Comments Add Comment

भीम र शेरधन नमिलेपछि मुख्यमन्त्रीमा तेस्रो विकल्पको खोजी

दलको नेता जित्न मन्त्री र सभामुखको आश्वासन

२२ माघ, विराटनगर । नेकपा एमालेको उद्मथलो मानिने प्रदेश १ को मुख्यमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन पार्टीको प्रदेश कमिटी असफल भएको छ ।

भीम आचार्य र शेरधन राईबीच सहमति हुन नसकेपछि प्रदेशसभाको पहिलो बैठकअघि सोमवार बिहान बसेको प्रदेश कमिटी सचिवालय बैठकमा तेस्रो विकल्पसमेत प्रस्तुत भयो ।

सचिवालय बैठकमा केन्द्रीय सदस्य तथा ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले दुई नेताबीच सर्वसम्मति हुन नसके तेस्रो नेतालाई मुख्यमन्त्री बनाउने विकल्प प्रस्तुत गरेका हुन् ।

उनले तेस्रो विकल्पका रुपमा हिक्मत कार्की र राजेन्द्र राईमध्ये एकलाई बनाउन प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

कार्की र राई दुवै अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् । पार्टीभित्र कार्की संस्थापन पक्षका हुन् भने राई माधव नेपाल पक्षका हुन् ।

संसदीय दलको नेतामा माधव नेपाल पक्षकै केन्द्रीय सदस्य तथा मोरङका सांसद जीवन घिमिरेले पनि दाबी नछाडेपछि सहमतिको सम्भावना लगभग सकिएको छ ।

सोमवार जेष्ठ सदस्य सर्वध्वज साँवा लिम्बुको अध्यक्षतामा एमाले संसदीय दलको बैठक बसेको थियो । अब २६ गते पनि उनकै अध्यक्षतामा बैठक बसेर दलको नेता चयनका लागि निर्वाचन हुनेछ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद छन् ।

नेताकै प्रदेशमा नेता विवाद 

प्रदेश १ एमालेको उद्गमथलो यसकारण हो कि, तत्कालीन झापा बिद्रोह यहीँबाट शुरु भएको थियो । झापा विद्रोह गर्ने नेतृत्व नै नै कालान्तरमा गएर नेकपा माले हुँदै हालको एमालेको स्वरुपमा पुगेको हो । एमालेको नेतृत्वमा झापा विद्रोहका अगुवाहरु नै अहिलेसम्म बर्चश्व कायम गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख तथा एमालेका उपनेता सुवास नेम्वाङ पनि यही प्रदेशका हुन् ।

त्यस्तै पार्टी सचिव योगेश भट्टराई, प्रभावशाली नेता भानुभक्त ढकाल, लालबाबु पण्डित पनि यही प्रदेशबाट एमालेको केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्छन् ।

प्रदेश १ को मुख्यमन्त्रीका लागि सहमति जुटाउन माथिल्ला नेताले चासो नदिएको गुनासो यहाँका नेताले गरेका छन् । ‘माथिका नेताहरुले सहमति गराउन चाहने हो भने कुनै समस्या छैन,’ प्रदेशसभाका एक सदस्यले अनलाइनखबरसँग भने, ‘तर कुनै गुटले पनि सहमतिका लागि पहल गरेको देखिएन ।

माधव गुटमा दुई धार

केपी ओली पक्षबाट शेरधन राईमात्रै मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिए पनि गुटका प्रभावशाली नेताहरु नै उनलाई जसरी पनि जिताउनुपर्छ भनेर खटिएको देखिन्न । यद्यपि संस्थापन पक्षमा शेरधन बाहेक अरुले अहिलेसम्म उम्मेदवार बन्ने बताएका छैनन् ।

तर, माधव नेपाल र झलनाथ खनाल पक्षबाट भने भीम आचार्य र जीवन घिमिरे दुवैले मुख्यमन्त्रीको दाबी छाडेका छैनन् ।

माधव नेपालले शुरुमा भीम आचार्य टिकट वितरणका बेला आर्थिक विवादमा फसेको भन्दै जीवन घिमिरेलाई मुख्यमन्त्रीका लागि अघि बढ्न संकेत दिएको स्रोतले जनाएको छ ।

मोरङका माधव नेपाल पक्षकै प्रदेश सांसद राजकुमार ओझाले स्थानीय चुनावमा सुन्दर हरैंचा नगरपालिकाको मेयरमा टिकट दिने भनेर भीम आचार्यले आफूसँग १० लाख लिएको उजुरी गरेपछि माधव नेपाल आचार्यप्रति आक्रोशित बनेका हुन् ।

झलनाथ खनालका बहिनीज्वाईँ नाता परे पनि आचार्यलाई पर्यटन मन्त्रीबाट झलनाथले नै हटाएपछि उनीहरुवीच सम्बन्ध बिगि्रएको थियो । तर, अहिले परिवारको दबाबमा खनालले भीम आचार्यको विपक्षमा बोल्न सकेका छैनन् ।

तर, माधव गुटमा भने आचार्यभन्दा जीवन घिमिरे बलियो उम्मेदवार मानिन्छन् । यदि गुटले आचार्यलाई उम्मेदवार बनाएमा उनले माधव नेपाल पक्षका सबै भोट नपाउने देखिएको छ ।

महाधिवेशनको गुटका आधारमा प्रदेश १ मा ओली पक्षभन्दा माधव पक्षका सांसदहरु ३ वा ४ जना बढी छन् । तर, नेपाल पक्षका केही सांसदहरु खुलेरै शेरधनको पक्षका लागिसकेका छन् ।

यो स्थितिमा जीवन घिमिरेको पनि साथ नपाएको खण्डमा भीम आचार्य शेरधनभन्दा कमजोर हुनेछन् । शेरधनलाई आफ्नो समूहले घात नगरेमा उनी दलको नेता बन्ने सम्भावना बढी देखिन्छ ।

सांसद तानातान, मन्त्रीको आश्वासन बाँड्न सुरु

एमालेभित्र संसदीय दलको लडाइँ पेचिलो बन्दै जाँदा प्रदेशसभा सदस्यहरु तानातानमा पर्न थालेका छन् । प्रदेशसभा बैठकमा भाग लिन आएका सांसदहरु अब दलको चुनाव नहुन्जेल बिराटनगर र इटहरीतिरै रहनेछन् । उनीहरुलाई विभिन्न आश्वासन र प्रलोभनसमेत दिन थालिएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्रीका दाबेदारले आफू बलियो बन्न आ-आफ्नो सुविधाअनुसार सभामुख र मन्त्रीको आश्वासन समेत दिइरहेका छन् ।

प्रदेश १ मा बढीमा ९ जना मन्त्री हुनेछन् । त्यसमा पनि ३ जना माओवादीलाई दिएपछि एमालेको भागमा ६ जना मन्त्री हुनेछन् । तर, दलको नेताका प्रत्यासीले दर्जन बढीलाई मन्त्रीको आश्वासन दिइसकेको चर्चा एमाले वृत्तमा छ ।

आकांक्षी धेरै, आश्वासन पनि धेरैलाई

प्रदेशसभामा एमालेका केन्द्रीय तहकै नेताहरुको संख्या ठूलो छ । जीवन घिमिरे, हिक्मत कार्की, राजेन्द्र राई, जगदीश कुसियत, राजन राई जस्ता नेताहरु केन्द्रीय कमिटी सदस्य हुन् ।

त्यस्तै अर्जुन राई, सर्वध्वज साँवा, बुद्धिकुमार राजभण्डारी, उषाकला राई, लक्ष्मण तिवारी, ज्ञानेश्वर राजवंशी, तुलसी न्यौपाने, खिनु लिम्बु लगायतका नेता पनि मन्त्रीका आकांक्षी हुन् ।

दलको नेतामा सर्वसम्मत निर्णय गर्न प्रदेश कमिटी बैठकमा आफूहरुले दबाव र विभिन्न विकल्पसमेत दिएको सचिवालय सदस्य यज्ञराज सुनुवारले अनलाइनखबरलाई बताए । अझै पनि सहमतिको सम्भावना कायमै रहेको भन्दै उनले शीर्ष नेताले पहल गर्दा सहमति हुन सक्ने धारणा व्यक्त गरे ।

अर्का नेता हिक्मत कार्कीले पनि सहमतिको सम्भावना अझै बाँकी नै रहेको अनलाइनखरबलाई बताए ।

प्रदेश १ मा राई लिम्बु समुदायको बाहुल्य रहेको छ । र, पहिचानका लागि पटक-पटक संघर्ष गरेको ठाउँ भएकाले पहिलो मुख्यमन्त्री सोही समुदायबाट बन्दा यहाँका आकांक्षाहरु सम्बोधन गर्न सजिलो हुने तर्क एकथरी नेताले गरेका छन् ।

तर, भीम आचार्यले भने जातका आधारमा मुख्यमन्त्री बनाउने कुरा एमालेमा कतै पनि नचलेको र सम्भव नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment