Comments Add Comment

समृद्ध प्रदेश हेर्न निम्ता दिने सपना टुट्योः नरेश भण्डारी

२६ माघ, काठमाडाैं । मुख्यमन्त्रीको दौडबाट बाहिरिएपछि सांसद नरेश भण्डारीले प्रदेश ६ लाई देशकै समृद्ध प्रदेश बनाएर हेर्नका लागि निम्ता पत्र पठाउने आफ्नो सपना टुटेको बताएका छन् ।

प्रदेश ६ को संसदीय दलको नेतामा माओवादीले पूर्वऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई चयन गरेपछि मुख्यमन्त्रीको दौडबाट भण्डारी बाहिरिएका हुन् । तर, उनले प्रदेश समृद्धिका लागि आफू दायित्वबाट विचलित नभई लाग्ने बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै सांसद भण्डारीले भने, ‘समृद्ध प्रदेश बनाएर हेर्नका लागि सबैलाई निम्ता दिने सपना थियो, त्यो टुटेको छ तर आफ्नो दायित्वबाट म विचलित भएको छैन ।’ भण्डारीले प्रदेश ६ को समृद्धिकै लागि प्रयोग गर्ने र प्रदेश सरकारलार्इ सहयोग गर्ने बताए ।

उनले आफ्नो फेसबुक स्टाटसमा समेत समृद्ध र विकासको प्यासले काकाकुल कर्णाली ६ नं. प्रदेशको दायित्वबाट विचलित नहुने उल्लेख गरेका छन् । ‘समृद्ध र विकासको प्यासले काकाकुल कर्णाली प्रदेशप्रतिको दायित्वबाट रत्तिभर विचलित हुने छैन,’ भण्डारीले स्टाटसमा उल्लेख गरेका छन् ।

जुम्ला प्रदेश (क) बाट निर्वाचित सांसद भण्डारीले मुख्यमन्त्रीको दौडबाट बाहिरिनुलाई राजनीतिक यात्राको अल्पविराम भन्दै आफ्नो फेसबुकमा समेत भावपूर्ण स्टाटस लेखेका छन् । तर, अनलाइनखबरसँग कुरा गर्दै उनले राजनीति यात्रामा विराम लागेको हल्ला चल्ने भएको जवाफस्वरुप अल्पविराम भएको प्रतिक्रिया दिएको प्रस्ष्ट पारे ।

उनले फेसबुक स्टाटसमा यस्तो लेखेका छन्, ‘समग्र राजनीति यात्राबाट हेर्दा यो अल्पविराम हो । गरिबीको भीमकाय पहाडले च्यापिएको यो प्रदेशलाई समृद्धि हेर्न निम्ता पत्र पठाउने प्रदेशका रुपमा विकास गर्न सकिन्छ भन्ने सपनाले मलाई यो भूमिकाका लागि प्रेरित गरेको थियो । यो प्रक्रियामा सघाउने नेतृत्वपंक्ति, तपाईं समस्त शुभेच्छुक र स्वप्न द्रष्टाहरुमा हार्दिक आभार ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment