Comments Add Comment

जब बंगालका राजाले ‘नेपाल उपत्यका’मा आक्रमण गरे

पशुपतिनाथको ढुकुटीबाट सम्भव भएको थियो पुनर्निर्माण

प्रतीकात्मक तस्वीर चलचित्र पद्मावतबाट ।

२८ माघ, काठमाडौं । ‘उनी करिब २० हजार सेना लिएर काठमाडौं आए । उनको उद्देश्य थियो, लुट्ने, बिगार्ने र भत्काउने ।’

इतिहास शिरोमणि बाबुराम आचार्यले १४औं शताब्दिमा भारतका एक सुल्तानले त्यतिबेलाको नेपाल उपत्यकामा गरेको आक्रमणको वर्णन यसरी नै गरेका छन् ।

सुल्तानको फौज फर्कंदासम्ममा शहर पूरै ध्वस्त भएको थियो । उपत्यकाका बासिन्दा घरवारविहीन भएका थिए । र, सयौं वर्ष लगाएर बनाइएका सम्पदाहरु भग्नावशेषमा परिणत भएका थिए ।

बलिउडका निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मावत’ हेरेकाहरुलाई यस्तो वर्णन सुन्दा लाग्नसक्छ, सोही चलचित्रका खलनायक अर्थात् सुल्तान अलाउद्दिन खिल्जीले नै चित्तौरमा जस्तै कहर नेपालमा पनि मच्चाएका हुन् ।

तर, इतिहासका पानाहरुले त्यसो भन्दैनन् । र, अलाउद्दिन खिल्जीले नेपाल उपत्यकामा आक्रमण गरेको देखिएको छैन । खिल्जीले नेपालमाथि किन आक्रमण गरेनन् त ? यो प्रश्नको निश्चित जवाफ नभेटिए पनि उपत्यकाका तत्कालीन राजाहरुले उनलाई कर बुझाउने गरेकाले आक्रमण नगरेको हुनसक्ने तर्क केही इतिहासकारको छ ।

यसै पनि, खिल्जीको राज्यबाट नेपाल उपत्यका धेरै टाढा थियो । र, उनको पराक्रमी सेनासँग पहाडमा युद्ध गरेको अनुभव पनि थिएन ।

आक्रमणकारी थिए समसुद्दिन इलियास

खिल्जीको नजर नपरे पनि उत्तर भारतका अर्का सुल्तान समसुद्दिन शाह इलियासले भने काठमाडौंमा आक्रमण गरिछाडे । बंगालका राजा समसुद्दिनले खिल्जीको अवसानको करिब ३३ वर्षपछि सन् १३४९ मा नेपाल उपत्यकामा आक्रमण गरेको ऐतिहासिक दस्तावेजहरुले देखाएका छन् ।

उनी एकीकृत बंगालका प्रथम सुल्तान थिए । उनले स्थापना गरेको शाहीवंशले बंगालमा एक सय २५ वर्ष राज्य गर्‍यो । समसुद्दिनले भारतीय उपमहाद्विपका थुप्रै राज्यमा आक्रमण गरेका थिए ।

इतिहासकारहरुका अनुसार समसुद्दिनले केही समय खिल्जी वंशका लागि पनि काम गरेका थिए । तर पछि बंगाललाई एकीकृत र स्वतन्त्र घोषणा गर्दै त्यहीं गएर सिंहासनमा बसे ।

चित्तौरका राजा (स्थानीय भाषामा महारावण) रतनसिंहकी रानी पद्मिनीको सौन्दर्यमा लठ्ठएिर अलाउद्दिन खिल्जीले छलकपटपूर्ण आक्रमण गरेका थिए । बंगालका सुल्तान समसुद्दिनलाई भने काठमाडौं उपत्यकाको श्रीसम्पत्तिले तानेको थियो ।

समसुद्दिनको राजधानी हाल भारत पश्चिमबंगालको माल्दा जिल्लामा थियो । त्यहाँबाट करिब आठ सय ५० किलोमिटर टाढा रहेको काठमाडौंमाथि आक्रमण गर्नुको एक मात्र उद्देश्य थियो, सुन ।

इतिहास शिरोमणि आचार्यका अनुसार त्यस समयमा बंगालका बौद्ध धर्मावलम्बीहरु स्वयम्भुनाथको दर्शन गर्न आउँथे । यस्तै, हिन्दूहरु शिवरात्रिका बेला आएर पशुपतिनाथको दर्शन गर्थे ।

काठमाडौंका मठमन्दिर र चैत्यहरु ‘सुनौला’ देखिन्थे । जलप लगाएका गजुरहरु देख्दा पनि उनीहरुलाई सुनले नै बनाएको आभास मिल्थ्यो ।

नेपाल साँच्चिकै धनी रहेको खबर तीर्थयात्रीहरुले नै राजा समसुद्दिनको कानमा पुर्‍याएको आचार्यको ठम्याइ छ ।

उनका अनुसार समसुद्दिनको सेना बंगालबाट हरिहरपुर, सिन्धुलीगढी र भक्तपुर (लगभग हालको बीपी राजमार्गकै रुट) हुँदै काठमाडौं आएको थियो । विसं १८२४ मा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहविरुद्ध लड्न सैन्य सहयोग मागेका बेला इस्ट इन्डिया कम्पनीले मेजर किन्लकको नेतृत्वमा पठाएको टुकडीले पनि यही रुटबाट उपत्यकामा प्रवेश गर्ने प्रयास गरेको थियो ।

समसुद्दिनको सेना उपत्यकामा प्रवेश गर्दा यहाँ राजनीतिक खिचातानीको लामो शृंखला चलिरहेको थियो । पश्चिमका खस राज्यहरु र दक्षिणका तिरहुत (मिथिला) बाट बारम्बार आक्रमण भइरहेको थियो ।

इतिहासकार डिल्लीरमण रेग्मीले आफ्नो पुस्तक ‘एन्सिएन्ट एन्ड मिडिएभल नेपाल’मा लेखेका छन्, समसुद्दिनको आक्रमणको करिब तीन वर्षअघि -सन् १३४७) सम्म आइपुग्दा नेपाल उपत्यकामा दुई शक्तिकेन्द्र विकसित भएका थिए, कान्तिपुर र भक्तपुर ।

कान्तिपुरमा ठकुरीहरुको राज्य थियो भने भक्तपुरमा सिम्रौनगढका राजा हरिसिंहदेवका सन्ततीले शासन गर्दै थिए । सोही बेला कान्तिपुरका राजा जयराजा देवलाई दुवै राज्यले आफ्नो पनि राजा मानेको केही इतिहासकारहरुको ठम्याइ छ ।

भक्तपुरकी रानी देवलदेवीले जयराजा देवलाई राजा बनाउन आफ्ना बाबु पशुपति मल्ललाई नै बन्दी बनाएकी थिइन् । त्यसैले देवलदेवीको हैकम दुवै राज्यमा चल्थ्यो । उनले आफ्नी नातिनी रजल देवीलाई ‘उप राज’ नियुक्त गरेकी थिइन् ।

२० हजार सेना आएको ठम्याइ

समसुद्दिनको सेनाले उपत्यकाका सबै प्रमुख चैत्य र मन्दिरहरुमा आक्रमण गर्‍यो । आक्रमण शुरु भएपछि शहरका सबै मानिस जंगलतिर भागेका थिए ।

२१ माघमा शुरु भएको आक्रमणको पहिलो दिन भक्तपुरमाथि हमला भएको थियो । दोस्रो दिन सुल्तानको सेनाले स्वयम्भुलाई निशाना बनायो ।

समसुद्दिनसित करिब २० हजार सेना आएको अनुमान इतिहासकारहरुको छ । स्वयम्भु र भक्तपुरबीचको दूरी करिब चार कोसको छ । र, दुई दिनमा दुवैतिर आक्रमण गर्न कम्तिमा २० हजार सेना चाहिने तर्क इतिहास शिरोमणि आचार्यको छ ।

कतिपय अनुसन्धाता भने राजा जयराजा देवको दरबार पनि जलाइएको र त्यसमा रहेका राजाको मृत्युसमेत भएको दाबी गर्छन् । भक्तपुरमा सुल्तानको सेनाले ठूलै संख्यामा हताहती गराएको स्वयम्भुमा फेला परेको १४औं शताब्दिको शिलालेखमा उल्लेख छ ।

तर, कति संख्यामा हताहती भयो भन्ने तथ्य कतै खुलेको छैन । आक्रमणका कारण पशुपतिनाथ मन्दिरमा पनि ठूलै क्षति भएको थियो ।

समसुद्दिनको हारको अनुमान


समसुद्दिनको सेना उपत्यकामा कति समय बस्यो ? यस प्रश्नको जवाफ इतिहासका पानामा भेटिएको छैन । तर, आक्रमणकारी फौज धेरै दिन यहाँ नबसेको अनुमान छ ।

इतिहास शिरोमणि आचार्यका अनुसार बंगालको गर्मीमा बस्ने गरेका सुल्तानका सैनिक काठमाडौंको जाडोमा सायद टिक्न सकेनन् । उपत्यकावासीको कडा प्रतिकारपछि समसुद्दिन आफ्ना सैनिकसहित बंगाल फर्किएको अनुमान पनि इतिहासकारहरुको छ ।

समसुद्दिन र देवल देवीबीच कुनै प्रकारको सन्धिपछि युद्ध टुंगिएको अभिलेख पनि फेला परेको छैन ।

समसुद्दिनले उपत्यकामा ठूलो हार भोग्नु परेको र उनका शाही इतिहासकारहरुले त्यस विषयलाई अभिलेखीकृत नगरेको हुन सक्ने ठम्याइ पनि छ । किनभने, बंगालमा भेटिएका दस्तावेजहरुमा पनि समसुद्दिनले काठमाडौं उपत्यकामा आक्रमण गरेको चर्चा गरिएको छैन ।

समसुद्दिनपछिका सुल्तानहरुले उपत्यकामा आक्रमण गरेको पनि देखिएको छैन ।

समसुद्दिन फर्किएपछि जयराजाका छोरा जयअर्जुन देवले सिंहासन सम्हालेका थिए । जयअर्जुन देवले नै समसुद्दिनले भत्काएका मठमन्दिर र चैत्य पुनर्निर्माण गर्न लगाएको मानिन्छ ।

पुनर्निर्माणका लागि पैसा जुटाउने क्रममा राजाले पशुपतिनाथको ढुकुटी पनि उपयोग गरेको पाइएको छ ।

इतिहासकार रेग्मीका अनुसार तत्कालीन मन्त्री रणशक्ति मल्लका छोरा राजहर्षले स्वयम्भु महाचैत्यको पुनर्निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

समसुद्दिनको आक्रमणको सय वर्षपछि काठमाडौंमा युद्धको कुनै निशान बाँकी थिएन । सबै चैत्य, मन्दिर र घरहरुको पुनर्निर्माण भइसकेको थियो । उक्त पुनर्निर्माण राजा जयस्थिति मल्लको पहलका कारण पनि सम्भव भएको मान्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment