News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल लेयर्स कुखुरापालक संघले उत्पादन लागत र बजार मागलाई ध्यान दिँदै देशभरिका लागि अन्डाको समर्थन मूल्यमा प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।
- नयाँ मूल्यसूची अनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५, ठूलोको ५ सय ६० र मिडियमको ५ सय ३० रुपैयाँ कायम गरिएको छ ।
- अन्डाको थोक मूल्य बढे पनि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्यमा भने तत्काल कुनै परिवर्तन नगरिएको संघले जनाएको छ ।
२८ जेठ, काठमाडौं । ५ दिनमै फेरि अन्डाको मूल्य बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन बिक्री मूल्यमा भोलि शुक्रबारदेखि लागु हुने गरी फेरि वृद्धि गरेको हो ।
संघले यसअघि २३ जेठदेखि लागु हुने गरी मूल्य तोकेको थियो ।
काठमाडौंमा सम्पन्न अन्डा उत्पादकहरूको भौतिक तथा भर्चुअल बैठकले उत्पादन लागत र बजार माग मध्यनजर गर्दै देशभरिका लागि चितवनलाई आधार मानी नयाँ मूल्य तय गरेको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।
नयाँ मूल्यसूची अनुसार सबै प्रकारका अन्डाको फार्म मूल्यमा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि भएको छ । यसअघि २३ जेठमा लागु भएको दरमा ५ सय ६० रुपैयाँ रहेको एक्सएल अन्डाको मूल्य अहिले प्रतिक्रेट ५ सय ७५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी ५ सय ४५ रुपैयाँ रहेको ठूलो अन्डाको मूल्य बढेर ५ सय ६० र ५ सय १५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य बढेर ५ सय ३० कायम गरिएको छ ।
सानो अन्डाको मूल्यमा भने प्रतिपेटी २ सय रुपैयाँ वृद्धि भई ३ हजार २ सय पुगेको छ, जुन यसअघि ३ हजारमात्र थियो ।
अन्डाको फार्म मूल्य (थोक मूल्य) मा लगातार वृद्धि भए पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने तत्काल कुनै परिवर्तन गरिएको छैन ।
संघका अनुसार उपभोक्ताले अझै पनि प्रतिगोटा २५ रुपैयाँमै अन्डा खरिद गर्न पाउनेछन् ।
संघले सम्पूर्ण व्यवसायी, फार्म सञ्चालक तथा सरोकारवालालाई नयाँ मूल्य अनुसार नै कारोबार अघि बढाउन अनुरोध गर्दै बजारमा अन्डा आपूर्ति र मागको सन्तुलन मिलाउन यो कदम चालिएको बताएको छ ।
प्रतिक्रिया 4