Comments Add Comment

तीन जनाको नाममा नागरिकता लिएर करोडौं ठगी गर्ने युवक पक्राउ

२२ माघ, काठमाडौं । तीन वटा नागरिकता लिएर आफ्नो विभिन्न परिचय दिँदै ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका मनिष बस्नेत, नरेन्द्रबहादुर पण्डित र सुलभ पण्डित क्षेत्री समेत भनेर चिनिने २९ वर्षीय युवक छन् ।

पीडितको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई आइतबार काठमाडौंको गकेर्णेश्वरबाट पक्राउ गरेको हो ।

उनले विभिन्न नामबाट नेपाली नागरिकताको प्रमाणपत्र समेत लिएर १४ जनालाई अमेरिका पठाइदिने, भारतीय सेनामा जागिर लगाइदिने लगायतका आश्वसन दिएर रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सीआईबीका प्रवक्ता जीवन श्रेष्ठले दिएको जानकारी अनुसार उनले १५ जनाबाट १ करोड ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

‘उनीमाथि थप अनुसन्धान भइरहेको छ । उनले अझै बढी ठगी गरेको हुनसक्छ’, श्रेष्ठले भने, ‘उनीबाट अन्य कोही पनि ठगिएको भए ब्यूरोमा सम्पर्क राख्न अनुरोध छ ।’

उनीबाट ठगिएका अधिकांश सामाजिक सञ्जालबाट परिचय भएका व्यक्ति छन् । उनले ३ वटै नामबाट विभिन्न बैंकमा खाता खोलेको समेत खुलेको छ ।

उनीमाथि काठमाडौं जिल्ला अदालतमा विभिन्न व्यक्तिहरुबाट ४ करोड ९५ लाख रुपैयाँ ठगी गरेको अभियोग समेत पेश भएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment