२५ माघ, काठमाडौं । तीन विद्यार्थी संगठनको टोलीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा बिहीबार अनुगमन गरेको छ ।
अनुगमनको क्रममा तोकिएको सरकारी मापदण्डभन्दा बढी शुल्क लिएको र पूर्वाधार पनि पर्याप्त नभएको टोलीले निष्कर्ष निकालेको छ ।
‘एमबीबीएसको पढाइको लागि सरकारले ३८ लाख रुपैयाँ लिन पाउने सीमा तोकेको छ तर यहाँ ६२ लाख रुपैयाँ सम्म लिएको भनेर विद्यार्थीहरुले हामीसँग भने,’ अनुगमन टोलीका सदस्य अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने ।
यसैगरी बीडीएसको पढाइको लागि १९ लाख रुपैयाँ लिनुपर्नेमा ३० लाख रुपैयाँसम्म लिएको पाइएको उनले बताए ।
‘एमडी सम्पर्कमा आएनन्’
अनुगमनको लागि अनेरास्ववियुका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेविसंघका कार्यवाहक अध्यक्ष पुष्प शाही लगायत किष्टमा पुगेका थिए ।
तर, एमडी आशिष थापा भने विद्यार्थीको सम्पर्कमा आएनन् । त्यसपछि टोलीले विद्यार्थीहरुसँग छलफल गर्नुका साथै अवलोकन गरेर फर्किएको थियो ।
‘आशिष थापा प्रहरीको घेरामा बसेर भागे,’ क्रान्तिकारी उपाध्यक्ष बस्नेतले भने, ‘हामीसँग सम्पर्कमै आउन नचाहनुले पनि किष्टमा अनियमितता भएको छ भन्ने कुरालाई पुष्टि गर्दछ ।’
एमडी थापा विद्यार्थीहरुको आँखै अगाडि कलेजबाट बाहिरिएपछि अनुगमन टोलीमा सहभागी विद्यार्थीहरुले ‘मेडिकल माफिया मुर्दावाद’ भन्दै नाराबाजी पनि गरेका थिए ।
मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट चर्को शुल्क असुलेपछि नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त रुपमा पाँच वटा मेडिकल कलेजमा अनुगमन शुरु गरेका छन् ।
प्रतिक्रिया 4