२८ माघ, काठमाडौं । स्वास्थ्य सेवा विभागका निवर्तमान महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले दिएको रिट खारेजी (भ्याकेट) को माग गर्दै हालका महानिर्देशक डा. तारानाथ पौडेल सर्वोच्च अदालत पुगेका छन् ।
डा. पौडेलको निवेदनका कारण डा. पन्तले आइतबार विभागमा पदबहाली गर्न पाएनन् । यसअघि सर्वोच्चले डा. पन्तलाई नै महानिर्देशक बनाउन आदेश दिएको थियो ।
‘दुवै जना निमित्त रहेको अवस्थामा सरकारले जसलाई पनि महानिर्देशकको जिम्मेवारी दिन सक्ने व्यवस्था छ । त्यसका बावजुद डा. पन्तले सर्वोच्चमा रिट दायर गरेपछि त्यसको खारेजीका लागि सर्वोच्च अदालत गएको हुँ,’ महानिर्देशक डा. पौडेलले भने ।
गत ३० पुसमा स्वास्थ्यमन्त्री दीपक बोहराले डा. पन्तलाई मन्त्रालयमा सरुवा गरेर उनको स्थानमा पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय प्रमुख डा. पौडेललाई महानिर्देशक बनाएका थिए ।
आफ्नो कार्यकाल नसकिँदै सरुवा गरिएको बताउँदै १७ माघमा डा. पन्तले रिट दायर गरेका थिए । सर्वोच्चले १८ माघमा डा. पन्तलाई सरुवा नगर्न अन्तरिम आदेश दिएको थियो ।
प्रतिक्रिया 4