
२३ माघ, रौतहट । रौतहटको चन्द्रपुर ८ को सन्तपुरमा रहेको दलित बस्ती गत साउन २९ को बाढीले तहसनहस भयो ।
बाढीले दलित बस्ती पूर्ण रुपले सखाप भए पछि राहत बाँड्दै बस्तीमा पुगेका कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले मुसहरहरुको विजोग देखेर उनीहरुको लागि घर बनाइदिने बाचा गरेका थिए ।
वर्षामा चुहिने, बाढी आउदा भाग्नु पर्ने, शितलहरमा कठ्यागि्रनु पर्ने र गर्मीमा बस्नै नसक्ने झुपडीमा पुस्तौदेखी जिन्दगी बिताइ रहेका मुसहरहरुले जीवनमा पक्की घरमा बस्न पाउने आश समेत गरेका थिएनन् । बाजेको पुस्तादेखि छाप्रोमै कष्टपूर्ण जीवन बाचिरहेका बेला कलाकारले घर बनाइदिने बाचा गर्दा समेत मुसहरहरुलाई विश्वास लागेको थिएन ।
खरको छाप्रो ठड्याउन त महाजनसँग ऋण लिनुपर्ने अवस्थाका मुसहरहरुको लागि सुविधा सम्पन्न पक्की भवन सपना मात्र थियो । उनीहरुको लागि धुर्मस सुन्तली फाउण्डेसनले ११५ दिनमै सपनामा समेत कहिल्यै नसोचेको सुविधा सम्पन्न बस्ती बनाइदिएपछि यति बेला उनीहरुको जीवननै परिवर्तन भएको महसुस गरेका छन् ।
मंगलबार घर हस्तान्तरण गर्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नै दैलोमा देखेका मुसहरले अब जीवन फेरिएको बताइरहेका छन् । दुई जना कलाकारले गर्दा सपनामा समेत नसोचेको घरमा बस्न पाएको भन्दै उनीहरु हर्षित बनेका छन् ।
बस्तीमा ४७ वटा आवासीय घर, एउटा मन्दिर, विद्यालय भवन, सामुदायिक भवन, बाल उद्यान, भ्यू टावर लगायतका संरचना रहेका छन् । मुसहरहरुका ९४ जना बालबालिका अब बस्तीभित्रकै विद्यालयमा अध्ययन गर्ने छन्, उनीहरुलाई ट्युसन पढ्नका लागि समेत एउटा कोठा बनाइएको छ भने खेलकुदका सामग्रीको समेत व्यवस्था गरिएको छ ।
बस्तीमा सफा खानेपानी, बिजुली लगायतको सुविधा रहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले सन्तपुरमा नमुना बस्ती निर्माण गरेपछि भने स्थानीयलाई देउताले आˆनो दुखका दिन अब समाप्त गरिदिएको जस्तो अनुभव भएको छ ।
राष्ट्रपतिले गरिन् हस्तान्तरण
मुश्किलले दुई जना बस्न मिल्ने एउटा छाप्रोमा पुस्तौदेखि जीवन बिताएका ४७ घरपरिवार अब सुविधा सम्पन्न दुई तल्ले घरको मालिक बनेका छन् । चर्पी समेतको चिटिक्क परेको चारकोठे घर, सामुदायिक भवन, विद्यालय, मन्दिर, तथा चिल्ड्रेन पार्क समेतको बस्ती मंगलबार एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मुसहरहरुलाई हस्तान्तरण गरेकी छन् ।
‘धुर्मस सुन्तलीले गरेको यो सामाजिक काम सबैको लागि प्रेरणाको श्रोत बन्नुपर्छ ‘ राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन् ‘एकीकृत बस्ती निर्माणका लागि कलाकारद्वयले गर्नु भएको प्रयासले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।’
आफूहरुको परियोजना सरकारको लागि चुनौती नभई विपदका बेला आम नेपालीले गर्नुपर्ने कर्तव्य भएको कलाकार सीताराम कट्टेल धुर्मसले बताए । ‘राष्ट्रले थालेको पूनर्निर्माणको काम यस्तै कछुवाको गतिमा बढ्ने हो भने अहिलेका पीडितका कुन पुस्ताले सुरक्षित घरमा बस्न पाउने हुन् ? यो आम नेपालीको प्रश्न बनेको छ ।’ हस्तान्तरण समारोहमा बोल्दै धुर्मुसले भने ‘बाढीमा मानिस तैरिरहेको दृश्य कहिले सम्म हेर्ने ? खै त हामीसँग दीर्घकालीन सोच ?’
चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुर झण्ढै ५ करोड ९५ लाखको लागतमा तयार भएको बस्तीमा सरसफाइ तथा व्यवस्थापनका लागि छुट्टै कोषको व्यवस्था गरिएको छ । बनेका संरचनाहरु सुरक्षित राख्न चारै तर्फबाट कम्पाउण्ड वाल लगाइएको छ ।
सरसफाइ कोषका लागि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायले एक लाख र कलाकार दीपकराज गिरीले एक लाख रुपैयाँ दिएका छन् । बस्ती व्यवस्थापनका लागि घुम्न आउने पर्यटकबाट समेत शुल्क उठाइनेछ ।
तस्वीरहरु : गौतम श्रेष्ठ/अनलाइनखबर



 
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4