Comments Add Comment

मनोज गजुरेल पनि दिल्ली दरबारमा !

२३ माघ, फुजेरा । दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओड्ने नेता भनी व्यंग्य कस्नेहरुको अझैपनि नेपाली राजनीतिमा कमी छैन । उसैपनि दिल्लीको आशिर्वादबिना प्रधानमन्त्रीको कुर्सीमा बस्नु फलामको चिउरा चपाउनु बराबर मानिन्छ ।

नेपाली नेताहरू दिल्ली धाउने क्रम रोकिएको छैन । यद्यपि भारतीय विदेशमन्त्री सुस्मा स्वराज भर्खरै नेपाल पुगेर भावी प्रधानमन्त्रीका रुपमा प्रचारित केपी ओलीलाई आशिर्वाद दिएर फर्किसकेकी छिन् ।

नेपाली राजनेताले दिल्ली दरबार धाएको प्रसङ्गलाई विषयवस्तु बनाएर धेरै व्यंग्यकारहरुले रोचक र घोचक प्रस्तुति पस्किरहेकै छन् ।

पत्रकारहरुले समाचार लेखिरहेकै छन् । यसरी व्यंग्य गर्नेहरूमा मनोज गजुरेल सम्भवत: एक नम्बरमै पर्छन् । तर, तिनै मनोज गजुरेल पनि अन्तत: माघ २२ गते दिल्ली दरबारमा भेटिए ।

कार्यक्रमको सिलसिलामा यूएई पुगेका गजुरेल फुजेराको दिल्ली दरबारमा आफूमात्र पुगेका थिएनन् । उनको साथमा दिल्ली दरबारको बिरोध गरेर कहिले नथाक्ने सिस्नोपानी नेपालका हस्तीहरु लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, टंक आचार्य र डाक्टर रबिन्द्र समीर पनि थिए ।

नेपाली राजनीतिमा लाजिम्पाट दरबार र दिल्ली दरबारको दबाब र प्रभावको सदा बिरोधि यो स्वाभिमानी टोली कसैको आशीर्वाद लिन वा कुनै लाभको पद हत्याउन नभई यूएईको पहाडी सहर फुजेराका श्रमिक नेपालीहरु समक्ष ‘दुई थोपा हासो’ कार्यक्रमको दौरानमा यहाँको दिल्ली दरबार सभाहल पुगेको हो ।

संयोगले दिल्ली दरबार पुगेका मनोज गजुरेलले बाबा रामदेवदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसम्मलाई व्यंग्य कसे ।

दुई थोपा हासोको यूएई यात्रा सम्पन्न

नेपाली राजनेताहरु हास्यव्यंग्य, साहित्य र कलाका माध्यमबाट सामाजिक रुपान्तरण तथा जागरणका लागि क्रियाशील सिस्नोपानी नेपाल र ग़ैरआवासीय नेपाली संघको आयोजना साथै नेपाल पर्यटन बोर्ड, नेपाली दूतावास, नेपाल रास्ट्रबैंक, इलिस्टन कलेज, ग्लोबल आईएमई बैंकको प्रायोजनमा यूएईका विभिन्न प्रान्तमा जारी हास्यब्यंग तथा जनचेतनामूलक कार्यक्रम “दुई थोपा हासो” को यूएई यात्रा २०७४ समापन भएको छ ।

माघ १८ गते यूएईको राजधानी अबुधाबीबाट शुरु भएको यो शृङ्खला दुबई, एलएन, सारजहा हुँदै माघ २२ गते सोमबार फुजेरामा पुगेर सम्पन्न भएको हो ।

पाँचौ दिनको कार्यक्रममा फुजेरामा रहेका नेपालीहरुले उत्साहपूर्बक सहभागिता जनाएर समसामयिक नेपाली राजनीतिक, प्रसाशनिक, सामाजिक क्षेत्रमा बिध्यमान बिकृती र बिसङगतिमाथीको प्रहार रुचिपूर्वक श्रवण गरी आनन्द लिएका थिए ।

सिस्नोपानी नेपालले बिदेशमा कार्यरत श्रमिक नेपालीहरुमा समर्पित दुई थोपा हासो कार्यक्रम मार्फत वास्तविक श्रमजीवी नेपालीहरुमा सन्देशमुलुक र उपयोगी अभियान चलाएको कार्यक्रममा सहभागी हेटौंडाकि अनिता ढुंगानाले प्रतिक्रिया दिइन् ।
सिस्नोपानी नेपालका अध्यक्ष तथा व्यंग्यकार लक्ष्मण गाम्नागे, उपाध्यक्षद्वय कवि अर्जुन पराजुली र हास्यकलाकार मनोज गजुरेल, महासचिव टंक आचार्य, आमन्त्रित सदस्य डा• रबिन्द्र समीरको उपस्थिति र समसामयिक नि:शुल्क प्रस्तुति भएको उक्त कार्यक्रममा फुजेरामा रहेका नेपालीहरुले मनोरञ्जनात्मक शैलीमा ज्ञानबर्धक खुराक पाएको एनआरएन फुजेराका अध्यक्ष विरेन्द्र खड्काले बताएका छन् ।

नेपाली दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको सभापतित्व एनाआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले गरेका थिए ।

कार्यक्रमको बिशेष अतिथिमा एनआरएन अभियन्ता मनोज गोर्खाली, नेपाली आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा, एनआरएनए युएई उपाध्यक्ष बालकृष्ण मरासिनी, ब्याबसायी प्रमिल पराजुली,ओम उप्रेती, वेदप्रकाश पोखरेल लगायत एनआरएनए यूएई का युवा संयोजक नवीन पौडेल र केन्द्रीय पदाधिकारी उपस्थित भएका थिए ।

कार्यक्रममा फुजेरा क्षेत्रमा क्रियाशील पाल्पाली, झापाली, अर्घाखाँची, स्याङ्जा समाजका पदाधिकारी तथा सर्वसाधारण नेपाली श्रमिकहरुको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रम सफल पर्नको निमित्त प्रत्यक्ष, अप्रतक्ष्य सहयोग पुर्याउने तथा ब्यवस्थित रुपमा कार्यक्रम सफल पार्न योगदान गर्ने एनआरएन फुजेरा क्षेत्रीय अध्यक्ष बिरेन्द्र खड्का, केन्द्रीय सदस्य सागर लुइँटेल, क्षेत्रीय उपाध्यक्ष शेर सुनार, सचिव राज न्यौपाने तथा क्षेत्रीय समिति फुजेरा परिवार, एनआरएन युएई पदाधिकारी तथा सदस्यहरु, साथै कुल क्षेत्री, अमित बिश्वकर्मा, कृष्णप्रसाद पौडेल, रामशरण अधिकारी, काशीनाथ कार्की, मुकेश पन्थी, फुजेरामा क्रियाशिल भिबिन्न संघसंस्थाहरु तथा सिस्नुपानी नेपाललाई अनआरएनए युएईले हार्दिक आभार सहित विशेष धन्यवाद प्रकट गर्दै दुई थोपा हासो हास्य व्यंग्य यात्रा २०७४ युएई शृङ्खला पूर्ण रुपमा सफल भएको जनाएको छ ।

आफ्नो देश, परिवार, आफन्तबाट भौगोलिक रुपमा टाढा बस्दाको बिरह र उदासीको अवस्थामा आफ्नो कार्यक्षेत्रमा नेपाली कलाकारको रोमाञ्चक प्रस्तुति हेर्न पाउदा फुजेराबासी नेपालीहरु अत्यन्तै खुसी भएको अल अन्सारी एक्सचेञ्ज युएईका उत्तरी इमिरेट्सका सिनियर अडिटर खगेन्द्र कटवालले बताएका छन् ।

यूएईको सफल यात्रापछि सिस्नोपानी नेपालको टोली बहराइन र ओमनतर्फ लाग्ने कलाकार मनोज गजुरेलले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment