Comments Add Comment

नाम जनता आवासः विपन्नको पालमा बास

'बाढीबाट बाँचियो, शीतलहरले लैजालाजस्तो छ'

 

२१ माघ, रौतहट । सानै भए पनि खरको झुपडी थियो, चिसोमा ओत लाग्ने ठाउँ थियो । तर, सरकारले जनता आवास कार्यक्रम ल्याएर दलित मुसहरहरुको झुपडी भत्काइदियो । शीतलहरका बेला उनीहरु सकसपूर्ण जीवन जिउन बाध्य छन् ।

गत साउन अन्तिम साताको बाढीले दलित बस्तीमै बढी प्रभाव पार्‍यो । जनता आवासका नाममा केही झुपडी भत्काइसकिएको थियो । नयाँ घर पनि निर्माण भएका थिएनन् ।

विनाशकारी बाढीले गौर-२को मुसहरलगायत सबैजसो दलित बस्ती तहसनहस बनाइदियो । घरवारविहीन विपन्न परिवार सरकारी ढिलासुस्तीको मारमा परेका छन् ।

उक्त कार्यक्रमअन्तर्गत् शहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्ष ०७३/७४ मा रौतहटका चार वटै निर्वाचन क्षेत्रका विपन्न मुसहर, दुसाध, धोबी, तत्मा, चमार, डोम, मुस्लिम र राउत परिवारका लागि एक हजार घर निर्माण स्वीकृत गरेको थियो । तर, ०७३ सालमै निर्माण थालिएका घर अझै तयार भएका छैनन् ।

साउन ०७४ मा शुरु भएको जनता आवास निर्माण पनि अलपत्र छाडिएको छ । छनोटमा परेका विपन्न परिवारको घर निर्माणका लागि सरकारले दुई लाख १४ हजार सात सय रुपैयाँ छुट्याएको थियो ।

चार किस्तामा निर्माण समितिलाई भुक्तानी दिने भनिए पनि शहरी विकास तथा भवन निर्माण डिभिजन, पर्साको लापरवाहीका कारण रौतहटका एक हजार परिवारले शीतलहरमा कठ्यांगि्रनु परेको छ ।

गौरस्थित जनता आवास कार्यक्रम कार्यान्वयन एकाइले आठ महिना बितिसक्दा पनि जस्तापाताको छानो भएको दुई कोठे घर पनि ठड्याउन सकेको छैन । हालसम्म सात सय ७४ घरको जग खनिएको छ, एक सय ३६ घरको मात्र गारोसम्म हालिएको छ ।

गारो हालिएका घरमा छाना जडान गरिएको छैन । विपन्न परिवार खुला आकाशमुनि बस्न बाध्य छन् ।

‘सरकारले घर बनाइदिने भन्दै छाप्रो पनि भत्काइदियो । वर्षदिन हुन लाग्यो, घर तयार गरेको छैन,’ स्थानीय रामप्रवेश रामले भन्छन्, ‘साउनको बाढीबाट जेनतेन बाँचियो तर शीतलहरले लैजालाजस्तो छ ।’

जनता आवास कार्यक्रमले आफूहरुलाई घर न घाटको बनाएको उनको भनाइ छ । छाना र झ्याल-ढोका पनि नराखिएको अपूरो घर बनाएर निर्माण समितिका पदाधिकारी सम्पर्कविहीन छन् ।

रौतहटकै सन्तपुरमा धुर्मुस-सुन्तली फाउन्डेसनले सय दिनमै मुसहरहरुका लागि दुईतले सुविधासम्पन्न भवन बनाइसकेको छ । सरकारी आयोजना भने कहिले सकिने हो, टुंगो छैन ।

बजेट निकासामा केही समस्या भएका कारण समयमै काम सम्पन्न हुन नसकेको कार्यक्रम कार्यन्वयन एकाइका इन्जिनियर रवीकुमार झा बताउँछन् । ‘केही स्थानमा पुराना घर भत्काउनै बाँकी छ,’ उनी भन्छन्, ‘गरिब परिवारले समस्या भोग्नुपरेको छ तर अब १/२ महिनाभित्रै छानोको काम सकिनेछ ।’

तर, निर्माणको गति हेर्दा दुई महिनामा पनि काम सकिने लक्षण देखिँदैन । गौर, औरैया, पचरुखी, इनर्वा, लक्ष्मीनिया दोस्तीया, पोठीयाही, बरियारपुर, पिपरा पोखरीयालगायत स्थानमा निर्माणाधीन घर अलपत्र छन् ।

कतिपय स्थानमा तेस्रो र चौथो किस्तावापतको रकम निकासा भएकै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment