+
+
Shares

प्रधानमन्त्री देउवाले कहिले राजीनामा दिन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २५ गते १५:२३

२५ माघ, काठमाडौं । एमाले नेता सुवास नेम्वाङले एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यंग्य गर्दै भने, ‘मैले सुनेँ, सरकार प्रमुखले कहिले राजीनामा गर्ने हो भन्नेबारे छलफल गर्न सुरु गर्नुभयो रे, सुन्दा मलाई खुसी लाग्यो ।’

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्यो र, ढिलोमा दुई साताभित्र नयाँ सरकार बन्नेछ । तर, प्रधानमन्त्री देउवाले अझैसम्म राजीनामा दिएका छैनन् ।

त्यसैले वाम गठबन्धनले देउवामाथि सत्ता लम्ब्याउन खोजेको आरोप लगाउँदै आएको छ । तर, देउवाले राष्ट्रियसभा निर्वाचन गर्ने दायित्व बाँकी नै छ भन्दै आएका थिए ।

बुधबार यो निर्वाचन पनि सम्पन्न भयो । अब देलान् त देउवाले राजीनामा ?

उनी निकटवर्तीहरुका अनुसार देउवाले अझै केही दिन राजीनामा दिने सम्भावना छैन । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम परिणाम घोषणा गरेपछि मात्र राजीनामा दिने प्रधानमन्त्री निकट स्रोतका दाबी छ ।

त्यसको संकेत गर्दै कानुनमन्त्री यज्ञबहादुर थापाले भने, ‘हामीलाई थाहा छ, वाम गठबन्धनको बहुमत पुग्छ तर, आयोगले घोषणा गरेको छैन ।’

उनले पनि प्रतिनिधिसभाले पूर्णता पाएपछि नै प्रधानमन्त्रीले राजीनामा दिने सम्भावना रहेको बताए ।

वाम गठबन्धनका नेताहरु भने प्रधानमन्त्री देउवाले जनमतको सम्मान गर्न नसकेको बताउँछन् । ‘जनताको जनादेश आएकै साँझ सरकारले नयाँ जनादेश प्राप्त गर्नेलाई बधाइ दिँदै राजीनामा दिएको भए जनादेशको सम्मान हुन्थ्यो’ एमाले नेता नेम्वाङले भने ।

अब त नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरिराख्नु नपर्ने उनले बताए । पूर्वसभामुख समेत रहेका नेम्वाङले भने, निर्वाचन आयोगले समानुपातिकतर्फको मत परिणाम घोषणा गर्नासाथ नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?