Comments Add Comment

आदर्श सेलिब्रेटी प्रेमिल जोडी- कर्ट रुसेल र गोल्डी हन

शुरु गरौं तीन प्रश्नहरुबाट ।

प्रश्न १ः संसारले उत्तर आधुनिकताको मानचित्र पल्टाएर मानिसको प्रेम र सम्बन्धलाई तासका पत्तीहरु झैँ उफारिरहेको दशकौं भइसक्यो । १/२ हात परुन्जेल जितिरह्यो, नपरेपछि हारिरह्यो अनि फेरि परुन्जेलको पर्खाइमा परिरह्यो । किन क्षणभंगुर भइरहेछ माया अटाउने मान्छेको मुटु ?

प्रश्न २ः चर्चित कलाकारहरुको प्रेम टिकिरहन किन सक्दैन ? सेलिब्रेटीहरुको जोडी जमिरहन किन सक्दैन ? २-४ महिना वा २-४ वर्षको रोमान्समा रित्तिने कस्तो प्रेम हुन्छ उनीहरुको ? जति महंगो दरमा उनीहरुको कला बिकिरहेको हुन्छ, त्यति नै सस्तोमा किन उनीहरुको म्ााया गिरिरहेको हुन्छ ?

प्रश्न ३ः आकर्षणबाट शुरु हुने सेलिब्रेटी जोडीहरुको प्रेम आकर्षणको रहस्य सकिएसँगै सकिने हो ? अहंता र व्यस्ततालाई समन्वय गर्न नसकेर किन ब्रेकअप-गसिपका पेजहरु भर्दै खेर जान्छ, उनीहरुको सम्बन्ध ? दुवैतर्फ जुनसुकै बेला तेस्रो व्यक्ति आगमन हुन उद्यत भइरहने अवस्थाबाट पन्छिने प्रयास गर्दैनन् वा त्यो उनीहरुको वशमा हुँदैन ?

यी प्रश्नहरु हठात् उब्जिएका पक्कै होइनन् । आम मान्छेले सधैं चासो राख्ने र प्रेसले सधैं पछ्याइरहने सेलिबे्रटी र उनीहरुका प्रेमसम्बन्धबारे दशकौंदेखि चल्दै आएका ट्रेन्डबाट प्रशोधित भएका हुन् ।

हलिउड, बलिउड वा अन्य विकसित मुलुकका ‘उड’हरु मात्र होइन, कलिउड भनिन चाहने नेपाली कलाक्षेत्र पनि अब अस्थिर सम्बन्धहरुको फेसनमा फसिसकेको छ ।

भनिन्छ, सेलिब्रेटेड बन्नु एक बेला सपना हुन्छ । पछि फेरि त्यही बेलामा र्फकन पाए हुन्थ्यो भन्ने सपना बन्छ । किनकि, विस्तारै आफूले चाहेजस्तो हुन छाड्छ, सेलिब्रेटेड लाइफ ।

यस्तो अस्वाभाविक जिन्दगीमा स्थिर सम्बन्धहरुको असरल्लता देखा पर्नु स्वाभाविक नै होला, सायद । तर, यस्ता सायदहरुमा अपवादहरु हुन्छन् नै, जो कालान्तरमा आदर्श सम्बन्धको उदाहरणमा परिणत हुन्छन् ।

यिनैमध्ये एउटा उल्लेखनीय उदाहरण, जसको यहाँ चर्चा हुँदैछ । त्यो हो, हलिउड स्टार जोडी अभिनेता कर्ट रुसेल र अभिनेत्री गोल्डी हनको ।

कर्ट रुसेल हाल ६७ वर्षमा हिँड्दैछन् । गोल्डी हन ७३ वर्षको बुढ्यौलीमा छिन् । तर ३४ वर्ष पुगेको यिनीहरुको प्रेमसम्बन्धले झनै जवान बनाउँदै छ, दुवैलाई । अझ रहस्य त के छ भने एक सन्तानका साथ यति लामो समयदेखि सम्बन्धमा रहे पनि विवाह गरेका छैनन्, उनीहरुले ।

अस्थिर सम्बन्धहरुको अमिलो अनुभव

पहिलो विवाह असफल भएर अरु केही अस्थिर सम्बन्धमा गाँस्ािएपछि दोस्रो विवाह संगीतकार बिल हुड्सनसँग भएको थियो, गोल्डी हनको । उक्त विवाहबाट छोरा ओलिभर र छोरी केटको जन्म भयो । दुवै हाल हलिउडका चर्चित कलाकार हुन् ।

उक्त विवाह पनि असफल भएर डिभोर्स भएपपछि बल्ल उनको भेट कर्ट रुसेलसँग भयो ।

कर्ट रुसेलको पहिलो विवाह अभिनेत्री सिसन हब्लेसँग भएको थियो । एक छोराको जन्म भएर डिभोर्स भएपछि बल्ल उनको भेट गोल्डी हनसँग भयो ।

सन् १९८३ । चलचित्र स्विङ स्विफ्टको सुटिङ सेट । यी चर्चित हलिउड स्टारहरुले एकअर्कासँगको भेटलाई एउटा व्यावसायिक सिलसिलाको संयोगभन्दा बढ्ता ठानेका थिएनन् । केही समयको संगतपछि बढेको घनिष्ठतालाई पनि चलनचल्तीकै एक सम्बन्धमा गाँसिएको सोच्थे, उनीहरु ।

तर, त्यही सम्बन्ध उनीहरुले सोच्दा-नसोच्दै, जान्दा-नजान्दै एउटा अनौठो, रहस्यमयी र आदर्श सम्बन्ध बन्न पुगेको छ, आज ।

अनौठो यस मानेमा कि दुवै एकैस्तरका चर्चित हलिउड सेलिब्रेटी भएर पनि यतिका लामोसम्म सुमधुर चलिरहेको सम्बन्ध । रहस्यमय यस अर्थमा कि विवाहसम्म गर्न जरुरी नठानी ३४ वर्षसम्म सुमधुर बनिरहेको सम्बन्ध । आदर्श यस अर्थमा कि यतिसम्म अनौठो र रहस्यमय भएर पनि अरुका निम्ति उदाहरण बनिरहेको सम्बन्ध ।

उस्तै करिअर, उस्तै सफलता

कर्ट रुसेल -जन्मः सन् १९५१) र गोल्डी हन -जन्म ः सन् १९४५) को हलिउड यात्रा लगभग समयको एउटै फेरोबाट अनि एकै किसिमले शुरु भएको थियो ।

रुसेलका पिता बिङ रुसेल कलाकार तथा बेसबल खेलाडी थिए । शुरुमा बेसबलमा रुचि राख्दै जुनियर लिगको टिममा सामेल भए पनि कालान्तरमा कलाप्रति नै उनको रुचि बढ्दै थियो ।

१२ वर्षको उमेरबाटै टेलिभिजिन सिरियलमा अभिनय गरेपछि वाल्ट डिज्नी कम्पनीमा आबद्ध हुँदै चलचित्रमा प्रवेश गरेका उनी त्यसयता निरन्तर अभिनयमा छन् ।

सन् १९८३ मा सिल्कउड चलचित्रका लागि एकेडेमी उत्कृष्ट सहअभिनेतामा मनोनयन भएका उनले फक्स एन्ड दी आउन्ड -१९८१), ओभरबोर्ड -१९८७), टोम्ब्स्टोन -१९९३), स्टारगेट -१९९४), डेथ प्रुफ -२००७), दी हेटफुल एट -२०१५), गार्जेन्स अफ ग्यालेक्सी -२०१७), दी फास्ट एन्ड फ्युरियस सेभेन -२०१५) जस्ता चलचित्रहरुमा दमदार अभिनय गरेर उनले आधा शताब्दिको सानदार हलिउड यात्रा पूरा गरेका हुन् ।

गोल्डी हन नृत्य प्रशिक्षक आमा लौरा र संगीतकार पिता रुट्लेजको प्रभावले सानैदेखि नृत्य र संगीत दुवैमा पारंरत हुँदै थिइन् । भर्जिनिया सेक्सपियर फेस्टिबल १९६३ मा नाटक रोमियो एन्ड जुलिएटमा जुलिएटको दमदार अभिनयमार्फत् कलाक्षेत्रमा प्रवेश गर्दै उनी गुड मर्निङ वल्र्ड नामक कमेडी सिरियलबाट स्त्रिmनको दुनियाँमा छिरेकी थिइन् ।

चलचित्र क्याक्टस फ्लावर -१९६९) बाट उत्कृष्ट अभिनेत्रीका लागि एकेडेमी तथा गोल्डेन ग्लोब अवार्ड पाएकी उनले पनि दियर इज अ गर्ल इन माइ सुप -१९७०), दी सुगरल्यान्ड एक्सप्रेस -१९७४), सेम्पू -१९७५), फाउल प्ले -१९७८), ओभरबोर्ड -१९८७), बर्ड अन अ वायर -१९९०), हाउस सिटर -१९९२), दी फस्ट वाइभ्स क्लब -१९९६), दी बेंगर सिस्टर्स -२००२) हुँदै १५ वर्षको अन्तरालपछि स्न्याच्ड -२०१७) मा अभिनय गर्दै आधा शताब्दी लामो हलिउड यात्रा तय गरिसकेकी छन् ।

प्रतिष्ठित ‘हलिउड वाक अफ फेम २०१७’ बाट एकैसाथ सम्मानित हुनु दुवैको करिअर र सम्बन्धको सबैभन्दा सुखद् संयोग थियो ।

बिनाविवाह ३४ वर्षे अनवरत प्रेमको रहस्य ?

एउटा प्रेमसम्बन्ध विवाहमा नबाँधिई कसरी ३४ वर्षसम्म अनवरत चलिरह्यो ?

६७ वर्षको बुढ्यौलीमा हिँडिरहेका रुसेल ठान्छन्, ‘सँगै बढ्नु नै सबैथोक हो ।’

म यस्तै नै हुँ, अब के र ? भन्ने भावना उब्जिएपछि प्रेम दबिन्छ । जहिले पनि आफू राम्रो, झन् राम्रो र अझ राम्रो बन्ने कोसिसमा लाग्यो भने प्रेम सपि्रन्छ । उनीहरुको सम्बन्धको बोन्डिङ यसरी मिल्यो कि कहिल्यै अहंताको भावना जागृत भएन ।

अरुका लागि म यस्तो छु भन्दा पनि अरुका निम्ति म यस्तो बनूँ भन्ने सोचेपछि आफूतिरबाट उब्जिने समस्या आफैं हट्दा रहेछन् । सफल सम्बन्धको लामो यात्रापछिको निचोड हो यो, दुवैको ।

सम्बन्धलाई सफलताको उत्कर्षमा पुर्‍याउन विवाह आवश्यक हुन्न र ? विवाह नै प्रेमको सफलताको द्योतक हुन्न र ?

सामाजिक उत्तरदायित्व पनि बोकेको यो प्रश्नमा ७१ वषर्ीय गोल्डी ठान्छिन्, ‘हामीसँग जे छ, हामीले जे भोग्यौं, यसभन्दा राम्रो अरु केही हुन सक्दैन र सक्दैनथ्यो । धेरै मानिसका लागि विवाहले ठूलो अर्थ राख्छ । यो भावनालाई म सम्मान गर्छु । तर, हाम्रा लागि विवाहभन्दा ठूलो सम्बन्धको सुमधुरता र निरन्तरता नै रह्यो ।’

विवाह नभए पनि उनीहरुका एक छोरा छन्, वाट रुसेल । उनी पूर्वआइस हक्की खेलाडी हुन् । र, अहिले चर्चित अमेरिकी कलाकारका रुपमा परिचित छन् ।

सेलिब्रेटेड लाइफमा तेस्रो व्यक्तिको प्रवेश ?

निश्चय नै एउटा सेलिब्रेटी जोडीका बीचमा तेस्रो व्यक्तिको प्रवेश र त्यससँगै सम्बन्ध धरापमा पर्ने जोखिम सधैं रहन्छ । तर, त्यसलाई कसरी र कतिसम्म लिने दुवैमा भर पर्छ ।

अर्को, राम्री महिला वा राम्रो पुरुषसँग आकषिर्त हुनु प्राकृतिक हो । सुन्दरतासँग आकषिर्त् नहुने प्रेमि वा प्रेमिका त पक्कै कोही पनि चाहँदैन । अनि, त्यसो हो भने त्यो आकर्षणमाथि शंका किन ?

शंकाको ठाउँ विश्वासले लिने हो र विश्वासलाई दुरुपयोग नगर्ने हो भने कुनै पनि सम्बन्धमा दरार आउँदैन । तीन दशकभन्दा लामो ‘सेलिब्रेटेड लभ लाइफ’को निचोड यस्तै छ, उनीहरुको ।

स्वीकार

रुसेल र गोल्डीको प्रेमजीवनको अर्को उल्लेखनीय पाटो भनेको एकअर्काका पूर्वपतिपत्नीका सन्तानहरुलाई पारिवारिक सदस्यका रुपमा स्वीकार र त्यही अनुरुपको व्यवहार पनि हो । यो पनि उनीहरुको लामो सम्बन्धको दियो बालिरहने एउटा ऊर्जा बन्न पुग्यो ।

प्रेमिहरुलाई मार्गदर्शन

सेलिब्रेटी जोडी मात्र होइन, आम प्रेमिहरुले पनि यो जोडीबाट धेरै कुरा सिक्न सकिन्छ । मेरो विचारमा चुर कुरो भने प्रेमसम्बन्ध एकअर्काको उत्प्रेरक हुनुपर्छ अनि प्रेमले अग्लो लक्ष्य खडा गर्ने होइन, सामुन्नेको बाटो सजिलो पार्नुपर्छ भन्ने नै हो ।

-तथ्यगत स्रोतः एजेन्सीहरु)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment