
२१ माघ, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो ।
माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।
श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गरिने छ ।
स्थानीय बासिन्दाले एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता साधारण शेयर पाउने व्यवस्था गरिएको छ ।
यस्तै, आयोजनाले आम नेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने छ । सर्वसाधारणलाई एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिने छ ।
स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ ।
कम्पनीले शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो । एकाध दिनभित्रै त्यसको स्वीकृति प्राप्त हुने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
स्थानीय वासिन्दालाई १० प्रतिशत र आम नेपालीलाई १५ प्रतिशत सेयर दिन लागिएको हो।
आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ ।
कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन् ।
दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ । अहिले आयोजनाको सुरुङ मजबुत बनाउने काम भइरहेको प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ । तर बिक्री गरिएको उक्त साधारण शेयर हालसम्म पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुन सकेको छैन ।
कम्पनीले यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँट गरिसकेको छ ।
३ मेगावाट राष्ट्रिय प्रसारणमा थपियो
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा तीन मेगावाट विद्युत् थप भएको छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीअनुसार लमजुङ जिल्लामा आयोजनास्थल रहेको मिदिम खोला जलविद्युत् आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरु गरेको हो ।
प्रतिक्रिया 4