+
+
Shares

अन्डाको मूल्य प्रतिपेटी २ सयसम्म बढ्यो, कति पर्छ अब ?

होलसेल अर्थात् फार्म मूल्य प्रतिपेटी २ सय रुपैयाँसम्म बढे पनि संघले उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चाडपर्व र जाडोयाम सुरु भएसँगै माग बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म मूल्य फेरि बढाएको छ ।
  • संघले आज पोखरामा बसेको बैठकबाट एक्सएल, ठूलो र मिडियम अन्डाको प्रतिपेटी मूल्य २ सय रुपैयाँ र सानो अन्डाको १ सय रुपैयाँ बढाएको छ ।
  • संघले उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरेको र तोकिएकै समर्थन मूल्यमा कारोबार गर्न डिपो, डिलर तथा व्यवसायीलाई अनुरोध गरेको छ ।

१२ कात्तिक, काठमाडौं । चाडपर्वको सिजन र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म (होलसेल) मूल्य फेरि बढाएको छ ।

यसअघि ६ कात्तिकमा काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई ६ दिनपछि नै परिमार्जन गर्दै संघले आज बिहीबार पोखरामा बसेको बैठकबाट अन्डाको नयाँ समर्थन मूल्य तोकेको हो ।

नयाँ निर्णय अनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) २ सय रुपैयाँ बढेको छ भने सानो अन्डाको मूल्य प्रतिपेटी १ सय रुपैयाँले वृद्धि भएको छ ।

संघको तथ्यांक अनुसार ६ कात्तिकमा ३ हजार ७ सय रुपैयाँ रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अन्डाको मूल्य अब ३ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यसैगरी १३.५ देखि १३.८ किलोको ठूलो अन्डाको मूल्य ३ हजार ६ सयबाट बढेर ३ हजार ८ सय रुपैयाँ तथा १२.५ देखि १२.८ किलोको मिडियम अन्डाको मूल्य ३ हजार ५ सयबाट बढेर ३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । ११ किलोभन्दा माथिको सानो अन्डाको मूल्य भने ३ हजार १ सयबाट बढेर ३ हजार २ सय रुपैयाँ पुगेको छ ।

संघ सचिव मदन पोखरेलले चिसो सुरु भएसँगै उत्पादनको तुलनामा बजारमा खपत उच्च भएको बताएका छन् । ‘अहिले चाडबाडको समय छ भने अर्कातिर चिसो मौसम (जाडो) पनि सुरु भइसकेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘जाडो र चाडपर्वले गर्दा बजारमा अन्डाको माग ह्वात्तै बढेको छ, माग अनुसार आपूर्ति व्यवस्थापन गर्न र लागत अनुसार किसानलाई उचित मूल्य दिन यो समर्थन मूल्य तय गरिएको हो ।’

होलसेल अर्थात् फार्म मूल्य प्रतिपेटी २ सय रुपैयाँसम्म बढे पनि संघले उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरेको जनाएको छ ।

उपभोक्ताले खुद्रा पसलमा किन्दा ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा २ गोटाको ४५ रुपैयाँ तोकिएको छ । संघले सम्पूर्ण डिपो, डिलर तथा व्यवसायीलाई तोकिएकै समर्थन मूल्यमा कारोबार गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?