Comments Add Comment

चरित्रहीन हुने आरोप खेप्दै पढेकी तारादेवी बनिन् सांसद्

यस्तो छ राष्ट्रियसभा सदस्य तारादेवी भट्टको संघर्ष


२७ माघ, डोटी । तिलचामले भइसकेका कपाल । आँखामा मोटो चस्मा । निधारभरि दलिएको अबिर । घाँटीमा मोटो ऊनीको सल र त्यसैमाथि खादा । अनि सेतो रङको मोटै स्विटर ।

राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय तोकिएको डोटी जिल्ला अदालतमा कांग्रेसका केही नेता/कार्यकर्तासँगै प्रवेश गर्दा तारादेवी भट्ट यही भेषमा थिइन् । राष्ट्रिय सभामा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरिरहँदा तारादेवीले ती दिनहरु सम्झिइन्, जब उनी एसएलसी उत्तीर्ण भएकी थिइन् ।

२०२३ सालमा महाकाली अञ्चलबाट एसएलसी उत्तीर्ण हुने उनी पहिलो महिला हुन् । अब देशकै अभिभावक संस्था राष्ट्रिय सभाको सदस्य भएकी छन् । तर, यो सफलता हासिल गर्न उनले जीवनमा संघर्षका धेरै जंघार तर्नुपर्‍यो ।

कञ्चनपुरको भीमदत्त-१८की ७० वर्षीया उनको जीवन सानैदेखि कष्टकर रह्यो । ००५ सालमा जन्मिएकी उनी जब स्कुल जान थालिन्, उनका बारेमा नचाहिने टिप्पणी हुन थाले ।

१५/१६ वर्षको उमेरमा उनी विद्यालय जाँदा कुरा काट्नेहरु भन्थे, ‘विद्यालयमा पुरुष मात्रै शिक्षक छन्, यी हुर्केका केटीहरु विद्यालय जान थाले । अब चरित्रहीन हुन्छन् ।’

घरबाट विद्यालय पुग्दासम्म उनले यस्ता धेरै कुरा सुन्नुपथ्र्यो । उनलाई विद्यालय छाड्न दबाब आउँथ्यो । अन्य सबै केटा भएको कक्षामा उनी र उनकी सानीआमा मात्रै छात्रा थिए ।

‘मसँग पढ्ने केटीहरुको त १०/१२ वर्षको उमेरमै बिहे भइहाल्यो, मलाई परिवारले साथ दिएकाले एसएलसीसम्म पास गरें,’ तारादेवी भन्छिन्, ‘आमाले चरित्रमा बस्नु तर पढाइ नछोड भनेपछि मैले पढ्न पाएँ ।’

तारादेवी अहिले समाजका लागि उदाहरण बनेकी छन् । विगतमा जसले उनलाई अनर्गल गाली गरेका थिए, उनीहरु यो धर्तीमा कतै विस्मृतीको गर्भमा लोप भइसके । तारादेवीको नाम आज सारा देशले लिइरहेको छ, त्यो पनि ‘माननीय’का रुपमा ।

एसएलसी उत्तीर्ण भएपछि शिक्षण पेशामा लागेकी तारादेवीले जीवनका उर्बर ४२ वर्ष सोही पेसामा बिताइन् । आफूले प्रारम्भिक शिक्षा लिएको डडेलधुराको देवल दिव्यपुर माविबाटै अध्यापन यात्रा शुरु गरेकी थिइन् ।

‘एक सय ५४ रुपैयाँ मासिक तलब थियो त्यतिबेला,’ आफ्नो जागिरे जीवनको प्रारम्भ सम्झँदै तारा भन्छिन्, ‘पछि कञ्चनपुर आएँ ।’

कुरा काटनेहरु भन्थे– विद्यालयमा पुरुष मात्रै शिक्षक छन्, यी हुर्केका केटी विद्यालय जान थाले, अब चरित्रहीन हुन्छन्

२०२५ सालदेखि कञ्चनपुरको बैजनाथ माविमा पढाउन थालिन् । विवाह भइसकेपछि श्रीमानसँगै घरमै बस्दै गरिकी उनलाई विद्यालयबाट शिक्षक बनिदिन आग्रह आयो ।

‘विद्यालयमा महिला शिक्षक नभएका कारण छोरीहरु पढ्नै नआउने भए, तपाईंले पढाइदिनुपर्‍यो भन्ने कुरा आयो,’ तारादेवी भन्छिन्, ‘श्रीमान्ले पनि प्रेरित गरेकाले पढाउन थालें ।’

एसएलसीसम्मको अध्ययन नेपालबाटै गरेकी तारादेवीले भारतको उत्तरप्रदेशबाट सन् १९७० मा प्रमाण पत्र तहको पढाइ पूरा गरिन् । तर, इच्छा हुँदाहुँदै पनि स्नातक गर्न सकिनन् ।

श्रीमान् अन्तराम भट्ट प्रजातन्त्र पक्षधर थिए । प्रहरीले उनलाई पटक-पटक समात्दै जेल हाल्थ्यो । तारादेवीले पढ्न नपाउनुको कारण त्यही थियो ।

‘स्नातक तहका लागि दुई पटक कलेजमा भर्ना भएँ तर दुवै पटक श्रीमान् जेल पर्नु भयो । घरमा छोराछोरीहरु सानै थिए । उनीहरुलाई एक्लै छाडेर परीक्षा दिन भारत जान सकिएन । त्यसैले पढाइ छुट्यो,’ तारादेवीको दुःखेसो छ ।

पञ्चायत कालमा प्रजातन्त्रको पक्षमा लागेका कारण तारादेवीले आफ्नो पढाइलाई त विश्राम दिइन् नै, उनको महेन्द्रनगर बजारको जमिनसमेत राज्यले खोस्यो । र, उनलाई सुकुम्वासी बनायो ।

‘मेरो बजारको अढाइ बिघा राज्यले कब्जा गर्‍यो,’ तारादेवी भन्छिन्, ‘मैले धेरै अनुरोध गरेपछि शहरको अढाइ बिघाको सट्टा गाउँमा डेढ बिगाह दियो ।’

श्रीमान् अन्तराम भट्ट प्रजातन्त्र पक्षधर थिए । प्रहरीले उनलाई पटक–पटक समात्दै जेल हाल्थ्यो । तारादेवीले पढ्न नपाउनुको कारण त्यही थियो

शिक्षण पेशाको प्रारम्भमै कांग्रेस निकट नेपाल शिक्षक संघसंग आबद्ध भएकी तारादेवी त्यसको कञ्चनपुर जिल्ला अध्यक्षसम्म भइन् । पदीय रुपमा उनी धेरै माथि पुगिनन् तर सम्बन्धका हिसाबले शीर्ष नेताहरुसँग प्रत्यक्ष जोडिइरहिन् ।

उनले पढाएकाहरु उच्च ओहोदामा पुगेका बेला उनी ‘मेरो बिद्यार्थी’ भन्दै खुशी व्यक्त गर्थिन् ।

‘एनपी साउद, रमेश लेखक मैले पढाएका बिद्यार्थी हुन्, राजनीतिक रुपमा पनि मैले उनलाई धेरै कुरा सिकाएकी छु,’ उनी भन्छिन्, ‘उनीहरु मन्त्री हुँदा निकै खुशी लाग्छ ।’

२०२५ सालदेखि अस्थायी शिक्षण गर्दै आएकी तारादेवीलाई ०३६ सालमा भएको आन्दोलनले शुरुदेखि नै लागू हुने गरी स्थायी बनायो ।

अबको संसदीय यात्रा क्रममा सामाजिक, सांस्कृतिक र आर्थिक असमानताहरु हटाउने प्रतिबद्धता व्यक्त गर्छिन्, उनी ।

‘संविधानले महिलालाई धेरै अधिकार दिएको छ तर त्यो कागजमै सीमित छ,’ तारादेवी भन्छिन्, ‘संविधानले दिएको अधिकार पूर्ण रुपमा कार्यान्वयन गराई महिलामाथि हुने विभेद अन्त्य गर्नु मेरो पहिलो काम हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment