२२ माघ, विराटनगर । प्रदेश-१ को प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेशलाई आर्थिक समृद्धिमार्फत नमुना बनाउने बताएका छन् ।
उनीहरुले यस प्रदेशको जलस्रोत, पर्यटन, कृषि, उद्योगधन्दालगायत प्राकृतिक र सांस्कृतिक सम्पदाको सदुपयोग गरी नमूना प्रदेशको रुपमा विकास गर्ने उद्घोष गरेका हुन् ।
सोमबार विराटनगरको मोरङ जिल्ला समन्वय समितिको हलमा बसेको बैठकमा एमाले सचिव तथा प्रदेश सांसद भीम आर्चायले प्रदेश १ लाई समृद्ध प्रदेश बनाउने प्रतिवद्धता जनाएका छन् ।
मुख्यमन्त्रीका दाबेदारसमेत रहेका उनले वाम गठबन्धनले जनचाहना र बाचा अनुसार स्थायी सरकार दिने बताए । उनले भने, ‘हामी चुनावमा गरेको बाचा पूरा गर्छौं ।’
आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा पनि प्रदेश नम्बर १ अगाडि रहेको भन्दै आचार्यले प्रदेश १ को समृद्धिको अभियानमा सबै एकजुट हुनु पर्ने बताए । ‘सत्तापक्ष र प्रतिपक्ष जे भए पनि समृद्ध प्रदेश बनाउने लाग्नेछौं । मिलेर अघि बढ्ने हो’ उनले भने ।
कांग्रेस सांसद कृष्ण श्रेष्ठले समुन्नत प्रदेश बनाउन, भ्रष्टाचार अन्त्य, विधिको शासन स्थापनामा कांग्रेसले सहयोगी भूमिका निर्वाह गर्ने बताए । यसअघि कांग्रेसबाट सांसद केदार कार्कीले सम्बोधन गर्ने तय भए पनि सोमबार विहान एक्कासी कार्कीको स्थानमा पार्टीको जेष्ठ सदस्य श्रेष्ठलाई संबोधन गर्न दिइएको हो ।
एमाले सचिव तथा सांसद भीम आचार्यले प्रदेश १ को समृद्धिको अभियानमा सबै एकजुट हुनु पर्ने बताए । ‘सत्तापक्ष र प्रतिपक्ष जे भए पनि समृद्ध प्रदेश बनाउने लाग्नेछौं । मिलेर अघि बढ्ने हो’ उनले भने ।
माओवादी केन्द्रका सांसद इन्द्रबहादुर आम्बोले प्रदेशसभा र स्थानीय तहको अधिकार खोस्ने प्रयत्न भइरहेको भन्दै त्यसविरुद्ध एक भएर लड्ने बताए । सबैभन्दा धेरै अवसर रहेको भन्दै उनले समृद्ध प्रदेश बनाउने बाचा गरे ।
संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश १ लाई लिम्बुवान र खम्बुवान प्रान्त घोषणा गर्न माग गरिन् । उनले मुलुकमा १० प्रदेश निर्माण गर्नुपर्ने, मधेसी, मुस्लिम, आदिवासी र दलित समुदायको समानुपातिक सहभागीता ग्यारेन्टी गर्न माग समेत राख्नि् ।
संघीय समाजवादी फोरमका जयराम यादवले भने स्थिर सरकार दिएर प्रदेशलाई विकास र समृद्धितर्फ लैजानुपर्ने बताए ।
राष्ट्रिय प्रजजातन्त्र पार्टीकी सांसद इन्दिरा राईले पृथ्वी नारायण शाहले एकीकरण गरेको समृद्ध नेपाललाई जोगाएर अघि बढाउन आवश्यक रहेको बताइन् ।
स्वतन्त्र सांसद नारायणबहादुर मगरले प्रदेशको विकासमा लागि सत्तापक्ष र विपक्षमा विभाजन नभई लाग्नुपर्ने धारण राखेका थिए ।
अधिवेशनमा दलका तर्फबाट ७ जना सांसदलाई ५/५ मिनेटको समय निर्धारण गरिएको थियो ।
दिउँसो १ बजे बोलाईएको बैठकको जेष्ठ सदस्य ओम सराबगीले सञ्चालन गरेका थिए । बैठकको शुरुमा प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहाङले प्रदेशसभा बैठक आÅवान गरेको पत्र पढेपछि सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया 4