Comments Add Comment

इटहरीमा जग्गा खोजीः खोलामा घर बनाउनेलाई ‘रातो’ स्टिकर

२५० मिटरभित्रै १५ घरले खोला मिचेको भेटियो

 


१ फागुन, इटहरी । खोला मिचेर बनाएका संरचनामा इटहरी उपमहानगरपालिकाले रातो चिन्ह लाउन थालेको छ । इटहरीको खेती खोलामा अघिल्लो साता प्राविधिकहरु, उपमेयर र वडाध्यक्षसमेत लिएर पुगेका मेयर द्वारिकलाल चौधरीले खोलाको सीमा छुट्याएका हुन् ।

इटहरी ४ र ५ को सीमानामा भएर बग्ने खेती खोलाको जग्गा मेयरले खोजी गरेका हुन् । इटहरीको उत्तरमा रहेको पूर्वी पृतनाको छेउबाट पश्चिम लाइन हुँदै बग्ने खेती खोलाको जग्गा मिचिएको गुनासो आएपछि आफूले यो अभियान सञ्चालन गरेको मेयर चौधरी बताउँछन् ।
इटहरी उपमहानगरका अमिन दयाराम गौतम, गोकुल काफ्ले र घटराज खतिवडाको सक्रियतामा नगरपालिकाका प्रतिनिधिले खोलाको जग्गा नापचाँच गरेका छन् ।

अमिनहरुले दिनमा १० घण्टासम्म खटेर खोलाको सीमाना छुट्याएका थिए । यसक्रममा सैनिक क्याम्प आगडिबाट ७ सय मिटर दक्षिणमा पर्ने राजमार्गको पुलसम्म पहिलो चरणमा जग्गा छुट्याइएको मेयर चौधरीले बताए ।

अमिन गोकुल काफ्लेका अनुसार २५० मिटर क्षेत्रमा १५ व्यक्तिले खोलाको जग्गा मिचेर घर बनाएको पाइएको छ । तीमध्ये ३ वटा घर पूर्ण रुपमा खोलाकै जग्गामा बनाइएको भेटिएको छ ।

‘खोलाको जग्गा व्यक्तिको होइन’

पहिलो चरणमा खोला क्षेत्रमा पर्ने जग्गामा किला र घरमा रोतो रंग लगाएर सीमांकन गरिएको मेयर चौधरीले बताए । खोलाको जग्गामा घर तथा भौतिक संरचनाहरु बनाउँदा डुबान र बाढीले धार परिवर्तन गरेर डुवानमा पर्ने भन्दै खोलाको बाटो क्लियर गर्नुपरेको मेयर चौधरीले बताए । खोलामा सार्वजनिक संरचना बनाँउदा बाढी र डुबानका बेला साना घरवालाहरु बढी समस्यामा पर्ने चौधरी बताउँछन् । उनले भने, ‘खोलाको जग्गा खोलाकै लागि हुनुपर्छ, व्यक्तिगत प्रयोगमा हैन ।’

आफ्नो सपथग्रहण पछि सुरु गरेको सार्वजनिक जग्गा खोजी अभियान स्थगन नभएको पनि मेयर चौधरीले जिकिर गरे ।

आफूले पदभार ग्रहण गरेको श्रावण महिनाबाटै सार्वजनिक जग्गा खोज्न इटहरीका मेयर द्धारिकलाल चौधरी सार्वजनिक रुपमा लागि परेका थिए । इटहरीको डीभीएम र रोयल रिसोर्टले मिचेका संरचनाको लेखाजोखापछि मेयरको लोकप्रियता बढेको थियो ।

श्रावण १९ गते त उनले इटहरी १७ स्थित स्यास्र्सेकाली पम्प छेउमा टाटा कम्पनीले बनाएको अबैधानिक कल्भर्टमा डोजर नै चलाएका थिए ।
०७३ सालमा इटहरी उपमहानगरपालिकाले बनाएको सार्वजनिक जग्गा खोजी गर्ने समितिले सार्वजनिक जग्गाको यकिन विवरण तयार पारेको थियो ।

उपमहानगरपालिकाले गरेको सार्वजनिक जग्गाको खोजीका क्रममा गत बर्ष एक हजार बिगाहा सार्वजनिक र पर्ति जग्गा भेटिएको थियो । इन्जिनियरको संयोजकत्वमा गठित समितिले इटहरीमा ९ सय ९५ विगाहा ६ कट्ठा सवा एक धुर सार्वजनिक जग्गा रहेको रिपोर्ट उपमहानगरपालिकालाई बुझाएको छ ।

इटहरीमा ठूलो परिमाणमा सार्वजनिक जग्गा भए पनि मिचिएर व्यक्तिगत प्रयोजनमा गएको इटहरीका माओवादी नेता सागर सुवेदी बताउँछन् । सुवेदीका अनुसार इटहरीमा उपलब्ध सार्वजनिक जग्गा खोज्ने हो भने इटहरीका सबै वडाका कार्यालय, सबै वडामा पार्क र आधा दर्जन खेलमैदान बनाउन पुग्ने सार्वजनिक जग्गा इटहरीमै रहेको छ ।

खोला, पैनी र पर्ती एवं ऐलानी जग्गाको अतिक्रमण रोकिएमा सार्वजनिक स्थलहरुको पर्याप्त उपयोग सम्भव हुने सुवेदी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment