो पहाड बिनाको मधेस प्रदेश तत्काल एमालेका लागि प्रतिकुल भए पनि दीर्घकालमा देश र प्रदेशकै लागि टाउको दुःखाई हुने बताउँछन् । आफूहरुले २ नम्बर प्रदेशमा पहाडी जिल्ला मिसाउँ भन्दा चुनावी स्वार्थले हेरिएको उनको गुनासो छ ।

‘हामीले सीमांकनअघि नै भनेका थियौं, कम्तिमा मकवानपुर, सिन्धुली र उदयपुरलाई २ नम्बर प्रदेशमा मिसाइयोस, सकेसम्म रामेछाप पनि होस् भन्ने हाम्रो मागको सुनुवाई त्यो बेला भएन’ महतो भन्छन् ‘अब प्रदेश सरकार चलाउनेहरुले महशुस गर्लान्, पहिचानले मात्र जनताको सम्बृद्धिको सपना साकार हुने छैन’ ।

प्रमुख विपक्षी दलको हैसियतमा रहन लागेको एमाले नेता महतोको भनाइको संकेत यो हो कि, प्रदेशसभा बैठकमा २ नम्बर प्रदेशमा पहाड माग्नेहरुको आवाज गुञ्जिने निश्चित छ ।

माओवादीकै कतिपय नेताले पहाडविनाको मधेस प्रदेश कमजोर हुने तर्क गर्न थालिसकेका छन् । तर, सिन्धुली, मकवानपुर र उदयपुरको चाहना भने २ नम्बरमा आउने नहुन सक्छ ।

राजधानी नपाए भोजपुरा प्रदेश

एकातिर केही प्रदेश सांसदले पहाड खोजेर आवाज उठाउँदैछन् भने अर्कोतिर भोजपुरा प्रदेश बनाउने धम्की पश्चिम तराईका सांसदहरुले दिइरहेका छन् । वीरगञ्ज राजधानी नपाए रौतहट, बारा र पर्साको अलग्गै भोजपुरा प्रदेश बनाउन आन्दोलन थाल्ने पर्साका कांग्रेस सांसद ओमप्रकाश शर्माले बताउँछन् ।

मधेसवादी दलले मधेस आन्दोलनको बेला वीरगन्जलाई राजधानी बनाउने भनेर वीरगञ्जबासीले साथ दिएको र भोटसमेत दिएको तर अहिले आएर मधेसवादी नेताले धोका दिएको आरोप उनीहरुको छ । नाकाबन्दीका कारण वीरगञ्जले अर्बौं रुपैयाँको व्यापार गुमाउनुपरेको भन्दै त्यहाँका व्यवसायीले पनि राजधानी नपाए अलग्गै प्रदेश बनाउनुपर्ने भनेर आन्दोलनलाई साथ दिएका छन् ।

यद्यपि वीरगञ्ज राजधानी बनाउनुपर्छ भन्ने आन्दोलनमा मधेसवादी दलका सांसदहरु भने सहभागी छैनन् र बोल्न सकेका पनि छैनन् । पर्साबाटै प्रतिनिधिसभामा निर्वाचित राजपा नेता लक्ष्मणलाल कर्णले वीरगञ्जको आन्दोलनलाई हरुवाहरुको आन्दोलन भनेका छन् । यसअघि मधेसवादी दलको आन्दोलनलाई हरुवाहरुको आन्दोलन भन्नेहरुलाई सायद उनले जवाफ दिएका हुन सक्छन् ।

ढुक्क छ जनकपुरधाम

जनकपुरधाम प्रदेश नं २ को राजधानी कायम भइसकेको छ र यो राजधानी अन्यत्र जाने सम्भावना निकै कम देखिन्छ । राजधानीको मागलाई लिएर वीरगञ्जमा भएको आन्दोलन चर्किन सक्छ, तर अब जनकपुरबाट प्रदेशको राजधानी फर्किन मुस्किल छ । त्यसैले हेटौंडामा राजधानी कायम राख्न सांसदहरुलाई गाँसबासमा सहुलियत दिएजस्तो यहाँका व्यवसायीले कुनै थप प्याकेज ल्याउन चासो दिएका छैनन् ।

किनकि राजेन्द्र महतो, विमलेन्द्र निधी, रघुवीर महासेठदेखि मात्रिका यादवसम्मका नेताले जनकपुरलाई राजधानी बनाउने भनेरै चुनावी एजेण्डा बनाएका हुन् । तीमध्ये निधी बाहेक सबैले चुनाव जितेका छन् ।

जनकपुर राजधानी हुन्छ भन्नेमा ढुक्क भएकै कारण जनकपुरका अगुवा र व्यवसायीले प्रदेश संसद बसिरहँदा सामान्य स्वागत गेट समेत बनाएका छैनन् ।

जनकपुरसँग निधिको गुनासो

अहिले जनकपुर राजधानी हुनुहुँदैन भन्ने आन्दोलनको नेतृत्व कांग्रेसले गरिरहेको छ । कांग्रेसका पनि निधी निकट सांसदहरु आन्दोलनको अग्रभागमा हुनु आफैंमा अर्थपूर्ण रहेको बताउँछन् अन्य दलका नेताहरु । जनकपुरको धर्तिपुत्र हुँ भनेर चुनाव लडेका निधीलाई जनकपुरबासीले हराएर सर्लाहीका राजेन्द्र महतोलाई जिताएपछि निधीको मन कुँडिएको छ ।

चुनाव हारेलगत्तै निधीले भनेका थिए– जनकपुरलाई कांग्रेसले सधैं दियो, तर जनकपुरले कांग्रेसलाई सधैं हरायो । कहिले लीला कोइरालालाई हरायो, कहिले रामसरोज यादवलाई हरायो र अहिले मलाई हरायो । खासमा जनकपुरले खोजेको के हो ?

सीमांकन र राजधानी मुद्दामात्रै

सीमांकनको कुरा अब कुनै प्रदेशसभा वा संघीय संसदको मात्र एकल विषय रहेन । संविधानतः सम्बन्धित प्रदेशसभाको सहमति लिएर संघीय संसदले हेरफेर गर्नुपर्ने भएकाले अहिलेलाई यी विषय बहसमा मात्र सीमित हुन सक्छन् । कम्तिमा ५ वर्ष कुनै पनि प्रदेशको सीमांकन हेरफेर हुने सम्भावना देखिन्न । त्यस्तै २ नम्बरको राजधानी पनि वीरगञ्ज जाने देखिन्न ।

अन्य प्रदेशहरुको तुलनामा यातायात र भौगोलिक दूरीका हिसाबले सबैभन्दा सुगम र सहज आवत–जावत हुन सक्ने २ नम्बर प्रदेश नै हो । पूर्वपश्चिम राजमार्गले सप्तरीदेखि पर्सासम्म आवत–जावतका लागि सहज छ । ६ लेनको सडकले जोडिँदै गरेको जनकपुर स्वभाविकरुपमा यो प्रदेशको केन्द्रभागमा छ ।

वीरगञ्जले राजधानी मागिरहँदा जनकपुर अपायक भन्ने आधार नभएकाले पनि राजधानीको लडाइँ वीरगञ्जले जित्ने सम्भावना निकै कम छ ।

पहिचान मिल्यो, सामथ्र्य खोइ ?

प्रदेश २ का लागि सीमांकन र राजधानी साना दुःख हुन् । सबैभन्दा ठूलो दुःख भनेको सामथ्र्यनै हो । सात प्रदेशमध्ये एकल पहिचान स्थापित भएको प्रदेश २ नम्बर नै हो । अन्य प्रदेशमा कुनै एक जाति वा समुदायको बाहुल्य छैन । तर, प्रदेश २ मा मधेसी समुदायको दुई तिहाई बहुमत छ ।

पहिचान पाए पनि प्रदेशको विकास कसरी गर्ने भन्ने चुनौति अब बन्ने प्रदेश सरकारसामु शुरुदेखि नै ठडिनेछ । ठूला औद्योगिक कलकारखानाहरु यो प्रदेशमा हुनु यसको सुखद पक्ष हो । रोजगारी बृद्धि गर्नका लागि अझै ठूला लगानीहरु तराई मधेसमा ल्याउन सकिन्छ ।

तर, पटक–पटकका मधेस आन्दोलनका कारण विस्थापित भएका उद्योगहरुलाई पुनस्र्थापित गर्नै चुनौति भएका बेला नयाँ लगानी भित्र्याउन मधेसवादी दलले लगानीकर्तालाई विश्वास दिलाउन सक्नुपर्छ । मधेसमा लगानी गर्न व्यवसायीहरु डराउँछन्, उनीहरुको डर हटाउने कार्यक्रम मधेस सरकारले दिनुपर्नेछ ।

मधेससँग लगानीकर्ता किन डराए ?

तीनवटा मधेस आन्दोलन र पछिल्लो नाकाबन्दीका कारण मधेसको आर्थिक र शैक्षिक अवस्था निकै कमजोर भएको छ । मधेसमा रहेका कतिपय उद्योगधन्दा कलकारखाना बन्द भएका छन् भने कतिपयले अन्यत्र सारिसकेका छन् ।

ठूला व्यापारीहरुले पनि बैकल्पिक स्थान खोजेर हिडेका छन् । उनीहरुलाई फर्काउनु प्रदेश सरकारको दायित्व हो ।

यदि अब मधेसमा स्थिर र शान्त वातावरण बन्छ भन्ने विश्वास मधेसवादी दल र अब बन्ने मधेस सरकारले दिलाउन सक्यो भने फेरि पनि उद्योगधन्दा र कलकारखाना सन्चालनका लागि तराईको समथर फाँट उपयुक्त छ । यसले मधेसमा रोजगारी र आम्दानीको अवसर पनि बढाउनेछ । तर, लगानीकर्ताले कुनै पनि खतरा मोलेर लगानी गर्न चाहँदैन, त्यसका लागि मधेस सरकारले विश्वसनीय वातावरण बनाउनुपर्छ ।

कृषि र धार्मिक पर्यटन समृद्धिका आधार

धार्मिक पर्यटनको लागि प्रदेश २ आकर्षक गन्तव्य बन्न सक्छ । ऐतिहासिक जनकपुर धाम र जानकी मन्दिरमात्र होइन, गढीमाईदेखि छिन्नमस्तासम्मका धार्मिकस्थलहरु भारतीय पर्यटकको बृद्धिले मात्रै पनि आयस्रोत बढाउने गन्तव्य हुन सक्छन् । व्यापारिक शहर वीरगञ्जलाई गुल्जार बनाउन मधेस सरकारले उत्तिकै विश्वसनीय वातावरण सिर्जना गर्न जरुरी छ ।

हुलाकी राजमार्ग निर्माणसँगै मधेस सबैभन्दा सुगम प्रदेश त हुने नै छ, राजमार्गबाट सदरमुकाम जोड्ने सडकहरुको विस्तार र स्तरोन्नति तीब्र ढंगले भइरहेकै छ । यति हुनासाथ मधेसलाई सम्बृद्ध प्रदेश बनाउन सकिने आधार देखिरहेका छन्,मुख्यमन्त्रीका प्रत्याशी विजय यादव ।

कुनै समय धान उत्पादन गरेर काठमाडौंलाई पाल्दै आएको मधेसले यहाँका जनतालाई पाल्न कृषि, पशुपालन र फलफूल तथा वनस्पति उद्योगमै जोड दिनुपर्ने राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव बताउँछन् । ‘उन्नत बिउबिजन, सिँचाई र व्यवसायिक कृषिमा मधेस सरकारले लगानी गर्नुपर्छ, यसो गर्दा २ नम्बर प्रदेश सबैभन्दा समृद्ध बन्न सक्छ’ उनी भन्छन् ।

राजमार्गमा व्यापार व्यवसायी गुल्जार छ । सदरमुकामहरुमा सडक, बिजुली र खानेपानीको सहज व्यवस्था गर्नासाथ ती ठाउँहरु पनि राजमार्ग क्षेत्रका बजारको प्रतिस्पर्धामा आउन सक्छन् । दक्षिणका जनता सदरमुकाम र उत्तरका जनता राजमार्गका बजारमा आफ्ना उत्पादनहरु लैजान थाल्छन् । त्यो वातावरण अब आगामी सरकारले बनाउन सक्यो भने मधेस सुन्दर त छँदैछ, समृद्ध प्रदेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment