Comments Add Comment

देवघाटको महायज्ञमा प्रचण्डले गरे १ लाख दान

२२, माघ, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार देवघाटमा सञ्चालित धनधान्याचल विराट महायज्ञमा प्रमुख अतिथिको रुपमा सहभागी भए ।

प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट निर्वाचित उनी जिल्लामा अन्य कार्यक्रममा आउँदा निकै तामझाम र चर्चा भए पनि यसपटक सुटुक्क आए ।

विमानस्थलमै छोप्ने पत्रकारहरुले समेत खासै पत्तो पाएनन् । त्यसो त छोरा प्रकाश दाहालको निधन भएपछि पत्नी सिता दाहालसहित अध्यक्ष प्रचण्ड यसअघि पनि देवघाट आएका थिए । सोमबार विराट महायज्ञलाई सम्बोधन गरेका प्रचण्डले आफूहरुले जनताको धार्मिक आस्थालाई हृदयदेखि सम्मान गरेको बताए ।

उनले आफुलाई धर्म विरोधी भनेर गरिएको प्रचारको पनि खण्डन गर्न भ्याए । राज्यले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न हुँदैन भन्नेमात्र आफ्नो भनाइ रहेको उनले प्रष्ट्याए ।

प्रचण्डले बाल्यकालमा बाबुआमासँग देवघाट घुम्न आएको पनि स्मरण गरे । देवघाटधाममा आˆनी फूपू र सासु बस्दै आएको बताएका प्रचण्डले विगतमा भूमिगत रहँदा श्रीमतीसहित थुप्रै पटक देवघाट आएको खुलासा पनि गरे । उनले भने ‘मलाई यहाँ बस्नुुहुने वृद्धवृद्धाको दुःख र समस्या थाहा छ । त्यसलाई निराकरण गर्न मेरो साथ र सहयोग रहनेछ ।’

देवघाटधाममा रहेका मन्दिर, आश्रम र विद्यालयहरुको स्तरोन्नतिका लागि सहयोग गर्ने प्रचण्डले प्रतिवद्धता जनाए । उनले महायज्ञमा आफ्नो तलबबाट भन्दै एक लाख रुपैयाँ दानसमेत गरे ।

फागुन २ गतेसम्म चल्ने महायज्ञको समापन अघि एमाले अध्यक्ष केपी ओली, सुरक्षा निकायका प्रमुखहरु, कांग्रेस नेता रामचन्द्र पौडेल, अर्थमन्त्रीलाई ल्याउने योजना रहेको देवघाट क्षेत्र विकास समितीका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । महायज्ञको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment