२९ माघ, काठमाडौं । संघीय संसदको दोस्रो ठूलो दल बन्न लागेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएका ४० सिटमध्ये आधाभन्दा बढी अर्थात २२ जना यसअघि पटकपटक सांसद र समानुपातिकबाट सभासद भइसकेकाहरुलाई दोहोर्याएको छ ।
पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको मापदण्ड विपरीत अधिकांश पुरानै अनुहार दोहोर्याएको भन्दै असन्तुष्टिसमेत पोखिन थालेको छ ।
कांग्रेसले पटक पटक सांसद र मन्त्री भइसकेका र आरक्षणका नाममा पटक पटक अवसर पाइरहेका अनुहारलाई समानुपातिक सांसद बनाएको छ । मधेशी कोटामा अर्बपति बिनोद चौधरी सांसद बन्दा थारु कोटाबाट २०४८ सालदेखि लगातार चुनाव लड्दै र जित्दै हार्दै आएका पद्मनारायण चौधरीलाई मौका दिएको छ ।
त्यस्तै मधेशी महिलाको कोटामा कोषाध्यक्ष सीतादेवी यादव र पूर्वकोषाध्यक्ष चित्रलेखा यादव परेका छन् । सीतादेवीका छोरा शुभाष यादव सिरहामा मेयर र प्रदेशसभा दुवै चुनावमा टिकट पाएर पराजित भएका थिए । त्यस्तै पद्मनारायण चौधरीले पनि आफू समानुपातिकमा बसेर छोरालाई प्रदेशसभामा टिकट दिलाएका थिए ।
जनजाति कोटामा अर्बपति शिक्षा उद्यमी उमेश श्रेष्ठ, व्यापारी दिब्यमणि राजभण्डारी, ठेकेदार जीपछिरिङ लामा, कर्मा घले, सूर्यबहादुर केसी र बहादुरसिंह लामा परेका छन् । त्यस्तै दलित कोटामा मन्त्री मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा परेका छन्, जसले समानुपातिकमा पटक पटक अवसर पाइसकेका छन् । समानुपातिकमा दुई पटक अवसर पाउनेमा लक्ष्मी परियार र सुजाता परियार पनि परेका छन् ।
खसआर्य पुरुषमा पटक पटक सांसद र मन्त्री बनेका बालकृष्ण खाँण, दिलेन्द्र बडु, मोहन पाण्डे परेका छन् भने महिलामा सुजाता कोइराला, मीना पाण्डे, उमा रेग्मी, पुष्पा भुसालले नै अवसर लिएका छन् । बिमलेन्द्र निधिले आफ्नी जेठीसासू दीपशिखा शर्मालाई सांसद बनाएका छन् ।
मुस्लिम कोटाका अतहर कमाल मुसलमान, मधेशी कोटाका स्मृतिनारायण चौधरी, थारु महिला कोटाका पार्वती डिसी चौधरी पनि यसअघि सांसद भइसकेका व्यक्ति हुन् ।
कांग्रेसबाट समानुपातिकमा परेका सूर्यबहादुर केसी चुनावअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेका थिए भने विनोद चौधरी पनि चुनावअघि एमालेबाट कांग्रेस प्रवेश गरेका थिए । चौधरी २०६४ मा एमालेबाट समानुपातिक सभासद बनेका थिए ।
हेर्नुस् कांग्रेसले निर्वाचन आयोगमा पठाएको समानुपातिक पद्धतितर्फको सांसद सूची
खस/आर्य (पुरुष)
बालकृष्ण खाँड
दिलेन्द्रप्रसाद बडू
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे
खस/आर्य (महिला)
सुजाता कोइराला
पुष्पा भुसाल
डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा
आदिवासी/जनजाति (पुरुष)
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा
दिव्यमणि राजभण्डारी
आदिवासी/जनजाति (महिला)
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा
दलित
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली
दलित (महिला)
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली
मधेसी
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय
मधेसी (महिला)
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा
थारू
पद्मनारायण चौधरी
थारु (महिला)
पार्वता डिसी चौधरी
नमिताकुमारी चोधरी
मुस्लिम
अतहर कमल मुसलमान
मुस्लिम महिला
सर्वत आरा खान
प्रतिक्रिया 4